मलेसियामा नेपाली सुरक्षा गार्डको रोजगारी गुम्ने खतरा

286
  •  
  •  
  •  

malaysiaमलेसिया, २० माघ (ओएनएस) : मलेसियन प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक नेपालीले पत्र लेखेपछि मलेसियामा रहेका र जाने प्रक्रियामा रहेका नेपाली सुरक्षा गार्डहरुको रोजगारी गुम्ने खतरा बढेको छ ।

नाम नखुलाई लेखिएको पत्रमा ८० प्रतिशत नेपाली सभिल र बाँकी पूर्वमाओवादी लडाकु भएको पनि लेखिएको छ । मलेसियामा सुरक्षा गार्डको रोजगारीको लागि सेना वा पुलिसमा काम गरेको हुनुपर्ने प्रावधान छ । प्रधानमन्त्रीलाई नेपाली सुरक्षा गार्डबारे पत्र प्राप्त भएपछि अनुसन्धान गर्न मलेसियन सरकारले जाँचबुझ समिति बनाएको छ । उक्त जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको एक कर्मचारीले खुलासा गरेका छन् ।

पत्रमा सुरक्षा गार्डसँगै यहाँबाट निस्कने पत्रिका, नेपाली गतिविधि तथा कार्यक्रम, नेपाली संघ–संस्था, नेपालीहरुको व्यपारको बारेमा समेत उल्लेख गरिएको बताइएको छ । पत्रमा नेपालीहरुको हकहितको लागि खुलेका संस्थाहरुको कारण झन् नेपालीहरुलाई समस्या परेको पनि लेखिनुका साथै केहि संस्था र ब्यक्तिको नाम समेत उल्लेख गरिएको बताइएको छ ।

उक्त पत्रपछि रोजगारीको राम्रो गन्तव्यको रुपमा रहेको मलेसियामा सुरक्षा गार्डको भाबिष्य अन्योलग्रस्त बन्ने देखिएको छ । मलेसियामा करिब २५ हजार नेपालीहरु सुरक्षा गार्डको रुपमा काम गरिरहेको बताइएको छ । मलेसियाको राजपरिवारदेखि अधिकांस कम्पनी र घरहरुमा नेपालीहरु सन् १९९४ देखि सुरक्षा गार्डको रुपमा काम गर्दैै आएका छन् । अन्य कामको तुलनामा कमाई राम्रो हुने भएकाले नेपालीहरु सुरक्षा गार्डमा बढि आकर्षित हुने गरेका छन् ।


  •  
  •  
  •