नेपाली कागजको डायरी कोरियामा

389
  •  
  •  
  •  

म्याग्दी, २ असार (ओएनएस) । नेपाली हाते कागजबाट बनेको डायरीको कोरियामा उच्च माग छ । म्याग्दीको राम्चे गाविस–२ मा नेपाली कागजबाट निर्माण भएको डायरी विदेश निर्यात हुन थालेको छ ।

राम्चेको नांगीमा रहेको हिमाञ्चल हातेकागज तथा हस्तकला उद्योग निर्मित डायरीको दक्षिण कोरियामा निर्यात हुन थालेको हो ।

नेपाली कागजबाट निर्मित डायरी बलियो र टिकाउ हुने भएकाले दक्षिण कोरियाबाट माग आएपछि निर्यात गर्न थालिएको उद्योगका व्यवस्थापक चित्र तिलिजा पुनले जानकारी दिए । उनका अनुसार नमुनाका रूपमा कोरिया पठाएको डायरी त्यहाँका ग्राहकले मन पराएपछि थप तीन हजार थान डायरीको माग आएको छ । नेपाली कागजका लेखिएको अक्षर धेरै वर्षसम्म नमेटिने हुँदा महत्वपूर्ण विषयको टिपोट एवम् कलात्मक चित्र बनाउनका लागि नेपाली कागजबाट बनाइएको डायरी उपयोगी भएको व्यवस्थापक पुनले बताए ।

गाउँको जङ्गलमा खेर गइरहेको लोत्ताको सदुपयोग गरी कागज उत्पादन र रोजगारी सृजना गर्ने उद्देश्यले स्थानीय समुदायले विसं २०७० मा उद्योग स्थापना गरेका थिए । दक्षिण कोरियाका साथै अस्टे«लियामा पनि सामाजिक सञ्जाल र इन्टरनेटमार्फत डायरीको बजारीकरण भइरहेको छ ।
उद्योगमा नांगीका ११ जना महिलाले रोजगारी पाएका छन् । घरायसी कामबाट बचेको समयमा कागज र डायरी बनाएर भएको आम्दानीले घरखर्च चलाउन सहज भएको उद्यमी कुलमाया चोचाङ्गीले बताइन् ।


  •  
  •  
  •