नेपाली समाज पूर्ण रुपमा विकसित राष्ट्र हो

661
  •  
  •  
  •  

वामदेव गौतम

अहिले नेपालको राजनीतिक अवस्था जटिल संक्रमणबाट निस्कन खोजिरहेको छ । संविधानसभाको दोस्रो निर्वाचनमा जातीय संघीयता, छुट्टिन पाउने आत्मनिर्णयको अधिकार र संघीयता विरोधी विचारका पक्षधरहरु तुलनात्मक रुपमा धेरै क्षेत्रमा पराजित भएका छन् ।
यस पटक यो संविधानसभामा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुको दुई तिहाई भन्दा धेरै संख्याको उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने सुनिश्चित देखिन्छ ।
यस पटकको निर्वाचनमा एमाले र काँग्रेसकै बीचमा मूख्य प्रतिद्वन्दिता देखियो । यो भावी दिनहरुमा पनि जारी रहने त्यत्तिकै सम्भावना छ । भावी दिनमा पनि नेपाली श्रमजीवीवर्गको वास्तविक प्रतिनिधि नेकपा एमाले र नेपाली पूँजीपतिवर्गको प्रतिनिधि नेपाली काँग्रेस नै हुनेछन् । एनेकपा माओवादीलगायत हत्याहिंसा र अराजकताको राजनीतिक आधारमा टिक्नखोज्नेहरुको अस्तित्व समाप्त हुनेछ । त्यसमध्ये आफुलाई आजको विशेषता अनुरुप सुधार गरेर आउन सक्यो भने कम्युनिष्ट पार्टीहरु बीच एकता पनि हुनसक्नेछ ।
नेपाली समाज विकासको विशिष्ट अवस्थालाई आत्मसाथ गर्न नसकेका उग्रवामपन्थी अराजकतावादीहरुले संरचनागत पक्ष मात्र भएको संघीयतालाई सामाजिक क्रान्तिको रुपमा प्रस्तुत गरेर जातीय संघीयता र आत्मनिर्णयका नाममा देश टुक्राउने खतरा उत्पन्न गराएका छन् ।
कतिपय बुद्धिजीवीहरुले नेपाललाई राष्ट्र बन्दै गरेको राज्य, राष्ट्रियताहरुको राज्य अथवा बहुराष्ट्रिय राज्य भनेर खुलेआम देश विखण्डनको वकालत गरिरहेका छन् । कुनै एउटै नश्ल र वंश बसोबास गरेको देश यो संसारमा कहि पनि छैन । जहाँ अहिले एउटा मात्र जाती जस्तो देखिने गरेको छ, त्यो भाषा र साँस्कृतिक समानताको परिचायक मात्र हो ।
एउटै नश्लको वंश भन्ने कुरा गलत हो । मानव जाती गोत्रको अवस्थामा आईपुग्दा असङ्ख्य पटक जातीय अन्तरघुलन भइसकेको थियो । त्यो जनजातिमा पुग्दा अनेकौं गोत्रहरुको अन्तरघुलनबाट विकास भएको थियो । जाती (राष्ट्रियता)मा पुग्दा त्यस्ता अनेक जनजातीको अन्तरघुलन भएको थियो ।
कुनै पनि देशका जनसमुदाय राष्ट्रमा पुग्दा अनेक जातहरुको अन्तरघुलन भएको हुन्छ । प्रकृतिबाट फुत्त निस्केको कुनै प्राणी र त्यसको वंश यता उता केहि नभै राष्ट्रसम्म विकसित भएको मान्यता भ्रामक, अवैज्ञानिक र अप्राकृतिक छ । संसारका सबै राष्ट्रहरुको जन्म, विकास निरंकुश राजाहरुको अत्याचारी शासन अन्तरगत मात्र भएको छ ।
जर्मन, फ्रान्स, ब्रिटेन, जापान, भारत र चीन जस्ता देशका सबै राष्ट्रहरुको उदय र विकास त्यही निरंकुश र अत्याचारी राजाहरुको शासन अन्तर्गत भएका हुन् । नेपाल राष्ट्र भनेको यहाँ बसोबास गर्ने जनसमुदाय नै हुन् । नेपाल राष्ट्रिय राज्यका रुपमा आउनु भन्दा अगाडि यहाँ स–साना तर धेरै राज्य समूहरु थिए ।
पृथ्वीनारायण शाहदेखि महेन्द्रसम्मका राजाहरुले संसारका अरु राष्ट्रहरु जस्तै नेपाल राष्ट्रलाई जन्माएका छन् । पहिले पृथ्वीनारायण शाहले राष्ट्रिय राज्यको जग बसाले त्यही जगमा अरु राजा र राणाहरुले राष्ट्रिय राज्यलाई बलियो बनाउने काम गरे ।
२००७ सालदेखि शुरु भएको पूँजीवादी क्रान्ति र त्यसका सहउत्पादनका रुपमा भएका सुधारहरुले नेपाली जनतालाई एउटा राष्ट्रका रुपमा विकास गरे । कहिल्यै कसैको उपनिवेश र अर्ध उपनिवेश नबनेको नेपाल आज सबै मापदण्डलाई पूरा गरेर एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न अखण्ड राष्ट्रका रुपमा विकसित भएको छ ।
यहाँ बसोबास गर्ने सबै मानव समुदाय र भाषाभाषी रहेका जनता सबै नेपाली जातीमा रुपान्तरित भएका छन् । यसलाई अपमान गर्ने र होच्याउने काम गर्नुहुन्न । अब नेपाल विखण्डन हुन, टुक्रिन र ध्वस्त हुन सक्दैसक्दैन ।
नेपाल सामाजिक र आर्थिक रुपले विकसित देशहरुको तुलनामा धेरै पछाडि परेको छ । नेपाल यतिधेरै पछाडि पर्नुको मूख्य कारण लामो समयसम्म कायम रहेको सामन्ती शासन व्यवस्था, नेपाली पूँजीपतिवर्गको सामन्तवर्गसंग रहेको गठबन्धन तथा वैदेशिक एकाधिकारवादी पूँजीवादी सरकारहरुले नेपालको आन्तरिक मामलामा गरेको हस्तक्षेप, युवाहरुको विदेश पलायन, लामो समयसम्म जारी पूँजीवादी क्रान्ति तथा माओवादी जनयुद्धको अराजक र ध्वंसात्मक क्रियाकलापहरु रहेका छन् ।
त्यसो भएता पनि नेपाली समाज पुँजीवादी सुधारतर्फ २००७ सालभन्दा पहिलेदेखि नै अग्रसर हुन थाल्यो र आज समाजको हरेक क्षेत्र पुँजीवादमा पदार्पण गरिरहेको छ । नेपाली समाज पुँजीवादी कारणमा अहिले पूर्ण रुपले सामेल भएको छ ।
नेपालमा बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली भएको राज्यव्यवस्था अवलम्बन गर्नुपर्दछ । दलाल र नोकरशाही पूँजीवादलाई उन्मुलन गर्दै राष्ट्रिय पूँजीवादलाई व्यापक रुपमा बढावा दिनुपर्दछ । नेपालको आफ्नो राष्ट्रिय हितलाई प्रोत्साहन हुने गरी विदेशी लगानीलाई भित्राउनु पर्दछ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको उत्तरी छिमेकी चीन र विश्वको दसौे ठुलो अर्थतन्त्र भएको दक्षिणको छिमेकी भारतका बजारमा पहुँच स्थापित गरी अगाडि बढ्ने कामलाई प्राथमिकतामा राख्नु पर्दछ ।
तर दलाल पूँजीवादको बोलावाल कायम रहिरहने अवस्थामा भने यी दुई अर्थतन्त्रले नेपाललाई नै समाप्त गर्नसक्ने कुरालाई विर्सन हुन्न । हामीले नेपाली समाजको सामाजिक आर्थिक अवस्था एसियाका विकसित देशको दाँजोमा पुर्याउने उद्देश्य राख्नु पर्दछ ।
समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण सहितको उत्पादन पद्दति स्थापना गर्नु यतिवेला नेपाली समाजको मुख्य कार्यभार हो । यहि कार्यभारको नामाकरण नेपाली विशेषतामा आधारित “नेपाली नमुनाको समाजवाद” सबभन्दा उपयुक्त देखिन्छ । यो समाजवाद नै जनताको बहुदलीय जनवादले परिकल्पना गरेको सामाजिक आर्थिक व्यवस्था हो ।
बहुलवादी खुल्ला समाज जनताको बहुदलीय जनवादले अगाडि सारेको समाजवादी समाज सम्बन्धि दूरदृष्टि हो जुन आज पनि त्यत्तिकै सहि छ । बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली आजको परिवर्तित परिस्थितिका लागि पनि त्यतिकै सान्दर्भिकता रहेको छ । यी विषयहरु जनताको बहुदलीय जनवादी कार्यक्रमका मूल आधार हुन् । जनताको बहुदलीय जनवादका यीनै मूल आधारहरुलाई समावेश गरी नेपाली नमुनाको समाजवादी कार्यक्रम अगाडि सार्नु यतिवेला अत्यन्त जरुरी आवश्यकता बनेको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नेपाल किसान महासंघले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अंश । गौतम अहिले उपप्रधान तथा गृहमन्त्री पनि छन् ।

  •  
  •  
  •