संसद् कहिल्यै पनि रिक्त नहुने

70
  •  
  •  
  •  

काठमाडौं, १५ भदौ (ओएनएस) : अघिल्लो संविधानसभा संविधान जारी नगरी विघटन भएको पीडा सबैले अनुभव गरेकै हो । दुई वर्षको कार्यकाल पाएको संविधानसभा चार पटकसम्म म्याद थप गर्दासमेत संविधान जारी नगरी विघटन भएको थियो । तर, अब भने कहिल्यै पनि संसद् रिक्तताको अनुभव गर्नु नपर्ने भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमवार बसेको बैठकले निर्वाचन भएर नयाँ संसदको पहिलो बैठक नबसेसम्म पुरानो संसदले निरन्तरता पाउने सहमति गरेको छ । ‘हामीले अब कहिले संसद् रिक्तताको अनुभव गर्नुनपर्ने भएको छ’, समितिका सभापति डा. बाबुराम भट्टराईले भने, ‘नयाँ संविधानभा निर्वाचनबाट नयाँ संसद गठन भइ त्यसको पहिलो बैठक नबसेसम्म पुरानै संसदले निरन्तरता पाउने सहमति भएको छ ।’ समितिले यो विषयमा सहमति जुटाएसँगै मुलुकमा अब जनप्रतिनिधि निकाय रिक्त नहुने भएको छ ।

संवाद समितिले नयाँ संविधानको नाममा समेत सहमति जुटाएको छ । नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुनेछ । यसैगरी संविधान जारी नभएसम्म बहालवाला राष्ट्रपति र उपराष्ट्रपति नयाँ संविधानबमोजिम निर्वाचन नहुँदासम्म कायम रहने सहमति गरेको छ ।


  •  
  •  
  •