धरासायी बन्दै नेपाली पत्रकारिता

179
  •  
  •  
  •  

विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाली पत्रकारिता क्षेत्रमा पनि देखिएको छ । यतिबेला कयौँ पत्रकारका पेशा संकटमा परेका छन् भने कति सञ्चारगृह बन्द भए र बन्द हुने अवस्थामा छन् । रोजगारी गुमाउने, तलव कटौति, बेतलवी विदामा राखिएका र लामो समयदेखि पारिश्रमिक नपाउने पत्रकारहरुको संख्या पनि धेरै छ ।

समयमा तलव नदिने समस्या त नेपाली सञ्चार क्षेत्रको पुरानै रोग हो । रोजगारीसम्वन्धी यी समस्या समाधानका लागि आन्तरिक रुपमा पहल गर्दा पनि नभएपछि पत्रकारहरुले अहिले काठमाडौंमा रिले अनसन, धर्नालगायतका कार्यक्रम गरिरहेका छन् ।

सञ्चारग्रामस्थित सूचना तथा प्रसारण विभागमा लालटिन बालेर प्रदर्शन गर्दै पीडित पत्रकार ।

कार्यालय परिसरमै अनसन बस्दा सुनुवाई नभएपछि उनीहरु बुद्धनगरमा सडकै उत्रिएर अनसन बस्दै आएका छन् । उनीहरु कहिले थाल ठटाउँदै बालुवाटार त कहिले लाल्टिन बालेर सूचना विभागमा धर्ना दिन पुगेका छन् ।  पिडक मिडिया हाउसकाविरुद्ध संयुक्त रुपमा धर्ना तथा विरोध प्रदर्शन जारी राखेका छन् ।

पिडक भनिएका संचार गृहहरुमा देशका ठूला र प्रभावशाली मानिएका कान्तिपुर, नागरिक, अन्नपुर्णपोष्ट, कारोवार, उज्यालो लगायतका रहेका छन् । नेपालको अति प्रभावशाली मानिएको कान्तिपुर टेलिभिजनले उत्कृष्ट भनेर पुरस्कृत भएकासहित चार कर्मचारीलाई नाफामा रहेको भनेर वोनस खुवाएको केही महिनामै विना कारण निष्कासन गरेको कान्तिपुर टिभी कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत बताउँछिन् ।

उनी भन्छिन्, ‘कान्तिपुर टेलिभिजनमा कार्यरत तीन कर्मचारीलाई तपाईहरु भोलीदेखि नआउनुस् भनेर मौखिक जानकारी गराइयो । त्यसको भोलीपल्टदेखि उहाँहरुलाई प्रवेश निशेष गराइयो । हामीले उहाँहरुलाई पुर्नवहाली गर्न र हाजिर गर्न बारम्बार आग्रह पनि गर्‍यौँ । फेरि अर्को कर्मचारीलाई पनि भोलीबाट नआउनुस् भन्न थालियो । कान्तिपुर टेलिभिजनले प्रायलाई करारमै राख्नुभएको छ । उहाँहरु कसैको पनि रिनु भएको छैन् । स्थायी कर्मचारी पनि सोच्नुपर्ने भएको छ । ४० जना कर्मचारीलाई कटौँती गर्छाै भन्ने व्यवस्थापक पक्षबाट आएको छ ।’ व्यवस्थापकलाई प्रत्येक पटक वार्ताबाट समस्याको समाधान गरौँ भन्दा सुनुवाई नभएको उनी बताउँछिन् । नयाँ व्यवस्थापक आइसकेपछि जसलाई इच्छालाग्यो त्यसलाई अमानविय रुपमा कामबाट निकालिएको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘श्रमजिविको पनि ऐन छ । करार भङ्ग गर्न पनि अग्रिम सूचना दिनुपर्ने हुन्छ । कुनै पनि नियममा नरहि कर्मचारी निकालियो ।’

बालुवाटारमा थाल ठटाउँदै विरोध प्रदर्शनमा पीडित पत्रकार

राम्रो नाफा कमाएको संस्थाका रुपमा चिनिँदै आएको उज्यालो रेडियो नेटवर्कले पनि केही महिना अगाडि पत्रकारहरुलाई काम छोड्न बाध्य पार्‍यो । त्यसपछि कर्मचारीहरु आन्दोलित भए । व्यवस्थापनले धम्क्याएपछि निष्कासित केही कर्मचारी व्यवस्थापनकै सर्तमा सम्झौता गरेर काममा फर्किए भने केहि फर्किएनन् ।

काम छोड्न बाध्य पारिएकामध्ये पत्रकार लक्ष्मण कार्की भन्छन्,‘कोभिड–१९ सँगै हाम्रो तलब घट्ने, बिहान बेलुका कर्मचारी लिन जाने र छोड्ने गाडी बन्द गर्ने भन्ने भयो । जोसँग साधन थिएन । त्यस्तो कर्मचारीलाई कार्यालय जान समस्या भयो । यसैपनि बिहान ५ बजे पुग्नुपर्छ । टाढा बस्ने मान्छेलाई त्यतिखेर सार्वजनिक बस पनि चलेको थिएन । मोटरसाइकलमा पनि २ जना चढ्न नपाउने अवस्था थियो । तलब काट्ने र पहिलाको भन्दा बढी काम गरिरहेको बेलामा तलब कटौतिको व्यवस्था ल्याइयो । सम्भव हुनेले काम गर्नुभयो । सम्भव नहुनेले यसो नगरौँ भन्दा उहाँहरुले हाम्रो बाध्यता भयो । गाडी चलायो, तलब पुरा दियो भने चलाउन सक्दैनौँ भनेर व्यवस्थापन पक्ष पन्छीयो । असहमति जनाउँदै पनि केहि समय काम गर्‍यौँ । हामिले लिखित पनि दिएका थियौँ । त्यसमा पनि पुर्नविचार नभएपछि पत्रकार महासंघ, प्रेस काउन्सिलमा उजुरी दिएपनि पत्रकार महासंघले एक खालको हस्तक्षेप गर्‍यो । त्यसपछि उहाँहरुले तलब पुरा हाल्दिनुभयो । गाडी चलाउँदैनौ भन्नुभयो । केहि साथीहरु तलब पुरा आएपछि काममा फर्किनुभयो । केहि साथीहरु काममा जान छोड्यौँ ।’

यी त प्रतिनिधि घटना मात्रै हुन यस्तो समस्या देशैभरी छ । नेपाल पत्रकार महासंघले हालै गरेको एक अध्ययन प्रतिवेदनले पनि कोरोनाको महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएको देखाएको छ । महासंघका अनुसार ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि तलब पाउन नसकेको अध्ययनले देखाएको छ ।

सातै प्रदेशका दुईहजार आठ पत्रकारसँग गरिएको ‘पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव’ सर्वेक्षणमा ४० प्रतिशत बढी पत्रकारको पेशा तथा आम्दानीमा असर परेको देखाइएको छ । सो अवधिमा ४ प्रतिशतले जागिर गुमाएका र ६ प्रतिशतले बेतलबी बिदामा राखिएको छ ।

त्यस्तै, ७० प्रतिशत पत्रकारले महामारीका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता भएको सो अध्ययनले देखाएको छ । कोरोना महामारी तथा बन्दाबन्दीले पारेको असरका कारण दुईतिहाई पत्रकारलाई आफ्नो दैनिक घरखर्च चलाउनमा समस्या परेको छ । समस्या परेका पत्रकारमध्ये ६१ प्रतिशत बचत उपयोग, ४५ प्रतिशत घरखर्च कटौती, ३७ प्रतिशतले ऋण लिएर काम चलाएका र १२ प्रतिशतले आफन्त र साथीभाइसँग सापटी लिएर खर्च चलाएको अध्ययनले देखाएको छ ।

पत्रकारमा मात्र नभई सञ्चारगृह सञ्चालक पत्रकारलाई पनि कोरोना र बन्दाबन्दीको असर परेको अध्ययनले देखाएको छ । आम्दानीमा कमी भएका कारण नियमित पारिश्रामिक भुक्तानी गर्न नसक्ने सञ्चारगृहको संख्या करिब १४ प्रतिशत छ । तीमध्ये धेरैले बन्दाबन्दी लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् । तीन प्रतिशतभन्दा बढी सञ्चारगृहले खर्च व्यवस्थापनका लागि कर्मचारी कटौती गरेका छन् भने करिब सात प्रतिशतले आफ्ना कर्मचारीको तलब कटौती गरेको प्रतिवेदनमा छ । अध्ययनले महामारी र बन्दाबन्दीका कारण पत्रकारिता क्षेत्रको भविष्यमा पनि प्रभाव पर्न सक्ने देखिएको छ । ७.२ प्रतिशत पत्रकार तथा सञ्चारगृह सञ्चालक निराश छन् भने झण्डै ४० प्रतिशत पत्रकारिताको भविष्य के हुने भन्ने अन्यौलमा परेको देखाएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्य पछिल्लो समय कोभिड–१९ को बहाना देखाएर मिडिया हाउसले धमाधम पत्रकार निकाल्ने, बेतलबी विदामा राख्ने, तलब कटौती गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘पत्रकारहरु साँझ बिहान के खाउ भन्ने समस्यामा परेका छन् । जसले धेरै पत्रकारका लागि जीवनयापनमा जटिल बनेर आयो ।’

गोविन्द आचार्य

उनले मिडिया हाउसले निष्कासन गरेका पत्रकारको बारेमा श्रम अदालतमा मुद्दा हालेको बताए ।
उनले भने, ‘प्रेस रजिष्टार कार्यालयमा अहिले पनि दर्जनौँ मुद्दाहरु विचारधिन अवस्थामा रहेको छ । अहिले पनि पत्रकार महासंघ श्रमजिवि पत्रकारका पक्षमा दृढताका साथ उभिएको छ । आवश्यक परे मिडिया हाउसमै दबाबमुलक कार्यक्रम गर्ने, कानूनी संघर्ष गर्ने र वार्ताको टेबुलमा पनि संवादबाट हल गर्ने गरि प्रयत्न गरेका छौं ।’

महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्यले सञ्चारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट बञ्चित गर्न नमिल्ने बताउँछन् । मिडिया सञ्चालकहरुले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको उनको भनाइ छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाले पनि श्रमजिवि पत्रकारको हकहितका लागि आवाज उठाउँदै आएको छ । इन्जा एशियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त कोभिड–१९ का कारण पत्रकारमात्र नभई, पत्रिका, अनलाइन, टेलिभिजन, रेडियो सञ्चालकहरु पनि समस्यामा परेको बताउँछन् ।

टंक पन्त

यस्तै इन्जाले कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनबृत्ति प्रदान गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘कोरोनाको बहनामा जागीरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनबृत्ति प्रदान गरेका छौं । यो हाम्रो अभियान जारी रहेको छ ।’

इन्जाले कोरोना महामारिपछि सातै प्रदेशमा पत्रकारको अवस्था कस्तो छ भनेर अन्तक्रिया छलफल गर्ने र बास्तवमा समस्या के हो र अहिलेको अवस्था के छ भनेर वृहत खालको रिपोर्ट निकालेर योजनावद्ध रुपमा सहयोगका लागि अगाडी बढ्ने सोचाइ बनाएकाे अध्यक्ष  पन्त बताउँछन् ।


  •  
  •  
  •