झिनो अङ्कले बढ्यो नेप्से

71
  •  
  •  
  •  

काठमाडौं । शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा सोमबार झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन । कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु दुई करोड ५९ लाख तीन हजार ४०० मूल्य बराबरको शेयर खरीद–बिक्री भए ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनी रु एक करोड ४९ लाख ४२ हजार ३८०, प्रभुु बैंक रु एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेड संस्थापक शेयर र एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंक रु एक करोड २४ लाख ९२ हजार ६६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।


  •  
  •  
  •