संकटग्रस्त सिरियामा ४ सय नेपाली महिला

158
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस्) :
दोलखा, खरिढुंगाकी मञ्जु श्रेष्ठ द्वन्द्वग्रस्त पश्चिम एसियाली मुलुक सिरिया पुगेको चार महिना भयो । राजधानी दमास्कसबाट ‘धेरै टाढा’ बसेको बताउने उनी मध्यरातमा फोन गर्दै गुहार्छिन्- ‘म त यतै मर्छुजस्तो छ, मलाई बाचाउनुहोस् ।’

मानव तस्करको चंगुलमा परी सिरिया पुगेकी ४१ वर्षीया मञ्जुका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामार्फत उद्धारको निवेदन दिएको महिनौं भइसक्यो । घरमा चार छोरी र एक छोरा उनकै पखाइमा छन् । द्वन्द्व चर्किरहेको सिरियामा दिनहुँ सयौं नागरिक हताहत भइरहँदा मञ्जुजस्ता थुप्रै नेपाली युवतीको हारगुहार त्यसै हराइरहेको छ ।

दिल्लीको बाटो हुँदै दुबई, लेबनान वा टर्की लैजाने भन्दै यस वर्षमात्रै ४ सयभन्दा बढी युवती दमास्कस आसपास पुर्‍याइएको तथ्यांक सिरिया मामला हेर्ने इजिप्टको कायरोस्थित दूतावाससँग छ । ‘इराकको कुर्दिस्तान लैजाने भन्दै मेरी श्रीमतीलाई दलालले सिरिया पुर्‍याएको पछि थाहा पाएँ,’ खरिढुंगामा आलुखेती गर्ने श्रीमान् राम श्रेष्ठले कान्तिपुरसँग फोनमा भने, ‘ऊ फोनमा खुलेर कुरा गर्नसमेत सकिरहेकी छैन, कहा कसरी राखिएको छ, त्यो पनि थाहा छैन ।’

झापा घर बताउने सोनु राई, दिल्लीका एजेन्ट दीपक र पोखराकी उषाले मञ्जुलाई विदेश उडाउन आफूबाट झन्डै १ लाख रुपैयाँ लिएको रामले बताए ।

मञ्जुले बितेको ४ महिनामा मालिकबाट पैसा नपाएको र बारम्बार बलात्कार प्रयाससमेत भएकोमा नजिकको प्रहरी चौकी गएर शरण लिनुपरेको बताइन् । ‘कुर्दिस्तान हो कि तुर्किस्तान लैजाने भनेर दलालले यहाँ ल्याए, म बसेको घर छेउमा सल्लाघारी मात्रै देखिन्छ,’ मञ्जुले भनिन्, ‘दमास्कसबाट कति टाढा हो, मलाई थाहा छैन ।’

मञ्जुले आफूसँगै दोलाखाकै फुट्टी शेर्पा र पोखराकी जानुका माझी काठमाडौंबाट दिल्ली हुँदै सिरिया आइपुगेको, तर उनीहरू अहिले कहाँ कुन हालतमा छन् भन्ने केही थाहा नभएको जानकारी दिइन् ।

नेपाल सरकारले सिरियालाई प्रतिबन्धित रोजगारी गन्तव्यका रूपमा सूचीकृत गरेको भए पनि सिरिया सरकारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१२ को मार्चदेखि नाइजेरिया, इन्डोनेसिया, बंगलादेश, श्रीलंका, भियतनाम र नेपालका घरेलु कामदारलाई कामको अनुमति दिएको थियो । त्यसयता दलालहरूले ४ सय डलरसम्म तलब पाउने भन्दै नेपाली महिला सिरिया पुर्‍याउन थालेका हुन् । तस्करीको यो दिल्ली ‘नेटवर्क’ बारे स्थानीय नेपाली दूतावासलाई जानकारी छ । तर एजेन्टलाई कारबाही गर्न र उद्धारमा सहयोगी बन्न कुनै संयन्त्र नरहेको भन्दै दूतावास पन्छिरहेको छ ।

‘यहाँ बाहिर निस्कनै सकिन्न, दिनहुँ बम पड्ेको आवाज मात्रै सुनिन्छ,’ मञ्जुले भनिन्, ‘म बसेको घरमा पनि बमबारुदले प्वालैप्वाल छ ।’ उनी प्रौढ शिक्षा पढेर मुस्किलले नामसम्म लेख्न सक्छिन् । अंग्रेजी नजान्दा धेरै समस्या भइरहेको छ । गाउँतिर धेरै चिनेजानेका केटीहरू विदेशबाट कमाएर फर्केको देख्दा आफू पनि कुरै नबुझी विदेश उडेको उनले बताइन् । आसपासमा इन्डोनेसिया, फिलिपिन्सका थुप्रै कामदार देखिने र नेपाली नै भेटिए पनि बोल्नै नपाइने बाध्यता रहेको उनले सुनाइन् ।

मानव तस्करी एजेन्टबाट ३ वर्षअघि दमास्कस पुर्‍याइएकी र सास्तीका कारण ५ महिनाअघि आत्महत्या गरेकी संखुवासभाकी सुनीता दर्जीको शव अझै स्थानीय अस्पतालमा छ । क्षतिपूर्तिसम्बन्धी अन्योल र आफन्तको वारेसनामा प्रक्रियामा अल्झिएर दर्जीको शव थन्किएको हो । यसअघि नेपाल सरकार, आप्रवासन संगठन लगायतका निकायसँग उद्धार मागेकी बागलुङकी प्रतिमा गुरुङ आफ्नै खर्चमा हालै घर फिरेकी छन् ।

यसैगरी, पोखराकी लक्ष्मी गुरुङ र बागलुङकी हुमा मगर सन् २०१२ को जुलाइयता सिरियामा सम्पर्कहीन भएकोबारे नेपालमा परराष्ट्र मन्त्रालय सम्बद्ध निकायमा आफन्तमार्फत जानकारी भइसकेको छ । उदयपुरकी सरिता परियार र सिन्धुपाल्चोककी शान्ति लामा दमास्कस आसपासबाट हराइरहेको सूचना परराष्ट्रको कन्सुलर शाखामा आइसकेको छ ।

खास गरी सिरिया र इराकमा सक्रिय ‘आईएसआईएस’ (इस्लामिक स्टेट इन इराक एन्ड सिरिया) नामक विद्रोही समूहका कारण बढेको द्वन्द्वमा विदेशी नागरिक बढी लक्षित भएकाले नेपाली कामदारहरू त्रसित बनेका हुन् । २०११ मार्चदेखि सुरु भएको सिरिया विद्रोहमा हालसम्म झन्डै अढाई लाख नागरिक मारिएको तथ्यांक छ । झन्डै ३ लाख नागरिक शरणार्थीका रूपमा आसपासका देशमा विस्थापित भएका छन् । आन्तरिक विद्रोह बढेपछि सिरियाली नागरिक सीमावर्ती टर्की, जोर्डन, इराक, लेबनानतिर भागेर जाने क्रम अझै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कायरोस्थित नेपाली दूतावासले पाएको जानकारी अनुसार अहिलेसम्म सुरक्षित मानिएको दमास्कसमा ७० प्रतिशत घरेलु कामदारको कार्यक्षेत्र छ भने असुरक्षित भनिएका याफोर, सब्बुरा, हामा, एलेपो सहितका क्षेत्रबाट समेत नेपाली युवती सम्पर्कमा आएका छन् । सिरियामा रहेका आलिया अफिस, अल बयत अल सामी हाउस, बोसनाक अफिस र नुबाला अल-साम अफिसले नेपाली घरेलु कामदारको मागलाई हेर्दै आएका छन् ।
कासन्तपुरबाट


  •  
  •  
  •