खुम्चिंदै आन्तरिक श्रम बजार

202
  •  
  •  
  •  

काठमाडौं १९ बैशाख ।
हरेक वर्ष नेपाली श्रम बजारमा साढे ४ लाख युवा काम गर्न योग्य भएर थपिन्छन् । तर मुश्किलले १० प्रतिशत अर्थात ४० हजार युवाले पनि आन्तरिक श्रम बजारमा माग अनुसार काम पाउन सकेका छैनन् । श्रम विभागको पाँच वर्ष पहिलेको यो तथ्यांकले नै भन्छ, नेपालको श्रम बजार नराम्रोसँग खुम्चिंदै गएको छ ।

तथ्यांक विभागको ‘औद्योगिक गणना ०६९’ अनुसार देशभर ४ हजार ७६ वटा निजी उद्योग प्रतिस्ष्ठान (१० वा त्यसभन्दा माथी कामदार कार्यरत प्रतिष्ठान) मा संलग्न कुल कर्मचारीको संख्या २ लाख ४ हजार छ । जबकि उद्योग र कर्मचारीको दुवै संख्या २० वर्ष अघिको भन्दा कम हो । ०४९ को औद्योगिक गणना अनुसार देशभर ४ हजार २ सय ७१ उद्योग प्रतिस्ठान र २ लाख २३ हजार कर्मचारी कार्यरत थिए । मुलुकमा वर्षेन रोजगारी बढदै जानुपर्नेमा २० वर्षको अवधिमा कहालीलाग्दो ढंगले आन्तरिक रोजगार बजार खुम्चिंदै गएको तथ्यांक विभागको गणनाले नै उजागर गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा आन्तरिक श्रम बजार किन बढ्न सकेन भनेर कान्तिपुरले जतिलाई सोधे पनि उत्तर आउने गर्छ- आन्तरिक श्रम बजार प्रवर्धन गर्ने न सरकारको नीति छ, न कार्यक्रम नै । जसका कारण देशको लाखौंउर्जाशील युवा शक्तिले रोजगारीका लागि विदेशी भूमि चाहरिरहेका छन् ।

‘कुनै मन्त्रालय (जस्तै, कृषि, उद्योग, युवा, महिला, श्रम) को रोजगार कार्यक्रम छ तर त्यसलाई समन्वय गरी काम गर्ने/गराउने नेतृत्व कसैले लिदैनन्’ श्रम विभाग र वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक रवीन्द्रमोहन भट्टराईले कान्तिपुरलाई भने, ‘नारा र भाषण ठोक्ने काम भयो तर साँच्चै काम गर्ने र दिने वातावरण भएन ।’

१० वटा ट्ेरड युनियनको साझा संस्था ‘संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)’ ले श्रमिक दिवसको पूर्वसन्ध्यामा शनिवार राजधानीमा आयोजित कार्यक्रम मार्फत मुलुकमा रोजगारी सिर्जना गर्न सरकारसँग माग गरेको छ । उसले अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार भेटेरै रोजगारमुलक बजेट ल्याउन दबाब दिएको छ । जेटीयुसीसीमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, मधेसवादी दल सम्बद्ध ट्रेड युनियनहरु छन् ।

जेटीयुसीसी अध्यक्ष खिलानाथ दाहालले स्वदेशमा काम नपाएका कारण युवाहरु बाहिरिन बाध्य भएको उल्लेख गर्दै सरकारले श्रम बजार बढाउने कार्यक्रम ल्याउन नसेकेको बताए । ‘संभावना भएर पनि सरकारले रोजगारका कार्यक्रमै ल्याउन नसक्दा युवा विदेशिन बाध्य भएका हुन्’ दाहालले भने । युवा शक्ति नहुँदा गाउँ(सहरमा पनि समस्या बढेको उल्लेख गर्दै उनले भने, ‘गाऊँमा काम गर्ने मान्छे नै छैनन्, सहरमा रोजगार पाईदैन, पाए पनि खान पुग्ने तलब छैन ।’

कान्तिपुरबाट


  •  
  •  
  •