नेप्सेमा झण्डै २० अंकको सुधार

502
  •  
  •  
  •  

काठमाडौँ, २७ मङ्सिर, (ओएनएस) : केही साता अघिदेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता सुधार आएको छ ।

गत साता पहिलो दिनको तुलनामा ३.१२ अङ्कले ओरालो लागेको नेप्से १९.७५ अङ्कले सुधार आई ८७०.६३ अङ्कमा पुगेको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरूको आठ हजार ३६ कारोबारबाट रु ८० करोड २१ लाख ९८ हजार बराबरका २२ लाख १७ हजार ९९० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.३३ प्रतिशत बढी हो ।

गत साता १५७ कम्पनीको आठ हजार ९६४ कारोबारबाट रु ७९ करोड १७ लाख ४ हजार बराबरका २० लाख ३२ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकको यो साता बिमा समूह बाहेकका सबै समूहको परिसूचकमा सुधार आएको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचकमा ५२.९२ अङ्कले वृद्धि भएको छ भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन ।

त्यसैगरी वाणिज्य बैंक समूहको नेप्सेमा २८.६७ अङ्कले सुधार आएकामा होटल समूहको नेप्सेमा ३१.२२ अङ्कले सुधार आएको नेप्सेले जनाएको छ ।

अन्य समूहको नेप्सेमा भने सामान्य सुधार आएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.३९ अङ्कले बढेर १८६.७३ अङ्कमा आइपुगेको छ ।

्यस साता कारोबार रकमको आधारमा सोल्टी होटल अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार हुन सकेन ।


  •  
  •  
  •