मलेसियामा ५७ दिनदेखि ४० जना नेपाली अलपत्र

144
  •  
  •  
  •  

काठमाडौं, १७ पुस (ओएनएस) : रोजगारीका सिलसिलामा मलेसियामा ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् ।

गत कात्तिक १९ गते काठमाडौँ सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली–२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी र बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा ५७ दिनदेखि भोकभोकै रहेका छन् ।

उनीहरुले आफूहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरेका छन् ।

अलपत्र परेका राजन थापाले टेलिफोनमा भने ‘ करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ, हामी आएको मेनपावर कम्पनीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?

सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम नदिएको उनीहरुको गुनासो रहेको छ ।


  •  
  •  
  •