आतंकवादविरुद्ध नेपाली सेनाको ‘ट्रायल’

75
  •  
  •  
  •  

काठमाडौं, १४ फागुन । 
प्रहरीलाई सूचना आउँछ, होलट टुँडिखेलमा आतंकवादीले २० भन्दा बढीलाई बन्ध बनाएका छन्। बन्धकमा थोरै नेपाली र धेरै विदेशी छन्। प्रहरी उच्च हमाण्डले गृह मन्त्रालयमा खबर गर्छ। गृहले प्रधानमन्त्री कार्यालयमा जानकारी पुर्‍याउँछ। यतिबेलासम्म नेपाली सेनाको इन्टिेलिजेन्स डिपार्टमेन्टसहित प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले घटनास्थलको भित्री र बाहिरी अवस्थाको जानकारी लिइसकेका हुन्छन्।

अत्याधुनिक हातहतियारसहित सिंगो होटल कब्जामा लिएर बन्ध बनाइएका आतंकवादीविरुद्ध कारवाहीका लागि तत्काल सरकारले सेनालाई तयारी अवस्थामा रहन र आवश्यकताअनुसार कारबाहीको निर्देशन दिन्छ। घटनास्थल तीनै सुरक्षा निकायले घेरा हाल्छन्। प्रतिआतंकवाद कारबाहीका लागि आवश्यक सबै उपकरण घटनास्थल वरपर तयारी अवस्थामा राखिन्छ। ‘ड्याम्म’ एक राउण्ड गोली चलेको आवाज होटल टुँडिखेल भित्रबाट आउँछ। बन्धक एक विदेशीको शव बाहिर फालिन्छ।

आफ्ना माग पूरा गर्न आतंकवादीले सुरक्षा निकायलाई धम्की दिएको थियो। यतिबेलासम्म सेनाले धेरै टाढाबाट निशाना लगाउने आफ्नो बन्दुकधारी तयार पारिसकेको थियो। सिंहदरबारमा प्रधानमन्त्री रक्षा र गृहमन्त्री छलफलमा व्यस्त छन्। केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्छ। सेनालाई बन्धक मुक्त गर्ने सबै जिम्मेवारी दिने निर्णय बैठकले गर्छ। अनुमति पाएपछि सेनाको कारबाही सुरु हुन्छ। सेनाको प्रतिआतंकवाद कारबाहीका लागि तालिमप्राप्त श्री भैरवनाथ गणलाई जंगी अड्डाले परिचालन गर्छ। रेञ्जर फौजले कारबाही सुरु गर्छ।

केही सेकेण्डका होटल टुँडिखेलभित्रबाट दर्जनौं राउण्ड गोली पड्केको आवाजमात्र आउँछ। करिब आधा घण्टाको अप्रेसनमा बन्धक सबै सकुशल मुक्त गर्न सेना सफल हुन्छ। केही आतंकवादी मारिन्छन्, केही पक्राउ पर्छन्। सैनिक मञ्चमा रहेका सबैले ताली पिट्छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल आपसमा कुराकानी गर्छन्। उपस्थित सबैका लागि सेनाको आतंकवादीविरुद्धको यो ‘ट्रायल’ कारबाहीले आकर्षण गर्छ।

यो सेनाले सैनिक दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा गरेको कारबाहीको नमुना प्रदर्शन हो। नेपाली सेनाले पहिलोपटक राष्ट्रप्रमुख देखि कूटनीतिक नियोगका प्रमुखसामु यो नमुना पदर्शन गरेको हो। सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले विश्वव्यापी आतंकवादबाट नेपालमा हुनसक्ने खतरालाई आँकलन गर्दै कारबाहीको नमुना प्रदर्शन गरिएको बताए।

नागरिक दैनिकबाट


  •  
  •  
  •