काठमाडौं ११ कात्तिक (ओएनएस): नेपाली सेनाका अधिकारीहरुले सेनाको अराजनीतिक चरित्रलाई कायम गर्न ठूलो चुनौती बनेको निस्कर्ष निकालेका छन् । उनीहरुले कमाण्ड मार्ग २०६९ लाई कडाईका साथ लागु गर्न सैनिक नेतृत्वलाई सुझाव दिएका छन् । आज सकिएको सेनाको भेटरान अन्र्तक्रियामा उनीहरुले राजनीति प्रभावबाट सेनालाई अलग राख्न सुझाव दिएको एक सैनिक अधिकारीले जानकारी दिए । ‘सेनाका उच्चअधिकारीका कारण नै सेनामा राजनीतिक प्रवेश गरेकाले व्यवसायीकतालाई जोगाउन धेरैको सुझाव थियो’ ती अधिकारीले भने ।
जंगी अड्डा परिसर रसैनिक शिक्षालय, नगरकोटमा संचालन भएको दुईदिने कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु तथा पूर्व रथीबृन्दहरु ३५ जना र रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं वहालवाला रथीबृन्दहरु गरी ६५ जनाको सहभागिता थियो । कार्यक्रममा प्रधानसेनापति महारथी गौरव शम्शेर ज.ब.रा.ले सैनिक नेतृत्व आफैंमा चुनौतिपूर्ण रहने बताए ।
उनले सेनाको तालिम, अपरेशनल तयारी लगायत नियमित कार्यहरु सहज रुपमा सम्पादन गर्ने प्रयास भइरहेको बताए । उनले परिस्थितिहरुको बाबजुद पनि सेनालाई राजनीतिबाट अलग राख्न प्रयास भइरहेको बताए ।
‘नेपाली सेनाको अराजनीतिक चरित्र, व्यवसायिकता तथा आधुनिक सेनाको रुपमा रुपान्तरण गर्ने उद्देश्यले संस्थागत सुझावहरुको आधारमा “कमाण्ड मार्ग निर्देशन–२०६९” जारी गरिएको हो उनले भने, ‘तीनै लक्ष्यहरुको आधारमा “दीर्घकालिन योजना–२०६९” समेत लागु भइसकेको छ । ’ राणाले “सैनिक सेवा नियमावली–२०६९” लागु गरी सक्षम कमाण्डरहरुका लागि माथिल्लो ओहोदाको ढोका खोल्ने काम भएको बताए ।