मुख, मुखमुख, मुखसुख र मुखामुख

1170
  •  
  •  
  •  

काठमाडौं ११ पुस ।
एउटै शब्द दोहोरिएर अर्को नयाँ शब्द बन्ने भाषिक प्रक्रियाको कुरा गरौँ। नेपाली भाषामा यस्ता सयौँ शब्दहरू छन्। ‘घरबाट घरघर, भातबाट भातसात, बानीबाट आनीबानी’ बनेजस्तै गरी नयाँ शब्दहरू बनेका छन्। यसरी नयाँ शब्द बनाउने भाषिक प्रक्रियालाई ‘द्वित्व’ अथवा ‘वीप्सा’ भन्दछन्। म घर गएँ। यस वाक्यले एउटा घरमा गएको जनाउँछ।

म घरघर गएँ। यस वाक्यले धेरैवटा घर गएको बुझाउँछ। ‘भात खान्नँ।’ भन्नु र ‘भातसात खान्नँ।’ भन्नुमा समान अर्थ हुँदैन। ‘भात’सँग जोडिएर आएको ‘सात’ ले ‘छ’ पछिको अङ्कलाई नबुझाई ‘भात’ शब्दलाई विशेष जोड दिएको छ। ‘तिम्रो बानी राम्रो छ।’ भन्नुमा र ‘तिम्रो आनीबानी राम्रो छ।’ भन्नुमा पनि समान अर्थ हुँदैन। यहाँ ‘आनी’को छुट्टै अर्थ लाग्दैन। आनी’ पनि ‘बानी’को अंश हो। द्वित्वले शब्दार्थमा नयाँपन थप्छ। ‘तातो चिया खाएँ।’ भन्नु र ‘तात्तातो चिया खाएँ।’ भन्नु एकै होइन। ‘तातो’ शब्दले सामान्य तातोपन बुझाउँछ भने ‘तात्तातो’ शब्दले बढी तातो भन्ने बुझाउँछ।’आफ्नो काम गर।’ यस वाक्यले एक जनालाई मात्रै आफ्नो काम गर्न लगाएको छ। ‘आआफ्नो काम गरो।’ यस वाक्यले धेरै जनालाई उनीहरूले गर्नुपर्ने भिन्नभिन्न काम बुझाएको छ। यसरी द्वित्व भई बनेका शब्दहरू भिन्न र स्वतन्त्र भएकाले यस्ता शब्दका शब्दांशहरूलाई जोडेरै लेख्नुपर्छ। ‘फाकफुक’ मा ‘फुक’ दोहोरिएको छ। ‘टालटुल’ मा ‘टाल’, ‘गोदागोद’ मा ‘गोद’, ‘मारामार’ मा ‘मार’ तथा ‘काटकुट’ मा ‘काट’ दोहोरिएको बुझिन्छ। सार्थक अंश जुन हो, त्यही जोडिएको भन्ने बुझ्नुपर्छ।
‘घरघर, जोजो, जेजे, जसजस, जुनजुन, कोको, केके, कुनकुन, कसकस, कहिलेकहिले, कालोकालो, पिरोपिरो’ आदि शब्दमा शब्दांश पनि मूल शब्दकै रूपमा दोहोरिएको देखिन्छ। यस प्रकारको द्वित्वलाई पूर्ण द्वित्व भन्दछन्।
धेरैजसो द्वित्व शब्दका अंशमा ‘स’ आएको देख्न सकिन्छ, जस्तै- भातसात, लुगासुगा, नुनसुन, तरकारीसरकारी, आगोसागो, पानीसानी, कोठासोठा, जुत्तासुत्ता, हातसात, खुट्टासुट्टा, कलमसलम, दाँतसाँत आदि। यस प्रकारको द्वित्वलाई परिवर्तित वा आपरिवर्तित (आ+परिवर्तित) द्वित्व पनि भन्दछन्।
‘आनीबानी, आलटाल, आलोपालो, असिनपसिन, तात्तातो, आआफ्नो, ठूल्ठूलो, छिट्छिटो’ आदिमा मूल शब्दको अंशमात्र दोहोरिएको हुन्छ। यस प्रकारको द्वित्वलाई आंशिक द्वित्व भन्दछन्। सबै प्रकारका द्वित्व शब्दमा एकै प्रकारको अर्थ खोज्नु उचित हुँदैन। ‘मुख’ भन्नाले हामी सामान्य ‘मुख’ भन्नेमात्र बुझ्दछौँ, जस्तै ः म मुख धुन्छु। ‘मुखमुख’ भन्नाले दुइटा मुख अथवा मुखनेर भन्ने बुझ्दछौँ, जस्तै ः केटा र केटी ‘मुखमुख’ जोडेर बसे। धानको बाला बोटको ‘मुखमु्ख’ आइसकेको छ। ‘मुखसुख’ धोएर आऊ। यस वाक्यको ‘मुखसुख’ मा आएको ‘सुख’ पनि ‘मुख’कै परिवर्तित रूप हो। यहाँ प्रयोग गरिएको ‘सुख’ भन्ने शब्दांश ‘दुःख’को विपरीतार्थक होइन। केटा र केटी ‘मुखामुख’ गरेर बसे। यस वाक्यमा आएको ‘मुखामुख’ शब्दले परस्परमा हेरिएका दुइटा मुख भन्ने बुझाएको छ। ‘मुखमुख, मुखसुख तथा मुखामुख’ यी तीनवटै शब्द ‘मुख’ भन्ने मूल शब्दबाटै व्युत्पन्न भएका नयाँ शब्दहरू हुन्।fनागरिकबाट


  •  
  •  
  •