धराहरासँगै नढलेको एउटा सपना

125
  •  
  •  
  •  

धराहरासँगै नढलेको एउटा सपनाभूकम्पसम्बन्धी एउटा गीत हेर्दै गर्दा त्यसको भिडियोमा घुमाइएको एउटा तस्बिरले मथिंगल घुमाएको थियो । किनभने, त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरीको टिसर्टमा लेखिएको थियो, ‘ड्रिम द वल्र्ड’। जब म धरहरा नजिकैबाट सुन्धारामै रहेको अफिसतिर गइरहेको हुन्थेँ, त्यही तस्बिर नाच्थ्यो आँखामा।
 लाग्थ्यो, धरहराको रेलिङमुनि एउटी युवती किचिएकी थिइनन्, यो संसारसँग जोडिएको एउटा जीवनको ठूलो सपना किचिएको थियो । लाऊँ–लाऊँ खाऊँ–खाऊँ भन्ने उमेरकी एउटी युवतीले देखेका हजार सपना धरहरासँगै भग्नावशेष भएका थिए ।
धरहरा ढल्यो । बाँकी छ– बूढो रूख हुरीले भाँचिदिएपछि देखिने ठुटोजस्तो मात्रै । तर, ढल्दा यो आफू मात्रै ढलेन, धेरै जीवन ढाल्यो । त्यही तस्बिरकी युवतीका जस्तै थुप्रैका सपनासमेत आफूसँगै ढालेर गयो । धरहराले आफूसँगै बिलिन गर्न नसेकका धेरै जीवनका कथा आए, तस्बिर छापिए । ती युवतीको तस्बिरसँग अनुहार दाँजेर हेरेँ । अहँ, कुनैसँग मिलेन । निष्कर्षमा पुगिसकेको थिएँ, संसार देख्ने त्यो जीवनको सपना अब जिउँदो छैन ।

केही दिनअघि मित्र अनिल न्यौपाने र मेरो नर्भिक हस्पिटलका अध्यक्ष वसन्त चौधरीसँग भेट भएको थियो । उनले भनेका थिए, ‘धरहराबाट खसेर बाँचेकी एक बहिनीको आधुनिक उपकरणद्वारा उपचार भइरहेको छ ।’ त्यो अत्याधुनिक उपकरणसहित उपचार गरिरहेका डाक्टर प्रविन नेपाललाई भेटेर त्यसबारे जानकारी लिएँ । उपचार पद्धति सोधेँ । त्यो उपकरण नेपालमै पहिलोपल्ट प्रयोग भइरहेकी युवतीलाई भेट्न डा. नेपालको पछिपछि वार्डतिर लागेँ ।

‘धरहराबाट खसेर नयाँ जीवन पाएकी प्रशंसा श्रेष्ठ,’ दाहिने खुट्टामा त्यही उपकरण जोडेर राखिएकी एउटा युवतीलाई देखाउँदै डा. नेपालले भने । अनुहार कतै देख्या जस्तो लाग्यो । दिमागमा धरहराबाट गुज्रिँदा आउने तस्बिर आएन ।

मैले ती १७ वर्षीया किशोरी प्रशंसाको स्वास्थ्य अवस्थाबारे बुझेँ । उनले आफू निको भइरहेको बताइन् । अपरेसन गरिएको खुट्टातिर हेर्दै डाक्टर प्रविनतिर हेरिन् र मुस्कुराइन् । त्यो मुस्कानले सायद आफू तंग्रिदै जानुको कारण डा. प्रविन भएको बताउँदै थियो ।

‘चाँडै ठीक हुन्छे अब, नयाँ मेसिन राखेर उपचार गरेको भन्दै हुनहुन्छ डाक्टर,’ उनकी आमा पशुपति श्रेष्ठले जानकारी गराइन् । मैले प्रशंसालाई भनेँ, ‘थाहा छ ? नेपालमै पहिलोपल्ट यो उपकरण तपाईंका लागि प्रयोग भयो नि ।’ उनले तुरुन्तै जवाफ दिइन्, ‘नयाँ हो भन्ने था’छ, पहिलोपल्ट भन्ने थाहा थे’न ।’

प्रशंसासँग कुरा गर्दैगर्दा उनकी आमाले मोबाइलमा रहेको तस्बिर देखाइन् । त्यो तस्बिरले दोस्रोपल्ट मेरो मथिंगल हल्लाएको थियो । म त त्यो तस्बिरसँग पहिल्यै परिचित थिएँ ।
Pramila 02
डाक्टरहरू भन्छन्– बिरामीलाई सक्दो भयावह क्षण नसम्झाएको राम्रो । किनभने, ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ हुन सक्छ । त्यो दिनबारे सोध्ने कि नसोध्ने ? म सोच्न सकिरहेको थिइनँ । प्रशंसाले मुख खोलिन्, ‘हामी रेलिङमा उभिएर काठमाडौँ नियालिरहेका थियौँ । जोडले हल्लिएपछि यही रेलिङ (तस्बिरमा जुन रेलिङले उनलाई किचिरहेको देखिन्थ्यो) समातेर बसेकी थिएँ । त्यसपछि केही था’छैन ।’

उद्धारकर्ताले उनको उद्धार गरेर नर्भिक हस्पिटल पु¥याए । अरूले हेर्दा उनी होसमा आएकी देखिन्थिन् । उनले आमाको नम्बर दिएर फोन गर्न लगाइन् । तर, उनी होसमा थिइनन् । भनिन्, ‘अपरेसनअघि के के गरेँ, के बोलेँ ? केही थाहा छैन । ममीको नम्बर पनि दिए जस्तो लाग्छ, खै ।’ ठ्याक्कै एक हप्तापछि उनले आफू फरक अवस्थामा रहेको महसुस गरेकी हुन् ।

‘मैले सम्झिँदा पहिले धरहराको रेलिङमा थिएँ, पछि हस्पिटलको बेडमा पाएँ आफूलाई,’ उनले भनिन् । उनले लगाएको टिसर्टमा भएको शब्द ‘ड्रिम’ नै भएको छ अहिले उनको जिन्दगी । उनको संसार देख्ने सपना धरहराले आफूसँगै बिलिन गर्न सकेन । अब यो संसारका लागि उनको सपना छ– ‘नर्स भएर बिरामीको सेवामा लाग्ने ।’

स्याङ्जाबाट काठमाडौँ पढ्न आएकी हुन् प्रशंसा । स्याङ्जाबाटै उनकी ठूलीआमाकी छोरी काठमाडौँ आएकी थिइन् । कहिल्यै धरहरा नचढेकी उनले शनिवार घुमाउन त्यहाँ पु¥याएकी थिइन् । उनीहरू धरहराको टुप्पोमा पुगेर काठमाडौँ हेर्दै थिए । उनकी दिदीले आफूले आकाश चुमेको प्रतिक्रिया दिँदै थिइन्, रूख हल्लिएझैँ हल्लिन थाल्यो धरहरा । प्रशंसा उभिन सकिनन्, रेलिङ समातेर दिदीकै आडमा थचक्क बसिन् । त्यसपछिका सात दिन उनको जीवनबाट गायब भयो । भन्छिन्, ‘ती सात दिन कसरी बिते, केही थाहा छैन ।’

आशावादी आमा
प्रशंसाकी आमा पशुपति धोबीघाटस्थित कोठमामै थिइन् । भूकम्प आयो । आफू सम्हालिइन् र छोरीहरू धरहरा चढ्न गएको सम्झिइन् । एकछिनमै त धरहरा ढलेको खबर उनको कानसम्म आइपुग्यो । त्यसपछि गइरहेका झड्काको पर्वाह नगरी हिँडिन् धरहरातिर । प्रहरीले ‘असुरक्षित एरिया’ भन्दै उनलाई दशरथ रंगशालाबाट भित्र पस्न दिएन । उनले आफ्ना छोरीहरू धरहरामा भएको अनुनय गरिन् । तर, उनले भित्र छिर्न पाइनन् । त्यसपछि उनी वीर अस्पताल पुगिन् । यत्रतत्र लाश थिए । तर, उनको नजर लाशमा परेन, घाइतेहरू एक–एक गर्दै हेरिन् । भन्छिन्, ‘मलाई लाश हेर्न मन लागेन, मेरो मनले छोरी सकुशल छे भनिरह्यो ।’ विभिन्न अस्पताल पुगेर घाइते हेरिन्, बेलुकासम्म कतै थिइनन् प्रशंसा । अँध्यारो भएपछि उही फोन गर्ने प्रयास गर्दै घर पुगिन् ।

रातभरि प्रयास गरिन्, फोन लागेन । मोबाइलको ब्याट्री सकियो । बिजुली थिएन । भन्छिन्, ‘लागिरह्यो, छोरी कुन बेला टुप्लुक्क आएर ममी भन्ली ।’ कतै घाइते भएर बसेकोसम्म कल्पना गरिन् तर कहिल्यै अपसकुन कल्पना गरिनन् । भोलि बिहान मोबाइल चार्जमा राखेर खोल्नेबित्तिकै एउटा फोन आयो । वार्डमै रहेका बिरामी कुरुवाले प्रशंसाले दिएको नम्बर डायल गरेका थिए । उनले भने, ‘प्रशंसा घाइते भएर अस्पतालमा छिन् ।’ छोरी जीवित रहेको उनको सपना सही भयो ।
Pramila And Prasansha
संसार टेक्ने सपना
धरहराबाट खसेर पनि संसार फेरि देख्न पाएकी छिन् उनले । तर, त्यो रेलिङले उनको संसार टेक्ने सपनामा झन्डै आँधी ल्याइदिएको थियो । दाहिने खुट्टाको हड्डी भाँच्चिएको छ । पराकम्पन, बिरामीको चापले गर्दा तुरुन्तै नर्भिकमा अपरेसन हुन सकेन । उनलाई बाहिर अर्कै अस्पतालमा लगियो । तर, त्यहाँ पनि अवस्था त्यस्तै थियो । अनुहारमा समेत चोट लागेका कारण चाँडो अपरेसन गर्न स्किनका डाक्टर डा. सुमित सिंह आफैँले प्रशंसालाई नर्भिक हस्पिटल पु¥याए । प्रशंसा अर्काेपल्ट भाग्यमानी ठहरिन् । उनले उपचारका लागि अत्याधुनिक उपकरण पाइन् । भूकम्पपछि वसन्त चौधरी फाउन्डेसनको सहकार्यमा मोबाइल इन्टरनेसनल सर्जिकल टिम (मिस्ट) सिंगापुरबाट आएको थियो । सँगै ल्याएको थियो, हड्डी भाँच्चिएपछि तन्दुरुस्त पार्ने अत्याधुनिक उपकरण ‘ट्रेलर स्पाइनल फ्रेम’ । नर्भिक हस्पिटल, वसन्त चौधरी फाउन्डेसन र मिस्टको सहकार्यमा उनको संसार टेक्ने सपना पूरा हुँदै छ । एउटै उपकरणको १२ हजार डलर पर्ने छवटा उपकरण प्रयोग गरेर प्रशंसालाई तन्दुरुस्त बनाइँदै छ ।

‘यदि त्यो मेसिन नभएको के हुन सक्थ्यो ?’
उपचारको नेतृत्व गरिरहेका डा. प्रविन भन्छन्, ‘हड्डी नराम्ररी भाँच्चिएकाले खुट्टा छोटो हुने सम्भावना धेरै थियो । खोच्याएर हिँड्ने अवस्था आउँथ्यो ।’

अबको एक डेढ महिनामै प्रशंसा हिँड्न सक्नेछिन्– सरासर नयाँ जीवनको बाटोमा । पूरा भएको छ, संसार देख्ने सपना । पूरा हुँदै छ, उसैगरी संंसार टेक्ने उनको सपना ।

शुक्रवार साप्ताहिकबाट

 


  •  
  •  
  •