भारतमा अखडा, नेपालमा धन्दा

89
  •  
  •  
  •  

काठमाडौं २० भदौ ।
सरकारले ‘नेटवर्क मार्केटिङ’ मा प्रतिबन्ध लगाएपछि यस्तै प्रकृतिका केही कम्पनीले नेपालीलाई नै लक्ष्य गरी भारतीय सहरहरूबाट कारोबार सञ्चालन गरेर रकम उठाइरहेको भेटिएको छ।

 

स्वदेशमा सञ्चालन गर्न नपाइने भएपछि यस्ता कारोबारीले भारतीय बजार छानेका हुन्। बनारसमा विन–विन ट्रेड मार्ट प्रालि, गान्तोक तथा चण्डिगढमा डाइनामिक बेनिफिसियल एकर्ड (डिबिए) तथा देहरादूनमा न्यु च्यालेन्ज नामका नेटवर्क कम्पनीले नेपालीलाई लक्ष्य गरी धन्दा चलाइरहेको पीडितले नागरिकलाई जानकारी दिएका छन्।

उनीहरुका अनुसार भारतबाट फैलिएको यसको जालो नेपालका बाँके, बर्दिया, सुर्खेत, रोल्पा, जाजरकोट, रुकुम, दाङ, चितवन, नवलपरासी, रामेछापलगायत जिल्लासम्म फैलिएको छ। ती कम्पनीले अहिलेसम्म कति नेपालीलाई ग्राहक बनाए र कति रकम असुले भन्ने खुलेको छैन। निकट व्यक्ति र साथीभाइमार्फत यी कम्पनीको नेटवर्किङ कारोबार फैलिइरहेको यसमा संलग्नहरू बताउँछन्।

रामेछाप, मन्थलीका विवेक केसी गान्तोकको डिबिएमा संलग्न छन्। आफ्ना एक गाउँले साथीले कमाइको प्रलोभन देखाएर एक वर्षअघि नेटवर्किङको जालोमा फसाएको उनी बताउँछन्। केसीका अनुसार सिक्किममा २० प्रतिशतको सबैभन्दा सानो, २९ प्रतिशतको मझौला र ३८ प्रतिशतको ठूलो गरी तीन श्रेणीको ‘स्किम’ चलिरहेको छ।

तीमध्ये डिबिएको सदस्य बन्नेबित्तिकै कम्तीमा २० प्रतिशतको स्किम अनिवार्य रूपमा किन्नुपर्छ। यसका लागि ८ हजार भारतीय रूपैयाँ बुझाउनुपर्छ। वार्षिक सदस्यता शुल्क थप १ हजार भारू तिर्नुपर्छ। कम्पनीले प्रत्येक सदस्यलाई स्किममा लगानी भएको रकम बराबर कपडा दिने गर्छ, जसको मूल्य ऊ आफैंले तोक्छ।

‘सुरुमा ८ हजार भारू तिरेपछि मलाई उनीहरूले एउटा पाइन्ट दिए, जसको बजार मूल्य १५ सय पनि पर्थेन,’ केसीले आफूले लाइराखेको खैरो रङको सफ्टजिन्स देखाउँदै नागरिकसँग भने, ‘यो पाइन्ट त्यहीँ दिएको हो।’

उनका अनुसार सबभन्दा सानो श्रेणीको यो स्किम किन्नु भनेको नेटवर्क मार्केटिङमा प्रवेशका लागि मात्र हो। सदस्यले यसबाट लाभ लिन आफू मातहत नयाँ–नयाँ ग्राहक बनाउन २९ वा ३८ प्रतिशतको महँगो स्किम किन्नुपर्छ। यसमध्ये मझौला स्किम किन्न ४० हजार भारू लगानी गर्नुपर्छ। यसमा साढे ६ प्रतिशत कर लाग्छ। लाइसेन्स र वार्षिक शुल्कबापत् थप १ हजार भारू तिर्नुपर्छ। सबभन्दा महँगो ३८ प्रतिशतको स्किम किन्ने हो भने कुल १ लाख ८० हजार भारू लगानी गर्नुपर्छ। केसीले यही स्किममा पैसा हालेका थिए।

यति गरेपछि आफूमातहत ३ देखि ५ जना सदस्य बनाउन पाइन्छ। यसरी सदस्य बनाएपछि प्रत्येक सदस्यबापत् ८ हजार भारू पहिलो सदस्यले फिर्ता पाउँछ। पहिलो खेपमा हुने लाभ यही हो। आफूले बनाएको सदस्यले २९ वा ३८ प्रतिशतको स्किम किनेपछि १७ हजार भारूसम्म फिर्ता पाउने बताइन्छ। जालो योभन्दा अगाडि बढ्दै गएपछि प्रत्येक नयाँ सदस्यबापत् ५ प्रतिशत रकम पहिलो सदस्यको खातामा जम्मा हुँदै जान्छ।

कुनै व्यक्तिले आफू मातहतका सदस्यबाट मासिक २० लाख भारूसम्मको कारोबार ग्यारेन्टी गर्न सकेको अवस्थामा उसलाई ‘मार्खेज’को दर्जा दिइन्छ। यस्तो दर्जा पाउनेको मासिक कमिसन ५ प्रतिशतबाट तल झर्दैन।

यो कारोबारमा पाँच वर्ष काम गरेपछि अनिवार्य रूपमा पेन्सन पाइने भनी प्रलोभन दिने गरिएको छ। पेन्सनबापत् पछिल्लो समय जति खाइपाइ आएको हो त्यति नै रकम जिन्दगीभर पाउने बताइन्छ। धेरैलाई नेटवर्क कारोबारको जालोमा फसाउने यही पेन्सनको लोभले हो।

नेपालीलाई लक्ष्य गरेर भारतमा सञ्चालित सबै नेटवर्क कारोबारको प्रकृति करिब–करिब यस्तै रहेको केसी बताउँछन्। उनका अनुसार बनारसमा २०, ३५ र ४१ प्रतिशत गरी तीन श्रेणीको स्किम चलिरहेको छ। त्यहाँ पनि २० प्रतिशतका लागि अनिवार्य ८ हजार भारू लगानी गर्नुपर्छ। त्यस्तै, २५ प्रतिशतका लागि ३५ हजार र ४१ प्रतिशतका लागि १ लाख १० हजार भारू हाल्नुपर्छ। भारत सरकारलाई बुझाउने भन्दै लिइने कर र वार्षिक शुल्क भने बराबरी छ।

‘यो पूरै नेटवर्क कारोबार हो, तर उनीहरू भने त्यस्तो नभएको जिकिर गर्छन्,’ करिब ५० हजार भारू बुझाएर सिक्किममा सदस्य बनेका रामेछापकै विजय केसीले नागरिकसँग भने, ‘आफूभन्दा तल जति धेरै बढाउन सक्यो, त्यसैअनुसार कमिसन बढ्दै जान्छ।’

एकबाट असंख्य व्यक्तिमा जालो फैलिँदै जाने ‘नेटवर्क मार्केटिङ’ बाट करोडौं ठगी भएपछि सरकारले गोल्डक्वेस्ट, युनिटीलगायत कम्पनीमा रोक लगाउनुका साथै यो खालको कारोबारमै प्रतिबन्ध लगाएको छ। यी कम्पनीका सञ्चालकले भने आफ्नो कारोबारलाई ‘मल्टिलेभल मार्केटिङ’ (एमएलएम) भन्ने गरेका छन्।

नेपालमा पहिले सञ्चालन भएको नेटवर्किङजस्तो खुलेआम प्रचार नगरी यसले व्यक्तिगत रूपमा गाउँगाउँमा जालो फैलाइरहेको संलग्नहरू बताउँछन्। खासगरी ग्रामीण क्षेत्रका बेरोजगार युवा यसको चंगुलमा फसेका छन्।

प्युठानका गिरिराज पाण्डेले त यो कारोबारमा छिर्न मौखिक परीक्षासमेत दिनुपर्ने बताए। ‘छदिने कक्षा लिएर जाँच पास गरेपछि बल्ल छिर्न पाइन्छ,’ उनले भने, ‘कति दिन परिवारको कमाइ खाने, अब हामी आफैंले कमाउनुपर्छ भनेर विश्वासमा लिन्छन्। एकचोटि पैसा फसेपछि नेटवर्क कारोबार हो भन्ने थाहा हुँदाहुँदै झन्झन् फस्दै गइन्छ।’

उनका अनुसार सिक्किमको डिबिएफले आइफाजोन र वनारसको विन–विनले वेस्टर्न ब्रान्डको फेसन कम्पनीको काममा लगाउने भन्दै यसमा संलग्न गराएका छन्। ‘फेसनका कपडा बेच्ने हो भन्दै यसमा छिराउँछन्,’ पाण्डेले भने, ‘त्यहाँ पुगेपछि मल्टिलेभल मार्केटिङ हो भनेर भन्छन्।’नागरिकबाट


  •  
  •  
  •