८० किलोमाथि ८० ग्रामको शासन !

658
  •  
  •  
  •  

सम्झना गैरे
काठमाडौं, असार ४ (ओएनएस) । तपाईहामी दिनमा कति पटक खान्छौँ होला ? कसैले दिनमा दुई पटक त कसैले ३—४ पटक नै खाने गर्छन् । भर्खर खाना खाएका छौँ , तर साथीले पुनः केही खान अनुरोध गरे हामी भावनामा डुबेर खाइदिन्छौँ ।

डा. राजु अधिकारी भन्छन, “खानालाई पटकमा र निन्द्रालाई घण्टामा मापन नगरौ ।” उनका अनुसार खाना त्यतिबेला मात्र खानुपर्छ जतिबेला आफुलाई प्रसस्त भोक लागेको अनुभव होस् । स्वादले हामीलाई खानामा यति मोहित बनाएको छ कि प्रसस्त व्यञ्जनले सिंगारिएको भोजन गर्न हामी रुचाउछौँ । मानव चेतना तथा योग विज्ञानमा विद्यावारिधी गर्नुका साथै हालै खाने कसरी पिउने कसरी पुस्तक लेखेर चर्चा बटुलिरहेका अधिकारी मानिसले ८० ग्रामको जिब्रोको बसमा परेर ८० किलोको शरीरलाइ अनावश्यक पिडा पुर्याइरहेको बताउँछन् ।

उनी भन्छन्, “खान जाने सुखैसुख नजाने दुःखैदुःख ।” बढ्दो प्रदुषण, खाद्यन्नमा अत्याधिक प्रयोग हुने बिषादीका कारण जती खायो उती बिरामी हुनेको संख्या बढ्दो छ । जीवनमा आवश्यक हरेक विषयमा ज्ञान लिन लाखौ खर्च गर्ने तर कसैले पनि खानेकला सिक्ने इच्छा नदेखाएको देख्दा उनी चिन्तित छन् र भन्छन्, “हामी गाडिमा तेल हाल्न घण्टौ लाइन बस्छौं तर, पेटमा राख्ने भोजनका लागि यति हतार गर्छाैं कि अगाडि आएको छाड्दैनौ ।”

प्राकृतिक भन्दा कृत्रिम खानाको पछाडि दौडिने प्रचलनमा सुधार नआए रोग आक्रमक शक्तिका रुपमा मोलाउने उनको तर्क छ । शरिर, उमेर, रोग र भुगोलका अनुसार प्रत्येकको खाने कला र परिकार फरक हुुनुपर्नेमा उनी जोड दिन्छन् । ‘कमसेकम तपाईले खाएको खानामा ८० प्रतिशत क्षार र २० प्रतिशत अम्ल हुनैपर्छ,” भन्ने उनी प्राकृतिक र काचो फलको प्रयोगमा जोड दिन सुझाउछन् । भान्छामा आइपुग्ने तराकारी भरसक प्राकृतिक हुनुपर्छ भन्ने डाक्टर अधिकारी बिषादीयुक्त तरकारी र फलफूलबाट बच्न प्राकृतिक उपाय सुझाउछन् ।

“‘तरकारीलाई एक रात शितमा राखेर मात्र खाएमा बिषबाट सजिलै बच्न सकिन्छ”, उनी थप्छन्. “खानालाई चपाई—चपाई रस बनाएर खान सकेमात्र पनि एउटा कलामा निपूर्ण भइन्छ ।” खाना र पानीको उचित संयोजनबाटै जीवन चल्छ । तर के कति खाने ? अधिकारीको टिप्स छ, “थोरै खानुस्, धेरै पिउनुस् ।”

सफा पानी र घरायसी सरबत उपयोगी पेय पद्धार्थ हुन् । बजारमा पाइने कोककोला, पेप्सीजस्ता पेय पदार्थप्रति मोहित जमातलाई नजिकबाट नियालेका उनी बढि तिर्खा लागे कागतीको सरवत खान सल्लाह दिन्छन् । “केमीकल’को भरमा तयार पारिएका बजारिया जुसमा एक प्रतिशत पनि प्राकृतिक फलको रस प्रयोग नगरेको उल्लेख गर्दै उनी भन्छन्, ‘सूर्यको चूलोमा पाकेको फलका जुसमात्र निर्धक्क पिउन सकिन्छ ।”

आहार अनुशासन पालन गरे रोगबाट मुक्ति मिल्ने उनको सुझाव छ । सादा र सन्तुलित खानाका साथ योग अभ्यासले स्वस्थ जीवन मिल्ने उनी दाबी गर्छन् । आमाले प्रदुषित र अव्यवस्थित चिज खाँदा रोग बोकेर जन्मिनेको संख्या बढिरहेको उनको अध्ययनले देखाउँछ । यसको क्षतिपूर्तिका लागि ५ वर्षको उमेर देखिनै वालबालिकालाई योग शिक्षा दिनुपर्ने सल्लाह दिन्छन् । बजारमा लोकप्रिय मानिएका जंक फुडबारे उनको तीब्र आलोचना छ । ‘बच्चाको मनस्थिती बिगार्ने, आन्द्रामा प्वाल पर्ने र अनेक रोग निम्त्याउने यस्ता खाना बर्जित नै गर्नुस्, उनी भन्छन् ।


  •  
  •  
  •