रोज्लान् विप्लवले विप्लवकारी बाटो ?

244
  •  
  •  
  •  

समाचार विश्लेषण : 

१३ मंसिर : राजधानीवासी सार्क महोत्सव मनाइरहेका थिए । सहरका मुख्य सडकहरु मोदीहरुका लागि खाली गराइएका थिए । मोदीको सहमतीय मन्त्रणाले प्रचण्ड थोरै उत्साहित थिए । ठीक त्यही बेला विप्लवले उपत्यका छाडे । बाहिर उनी कुन दिशातिर लागे र कहाँ अलप भए भन्ने एकिन छैन । अनुमानका समाचार आइरहेका छन् । सम्भवतः प्रचण्डले पनि एकिन गर्न सकेका हो होइनन्, विप्लवको अबको मार्ग र दिशा ।

उपत्यका छाड्नुअघि विप्लवले आगामी दिशाका बारेमा केही संकेतहरु भने छाडेका छन् । उनले क्रान्तिलाई नयाँ दिशाबाट अघि बढाउने बताएका छन् । भ्रष्ट नेता र कर्मचारी, राजस्वमारा व्यापारी र सम्पत्तिधारीलाई तारो बनाएर युवा शक्तिलाई क्रान्तिको बाटोमा परिचालित गर्ने भनेका छन् । यसबाट उनी कुन बाटो हिँड्दै छन् र कुन जनसमूहलाई संगठित गर्ने लक्ष्य बनाएका छन् भन्ने सामान्य आकलन गर्न सकिन्छ । र, उनको त्यो लक्ष्य पूरा हुने वा नहुने तात्कालिक परिस्थिति के छ, त्यसको पनि धेरथोर मूल्यांकन गर्न सकिन्छ ।

आस गरेका नेताहरु पथभ्रष्ट भए । आचरणभ्रष्ट भए । सिद्धान्तविमुख भए । पृष्ठभूमि भुले । हिजोका वाचाकसम बिर्सिए । महँगा महलमा रङमगिए । वातानुकुलित वाहनमा बहकिए । सडकको धुलोमैलो, जनताको खान नपाएको भोको सारंगी पेट अनि आफू र आफन्त नभनी ज्यानको आहुति दिने सहिदहरुको छविचित्र उनीहरुको दृष्टिबाट अलप हुँदै गयो । त्यसैले उनीहरुका भाषा, शैली, प्रस्तुति र प्राथमिकता फरक पर्दै गए ।

हेर्दाहेर्दैको यो परिवर्तन कसैलाई मान्य छैन । यो वर्ग रुपान्तरण कसैलाई सह्य छैन । असन्तोष र आक्रोशले जलेको ठूलो जमात छ । जो अहिले नै, आजै नै नभए पनि बखतमौका विचारेर हिसाबकिताब खोज्नेवाला छ । यही बुझाइमा रहेर विप्लव वैकल्पिक क्रान्तिको मार्गचित्र कोरिरहेका छन् । यसमा केही दम पनि छ ।

विल्लप बाटो–फरक पाटो

30285यसको अर्को पाटो पनि छ । नेतृत्वका आफ्नै सीमा छन् । आफ्नै बाध्यता छन् । उसले पनि त आफू र आफन्त नभनी क्रान्तिमा होमिने साहस गरेकै हो । सामन्ती सत्ताका विरुद्ध पाखुरा सुर्केकै हो । उसका वरिपरि केही सुरक्षाकर्मी जम्मा भए त के भो र ? हिजो जनमुक्ति सेनाले पहरा दिएकै हो । आज एउटा महँगो गाडी उनको वाहन भयो त के भो र ? हिजो जनमुक्ति सेनाले नै काँधमा बोकेकै हुन् ।

लडाकाले आफू नांगै खुट्टामा हिँडेर पनि नेतृत्वलाई घोडसवार बनाएकै हो । अरुभन्दा बढी सुविधा, अरुभन्दा बढी स्रोत र अरुभन्दा बढी सुरक्षा नेतृत्वलाई चाहिन्छ नै । कमरेड माओका पनि त भव्य महल थिए । आफ्नै रेल थिए । र, थिए युवावयकी सहयोगी महिला पनि । के माओले ल्याएको क्रान्ति र उनले जिएको जिन्दगी बिटुलो भयो ?

तर, विप्लव न हुन् । ४५ पनि नकटेको उमेर छ । युवा जोस र तातो रगत अझै छ । क्रान्तिको धङधङी घटेको छैन । धोकाको मात्रा जतिसुकै होस्, त्यसमा कुण्ठा र अहम् थपिएपछि थेग्न गाह्रो हुन्छ । असन्तुष्टिका संवेगहरु जति पनि संश्लेषण गर्न सकिन्छ । विमतिका बुँदाहरु जति पनि बटुल्न सकिन्छ । र, तिनैलाई आक्रोशको आगोमा अभिमुख गराउन जति पनि सकिन्छ । जुन कुरा हिजो प्रचण्डले सिकाएकै छन् ।

होला सोचे जस्तो ?

हो, जनवादी केन्द्रीयता यति चाँडै नेताको तजबिजी हैकम र सामन्ती सत्तामा रुपान्तरित होला भनेर सायदै कुनै कमरेडले सोचेको हुँदो हो । वर्गीयता र अन्तर्राष्ट्रिय एकजातीयताको नारा यति चाँडै पतन होला र पृथकताको भाँडभैलोमा यसरी फसौँला भन्ने पनि कुनै बौद्धिकले सायदै ठम्याएको हुँदो हो । त्यसैले अयोग्य लडाकूको लस्कर, बेपत्ता भएकाहरुका आफन्तको भीड, युद्धमा ज्यान गुमाएका र बाँकी सबै गुमाएर सास मात्र बचेकाहरु सबै आफ्नै पछि लाग्नेछन् भन्ने पनि विप्लवको विचारमा होला ।

गणतन्त्र आयो । लोकतन्त्र पनि छैन भन्ने अवस्था छैन । नियमहरुमा केही समावेशीका धारा थपिएका छन् । आदिवासी जनजाति, दलित, महिला, मधेसी, फरक क्षमता भएकाहरु मध्ये टाठाबाठा र पढेलेखेकाहरुको उल्लेख्य पंक्ति यही धाराको सहारामा सार्वजनिक सेवाका विभिन्न ओहोदामा पुगेका छन् । त्यसैले हाम्रो राज्य रंगीचंगी भएन भन्नेहरुका लागि सपाट जवाफ तयार भइसकेको छ । त्यसैले हिजोको जस्तो ‘फलानो जाति फलानो ठाउँमा खै ? उठाऊ बन्दूक’ भन्ने अवस्था छैन । भन्दैमा पनि उठिहाल्ने स्थिति कमजोर छ । फेरि आज यी सबैजसो जाति र पहिचानका इकाइभित्र प्रशस्त मध्यमवर्गीय संरचना तयार भइसकेको छ । त्यसैले सर्वाहारा वर्गको नारा पनि पुरानो भइसकेको छ ।

विप्लवलाई लाग्दो हो, हतियार लुकाएकै छौँ । थप चाहिए हतियारको स्रोत थाहा छँदै छ । तालिमप्राप्त लडाका छँदै छन् । जागिर नपाएका, विदेश जान नसकेका र प्रचण्डसँग रिसाएकाहरुको असन्तोषको आगो सल्काउन धेरै बारुद चाहिने छैन । तर, विप्लवले यो पनि हिसाब गर्न भुल्नुहुँदैन । माओवादीको भूमिगत संघर्ष ०५२ बाट सुरु भयो । ०६३ मंसिरमा सकियो । माओवादी सेनाका सबैभन्दा कान्छा लडाकूको उमेर नै अहिले २१ वर्ष नाघिसकेको छ । विप्लवले तयारी गर्दागर्दै ती लडाकू गाधा पच्चिसेमा प्रवेश गरिसक्नेछन् ।

प्रचण्डको युद्ध योजनामा टिनएजरको तातो रगत नै प्राथमिकतामा थियो । कहाँ जाऊँ र कता जाऊँ भन्ने त्यही उमेर नै हो, मान्छेलाई बहकाउन सकिने । मर्न र मार्न तयार हुने बेला पनि त्यही । त्यसपछि त सोचविचार गर्न थालिहाल्छ । त्यसैले एउटै पुस्ताका मान्छेले दुईचोटि क्रान्ति गर्छन्, लडाइँमा होमिन्छन् भन्ने ठान्नु विप्लवका लागि बच्कनापन हुनेछ ।

फेरिदो समाज, बदलिदा युवा

केही वर्षयता नेपाली समाजका आधारभूत प्रवृत्ति अनेक्षित रुपमा फेरिएका छन् । हिजो जल, जमिन, जंगल भन्दै सडकमा कुर्लने युवा आज यहाँ भेट्न मुस्किल छ । उसको प्राथमिकता अरबको खाडी बनेको छ । फर्केर असल श्रीमती, बढीमा दुई सन्तान र तिनको शिक्षा उसको अन्तिम लक्ष्य हो । यस्ता आमयुवाका लागि बाबुआमाले आर्जेको दुईचार फोगटा जमिन पनि बढी भइसकेका छन् । गाउँतिरको अवस्थाबारे विप्लव पनि बेखबर छैनन् । भएको जमिन नै जंगलमा परिणत गरी हिँडेका युवाहरु कसको जमिनका लागि लड्छ ? कसको जंगलका लागि लड्छ ? त्यसैले नेपाली समाजको, त्यसमा पनि आजको पुस्ताको प्राथमिकता व्यापक फरक परिसकेको छ । त्यसैले विप्लवले बटुलेका बन्दुक बोक्ने वलिष्ठहरु गाउँमा पाउन मुस्किल छ । सहरमा पाइए पनि तिनले बन्दुक बोक्दैनन् ।

सहरमा बन्दुक बोक्ने चक्रे मिलनहरु भाडामा लिने हो भने बेग्लै कुरा । गणेश लामाहरु गच्छदारलाई छाडेर विप्लवतिर लाग्ने सम्भावना सायदै होला । हिजो भारतसँग सुरुङयुद्ध लड्ने बाबुरामहरु भारतसँग बिप्पा गर्दै छन् । नेपाली जनमानसमा नरेन्द्र मोदीप्रतिको मोहनी अचम्मलाग्दो तरिकाले फैलिएको छ । त्यसैले यही मौकामा ठूल्ठूला परियोजनाका पीडीए र पीटीए भइरहेका छन् ।

भोलि ती परियोजनाको लाभ आमनेपालीका भागमा पर्छ कि पर्दैन भन्ने बेग्लै कुरा हो । तर, अब नेपाल बन्दै छ, विरोधको खेती बन्द गर भन्नेहरुका स्वर ट्वीटर र फेसबुकमा चर्किँदै छन् । केही वर्षयता सडकमा चक्काजाम गर्नेहरु उल्टै बहिष्कृत हुँदै लखेटिने अवस्था छ । त्यसैले यो सामाजिक मनोविज्ञानको पक्ष पढे भने पनि विप्लवले पक्कै विप्लवकारी बाटो रोज्ने छैनन् ।

‘विप्लवको  सम्बन्ध विच्छेदपछि पत्नी शोभाको सकस


  •  
  •  
  •