२०१४ मा नेपालको वृद्धिदर ४.४ प्रतिशत हुनेः विश्व बैंक

381
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ (अाेएनएस): विश्व बैंकले सन २०१४ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले विश्वभर ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर कम भएको जनाएको छ । बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धिदर दक्षिण एशियाली मुलुकहरु मध्येकै न्यून मध्ये एक रहने छ ।

प्रतिबेदनले सार्क मुलुकमध्ये श्रीलंकाको आर्थिक वृद्धिदर सबैभन्दा धेरै अर्थात ७.२ प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यसपछि भारतको ५.५ प्रतिशतको वृद्धिदर हुने छ भने सबैभन्दा कम आर्थिक वृद्धिदर पाकिस्तानको ३.७ प्रतिशत हुने उल्लेख छ ।

विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१३मा सार्क मुलुकमध्ये सबैभन्दा कम वृद्धिदर नेपालको रहेको छ । नेपालको उक्त वर्ष ३.६ प्रतिशत मात्र रहेको थियो भने सबैभन्दा धेरै वृद्धिदर श्रीलंकको ७.३ प्रतिशत रहेको थियो ।

बैंकका अनुसार दक्षिण एशियाको औसत आर्थिक वृद्धिदर सन २०१३ मा ४.६ प्रतिशत रहेको थियो भने सन् २०१४ मा बढेर ५.७ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले सन २०१५ मा नेपालको आर्थिक वृद्धिदर घटेर ४.३ प्रतिशत हुने तथा सन् २०१६मा उक्त वृद्धिदर स्थिर रहने अनुमान पनि गरेको छ । प्रतिवेदनले दक्षिण एशियाली मुलुकहरुमध्ये श्रीलंकाले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरिरहेपनि सो मुलुकको वृद्धिदरमा पनि कमी आउने अनुमान गरेको छ । स्थीर सुक्ष्म अर्थतन्त्र, सुधारको निरन्तरता, तथा आयातलाई घटाउने सूचकहरुको आधारमा उक्त अनुमानित प्रक्षेपण लागु हुने पनि स्पष्ट पारेको छ ।

त्यसैगरि बैंकले विकासोन्मुख मुलुकहरुको औसत आर्थिक वृद्धिदर सन् २०१४मा ४.८ प्रतिशत रहने अनुमान गरेको छ । बैंकले सन् २०१५ र २०१६ मा क्रमशः ५.४ र ५.५ प्रतिशतको आर्थिक वृद्धिदर विकासोन्मुख मुलुकहरुले औसतमा हासिल गर्ने जनाएको छ ।


  •  
  •  
  •