नेत्रविक्रम, प्रदीप र उपेन्द्र मस्‍यौदा विरुद्ध एकै ठाउँमा

85
  •  
  •  
  •  

काठमाडौं २३ असार ।नेपाली कांग्रेसका नेता प्रदीप गिरी, नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मंगलबार एउटै मञ्चबाट नयाँ संविधानको वैधानिकता र स्वीकार्यतालाई चुनौती दिएका छन्।

सशस्त्र संघर्ष गर्ने उद्‌घोषसहित नयाँ पार्टी गठन गरेर अर्धभूमिगत रहँदै आएका नेकपा माओवादीका महासचिव चन्दले पराजित र असफल नीतिनियम लाद्‌ने संविधान मस्यौदाको विपक्षमा रहेको प्रस्ट्याउँदै सहमतिका आधारमा नयाँ संविधान बन्नुपर्ने बताए।
पहिलोपटक अन्य दलका नेताहरूसँग सार्वजनिक अन्तरक्रियामा सहभागी भएको स्मरण गराउँदै उनले आफूहरूलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र कांग्रेसका नेताहरूले धोका दिएको बताए।
‘हामी संविधानविरोधी होइनौं। पराजित र असफल नीतिनियम लाद्‌ने हो भने आन्दोलनको आँधीबेहेरी र क्रान्तिले संविधान लेख्नेछ’, जनअधिकार अभियाननामक संस्थाले आयोजना गरेको ‘जनताको संविधान कि एक थान संविधान’ विषयक अन्तरक्रियामा विप्लवले भने, ‘अबको आन्दोलन विगतको जस्तै जनयुद्ध होइन, प्रदीप दाइ (प्रदीप गिरी) र उपेन्द्र यादवसमेत आउने एकीकृत जनक्रान्ति हुन्छ।’
कांग्रेस नेता गिरीले संविधानको मस्यौदा एक थान संविधानभन्दा माथि जाने नदेखिएको बताए। ‘पीडा, ग्लानि, पश्चाताप र झोकमा संविधान आउन खोजेको छ’, गिरीले भने, ‘कांग्रेस आफूलाई सक्कली लोकतन्त्रवादी ठान्छ।
सर्वोच्च अदालतको सही आदेश के आधारमा मानेन? सर्वोच्चको नांगो अपमान गर्न पाइँदैन।’ आफूले कांग्रेस-एमालेका सभासद्लाई अन्तरिम संविधानको धारा १३८ अनुसार नामांकन र सीमांकन नगरी संविधान जारी गर्न नहुने प्रावधान उठाउन सल्लाह दिएको पनि उनले बताए।
‘आफूलाई लोकतन्त्रवादी दाबी गर्ने हो भने कांग्रेस न्यायालयबाट भाग्न सक्दैन’, गिरीले भने, ‘एक थान संविधान आउँछ तर त्यो थुन नभएको गाईजस्तो हुन्छ।’
गिरीले मिल्न सक्ने एजेन्डामा चन्दसँग सहकार्य गर्न आफू तयार रहेको बताए। उनले कांग्रेसमै रहेर वा कांग्रेसबाहिर गएर चन्दसँग सहकार्य गर्ने भन्ने स्पष्ट पारेनन्।
चन्दले अब बन्दुकको राजनीति अघि नबढ्ने जनाउ पनि दिए। ‘बन्दुकको कुरा नगरौं, नसोचौं। राजनीतिक सहमति गरौं, राजनीतिक सभा गरौं।
हामीले कांग्रेस र कम्युनिस्ट मिलेर लोकतन्त्रको नयाँ मोडल बनाउन चाहेका थियौं,’ उनले भने।
उनले बनिनसक्दै च्यात्न थालिएको संविधानले जनताको भावनाको प्रतिनिधित्व नगर्ने दाबी गर्दै जनताले शान्ति र समृद्धि नपाउँदा क्रान्ति आवश्यक हुने बताए। ‘क्रान्तिले बारबन्देज भत्काउँछ।
कानुनको सीमा भत्काउँछ’, उनले भने, ‘जनयुद्धलाई अपराधका रूपमा व्याख्या गर्नु ठूलो भूल हुन्छ । जनता, बलिदान, क्रान्ति, परिवर्तन, किसान, मजदुर, जनतान्त्रिक शक्ति संविधानको मस्यौदामा छैन।
यो संविधानले शान्ति, राजनीतिक निकास, रूपान्तरण, आत्मनिर्भर अर्थतन्त्र र प्रजातन्त्र दिन सक्दैन।’ फेरि पनि सहमति नै विकल्प रहेको पनि उनले बताए।
‘विगतका सहमति लागू गर्ने कि नगर्ने, जनयुद्धका भावना समेट्ने कि नसमेट्ने, कि लडेर जित्नुपर्ने भयो कि त आत्मसमर्पण गर्नुपर्ने भयो’, उनले रोल्पामा तत्कालीन सात दल र माओवादीबीच भएको सहमति स्मरण गराउँदै भने, ‘रोल्पामा भएका सहमतिबाट केही नेताहरू फर्कनुभयो। प्रचण्ड र बाबुरामहरू पनि पछाडि फर्कनुभयो।’
उनले आन्दोलनका मूल्य र जनताका अपेक्षालाई तिलाञ्जली दिन नसकिने भन्दै चीन र भारत मिलेर लिपुलेकबारे गरेको सम्झौतामा चूप लागेर बस्न नसक्ने स्पष्ट पारे। माओवादी आन्दोलनभित्र लडाकु शिविरमा चार अर्बको भ्रष्टाचार आरोप लागेको पनि उनले बताए।
संघीय समाजवादी फोरमका अध्यक्ष यादवले संविधानको मस्यौदा अन्तरवस्तुले निर्देशित नभएर सत्तासँग जोडिएर आएको बताए। मस्यौदा संघीयताको भावनाविपरीत रहेको पनि उनले बताए।
‘अहिले बन्न लागेको संविधान न लोकतान्त्रिक छ, न संविधानसभाबाट बनेको हुन्छ, न समावेशी छ, न समानुपातिक प्रतिनिधित्व छ । जनताले स्वामित्व ग्रहण गर्ने संविधान छैन।
संविधानसभाबाट संविधान बन्यो भन्नु बेकार हुन्छ’, यादवले भने, ‘मस्यौदा केही महत्‍वाकांक्षी व्यक्तिको महत्‍वाकांक्षाको उपज हुन गएको छ।’

अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •