नेपाल-ओली समुहमा संख्याको खेल

293
  •  
  •  
  •  

काठमाडौं २५ असार (ओएनएस) : एमाले महाधिवेशनले पार्टीको विधान टुंगो लगाउन नसक्दा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छैन। महाधिवेशनको पाँचौँ दिन मंगलबार साँझसम्म पनि पार्टीको विधान पारित नहुँदा नेतृत्व चयन प्रक्रिया नै अन्योलमा परेको हो।
नेतृत्व चयनका लागि मंगलबारबाट चुनावी प्रक्रिया सुरु गर्ने तयारी गरे पनि साँझसम्म अध्यक्ष झलनाथ खनालको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक, नेता अमृत बोहोराको अनुशासन आयोगको प्रतिवेदन मात्र पारित भएको छ। विधान सशोधन, केन्द्रीय लेखा परीक्षण आयोग, निर्वाचन आयोगका प्रस्ताव पारित हुन बाँकी छ। विधान सशोधनसहितका प्रस्ताव पारित हुन बाँकी रहँदा महाधिवेशन कम्तीमा चार दिन लम्बिने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए।
विधान संशोधनको प्रस्तावबाहेक अन्य प्रस्ताव बन्दसत्रले सर्वसम्मतिले पारित गरे पनि पदाधिकारीको आकार बढाउने विषयमा हल विभाजित देखिएको छ। समूहगत छलफलका क्रममा नै अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली निकट प्रतिनिधिहरु पदाधिकारी संख्या संशोधनको पक्ष र विपक्षमा उभिएका छन्।
वरिष्ठ नेता नेपाल पक्ष पार्टीको पदाधिकारी थप गर्ने पक्षमा छन् भने ओली निकट नेताहरु विधान संसोधनको विपक्षमा देखिएका छन्। दुवै पक्ष आ–आफ्नो अडानमा कामै रहेपछि बुधबारको बन्दसत्रमा विधान संसोधनको प्रस्ताव पारितका लागि दफा दफा प्रस्तुत गरीने भएको छ।
‘विधान संशोधन प्रस्तावको दफा दफामाथि छलफल गर्दै हलले पारित गर्दै जानेछ,’ प्रचार विभाग प्रमुख ज्ञवालीले भने, ‘विधानको टुंगो लागेपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ।’
अध्यक्षका आकांक्षी नेताद्वय नेपाल र ओली पक्ष पदाधिकारी बढाउने पक्ष र विपक्षमा कायमै रहँदा सहमतिका लागि बीचको बाटो खोज्ने प्रयास सुरु भएको एक नेताले बताए। ‘नयाँ र पुरानो दुवै प्रस्तावबीचबाट पदाधिकारीका लागि नयाँ प्रस्ताव आउन सक्छ,’ एक नेताले भने, ‘विधानको विषयलाई लिएर हल पक्ष–विपक्षमा विभाजित हुनु हुँदैन, अन्तिममा पार्टीमाथि लाग्ने गरेको आरोपजस्तै निर्णय हुनसक्छ।’ पदाधिकारी संख्यालाई दुवै पक्षले आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन्।
पदाधिकारी संख्याको टुंगो नलाग्दा दुवै पक्षले प्यानल घोषणा गर्न सकेका छैनन्। बुधबार हलले विधानको टुंगो लगाए दुवै पक्षले बुधबार नै प्यानल घोषणा गर्ने तयारी छ।
पदाधिकारी बढाउँदा नयाँ नेतृत्वका लागि प्यानल बनाउन सहज हुने नेपाल पक्षको बुझाइ छ। पदाधिकारी बढाउँदा आकाक्षी बढ्ने र प्यानल बनाउन थप समस्या हुने भन्दै ओली पक्ष त्यसको विपक्षमा उभिएको छ। ‘उपाध्यक्ष संख्या पाँच पुर्या उँदा वामदेव गौतम, विद्या भण्डारी र प्रदीप नेपालजस्तो सशक्त अर्को उम्मेदवार छैन, त्यसको फाइदा अर्को पक्षलाई पुग्छ,’ ओली निकट एक नेताले भने।
नेपाल पक्षलाई प्यानल बनाउन कठिन हुने र त्यसको फाइदा नेतृत्व चयनमा पुग्ने उनीहरुको बुझाइ छ। ‘पदाधिकारी थप्ने शोभनीय कुरा होइन,’ अध्यक्षका आकांक्षी संसदीय दलका नेता केपी शर्मा ओलीले भने, ‘चीनजस्तो देशमा सातजनाको स्थायी कमिटी छ, हामीलाई डोकामा नअट्ने १५ जनाको पदाधिकारी किन चाहियो?’
पदाधिकारी संख्या बढाउँदा व्यक्तिमा बढी आकांक्षा बढेको बताउँदै ओलीले पार्टी अध्यक्ष खनालको संयोजकत्वमा रहेको कार्यदलले आफूसँग परामर्श नगरी प्रस्ताव ल्याएको आरोप लगाए। अध्यक्षका अर्का आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पनि पार्टीलाई भद्दा बनाउने पक्षमा नरहेको बताए। ‘पार्टीलाई भद्दा बनाउने पक्षमा हामी पनि छैनौ,’ नेपालले भने, ‘समयअनुकूल बनाउँदै लैजानुपर्छ, आपसी सहमतिमा पदाधिकारी टुंगो लाग्छ।’
सचिव युवराज ज्ञवालीले पार्टीलाई लोकतान्त्रिक पद्धतिमा अझ फराकिलो बनाउन पदाधिकारी संख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेस गरेका छन्। ज्ञवालीले प्रस्तुत गरेको संशोधन प्रस्तावअनुसार अध्यक्ष, वरिष्ठ नेता र महासचिव एक–एक, उपाध्यक्ष र सचिव पाँच–पाँच, दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव छ। यसअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय हुनेछ। विद्यमान विधानमा अध्यक्ष, वरिष्ठ नेता, तीन उपाध्यक्ष, तीन सचिवको मात्र व्यवस्था छ।
उता, निर्वाचन आयोगले भने नयाँ नेतृत्व चयनका लागि आन्तरिक तयारी सुरु गरेको छ। विद्युतीय मतदानमा अध्यक्षका आकांक्षी नेपालले असहमति जनाएपछि मतपत्रबाट नै निर्वाचन गराउने तयारी छ। विद्युतीय मतदानमा सहमति नजुटेपछि आयोगले राष्ट्रिय सभागृहमा सचिवालय नै स्थापना गरेर निर्वाचन तयारी थालेको हो। आयोगले नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरेसँगै महाधिवेशनस्थलको सम्पूर्ण सुरक्षा जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरीले लिनेछ। पार्टीतर्फबाट खटिएका स्वयंसेवकलाई प्रवेश निषेध गरिनेछ।
उता, पार्टी पदाधिकारी टुंगो नलाग्दा दुवैतर्फका नेता गुटगत बैठक र भेलामा सक्रिय छन्। मंगलबार वरिष्ठ नेता नेपाल पक्षले राष्ट्रिय सभागृह र संसदीय दलका नेता ओलीले प्रज्ञा भवनमा साँझ भेला गरे।
हस्तान्तरण होइन पुस्तान्तरण समस्या : खनाल
एमाले अध्यक्ष झलनाथ खनालले नेपालका कम्युनिष्ट पार्टीभित्र नेतृत्व हस्तान्तरण भनै पुस्तान्तरणको समस्या भएको बताएका छन्। नवौं महाधिवेशनका चौथो दिनको बन्द सत्रमा विभिन्न समूहबाट उठेको प्रश्नको जवाफ दिँदै प्रत्येक महाधिवेशनमा नेतृत्व हस्तान्तरण भएको तर पुस्तान्तरण हुन नसकेको बताएका हुन्।
‘कम्युनिष्ट आन्दोलनभित्र हस्तान्तरणको समस्या होइन। पुस्तान्तरण हो,’ खनालले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनभित्रका तेस्रो पुस्ता नेतृत्व लिन तयार हुनुपर्छ।’
खनालले पहिलो पुस्तामा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, साहाना प्रधानसहितका नेताहरु तेस्रो पुस्तामा आफू समकालीन र तेस्रो पुस्तामा एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरुलाई राख्ने गरेका छन्।
एमालेको नवौं महाधिवेशनमा नेतृत्वको हस्तान्तरण र पुस्तान्तरणको विषयमा विवाद रहेको छ। ओली समूहले नेतृत्व हस्तान्तरण हुँदै पुस्तान्तरणमा पुग्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता माधवकुमार नेपालले भने पहिलो पुस्तामै नेतृत्व जाने भए प्रतिस्पर्धा गर्ने तर पुस्तान्तरण भए नेतृत्व छाड्ने बताउँदै आएका छन्।
नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। समूहगत प्रस्तुतिपछि अध्यक्ष खनालले प्रतिनिधिबाट उठेका प्रश्न र सुझावमा जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो। एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीका अनुसार अध्यक्ष खनालले प्रतिवेदनमाथि भएका छलफल र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै मुलुकलाई प्रारम्भिक पुँजीवादको अवस्थाबाट समाजवादतर्फ उन्मुख गराउनुपर्ने बताए।
समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंर्दै अध्यक्ष खनालले गुटबन्दीका कारण केन्द्रीय कमिटिबाट पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन हुन नसके बताएका थिए। नेताहरु दुई बीचार समूहमा बाँडीदा पाँच प्रतिशत मनोनयन गर्न नसकेकेा बताउँदमहाधिवेशन आयोजनाका क्रममा भएको गल्तीकमजोरी आगामी दिनमा सच्याउादै जाने बताएका थिए। वखाकर््ा कारण महाधिवेशनको उद्घाटसत्र बन्द हलमा गर्ने निर्णइ भएको सुनाउँदै उद्घाटनसत्रका दिनको घटेको घटना दुखद भएको खनालले स्वीकार गरेका छन्।
पार्टीमा नेता मात्रै हाबी भए भन्ने गुनासोका सम्बन्धमा केही हदसम्म त्यस्तो भए पनि अब पोलिटब्युरो र केन्द्रीय कमिटीको भूमिका बढाएर संस्थागत निर्णयको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिँदै खनालले राजनीतिलाई मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई सँगसँगै जोडेर बुझ्न आग्रह गरेका छन्।
मंगलबार महाकाली सम्पर्क मञ्चका दीपकप्रकाश भट्ट, सेतीका हर्कबहादुर सिंह, मेचीका देवेन्द्र दाहाल, भेरीका यमलाल कँडेल, सगरमाथाकी सम्झना थपलिया, बाग्मतीका लालबहादुर केसी, प्रवासका अशोक थापा, कोसीका जीवन घिमिरे, महासंघीय संरचनाका जनवर्गीय संगठनका खगेन्द्र राईले समूहका तर्फबाट प्रतिवेदनमा टिप्पणी गरेका थिए।

नेतृत्वका लागि पाँच पिएचडी

एमालेमा यसपटक विद्यावारिध उपाधिप्राप्त नेताहरु पनि केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन्। जवाहरलाल नेहरु युनिभर्सिटी, दिल्लीबाट पिएचडी गरेका राजन भट्टराई, तारा जोशी, दीपकप्रकाश भट्ट एवं त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका विजय पौडेल केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन्। भट्टराई ओली, जोशी, भट्ट र पौडेल नेपाल पक्षका हुन्।
नागरिकबाट


  •  
  •  
  •