भारत हुँदै तेस्रो मुलुक नजान दूतावासको आग्रह

177
  •  
  •  
  •  

काठमाडौं । भारत नयाँदिल्लिस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुक नजान नेपालीहरूलाई आग्रह गरेको छ ।
भारत हुँदै तेस्रो मुलुक जान नेपालीलाई रोक लगाइएको स्मरण गराउँदै उसले अनिवार्य रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पनि आग्रह गरेको छ ।

वैदेशिक रोजगारीका लागि स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने क्रम बढेपछि भारतले रोक लगाएको थियो । यद्यपि, नेपालीहरूले भारतीय विमानस्थल प्रयोग गर्दै आइरहेका छन् । तेस्रो मुलुक जान नेपालीलाई भारतले गरेको आग्रह पालना नभएपछि नयाँ दिल्लीस्थित दूतावासले पुनः त्यसबारे स्मरण गराएको हो ।

भारतीय विमानस्थलमार्फत विदेश जाने नेपालीलाई विमानस्थलमै रोक लगाइने स्मरण गराउँदै दूतावासले भनेको छ, ‘भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले सम्बन्धित कामदारको राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएको हुनुपर्ने छ । स्थलमार्गबाट जाने नेपालीको पासपोर्टमा प्रस्थान अनुमतिको छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेकाले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान आग्रह गरिन्छ ।’

विगतमा भारतीय विमानस्थल हुँदै ठूलो संख्यामा घरेलु कामदार खाडीका विभिन्न मुलुकहरूमा तस्करी गरी पठाउने गरिएपछि दूतावासले भारत हुँदै ती खाडी मुलुक जान रोक लगाएको हो ।


  •  
  •  
  •