स्विजरल्यान्डमा नेपाली खानाको प्रवर्द्धन

162
  •  
  •  
  •  

काठमाडौ, २७ मंसिर (ओएनएस) :  स्विजरल्यान्डमा नेपाल मौलिक परिकारको प्रवर्धन गरिएको छ । नेपाली मौलिक परिकारको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा विस्तार गराउन ग्लोबल एकेडमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेसन गेट कलेज, काठमाडौं का सेफ कुमार चालिसेले स्विजरल्यान्ड पुगेका छन् ।

स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थन मा आयोजित टेस्टिङ नेपाल र नेपाली सेफ इभेन्टूमा करिब एक दर्जन नेपाली खानाका परिकारहरू प्रस्तुत गरिएको छ । काठमाडौको गेट कलेज र स्विजरल्यान्डको होटल म्यानेजमेन्ट स्कुल थनमा दुवै होटलरी स्वीस स्विस होटल एसोसियनका सम्बन्धन प्राप्त होटल व्यवस्थापन कलेजहरू रहेका छन्।
स्वीस होटल एसोसिएसनकै संयोजनमा आयोजित उक्त कार्यक्रममा स्विजरल्यान्ड, जर्मन, फ्रान्स, इटालीका करिब २ सय जना खानाका पारखीहरु सहभागी भएका थिए । नेपाली परिकारहरूप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । यहाँको परिकार विश्वका अन्य परिकारभन्दा निकै भिन्न किसिमले पकाइने, तयार गरिने भएकाले विशेषगरी युरोपेली खाद्य पारखीहरूले मन पराएको सेफ चालिसेले बताए ।

उनका अनुसार कार्यक्रममा मार्सी भात, हिमालयन दाल, माछाको झोल, करेसाबारीको साग, टिम्बुर कुखुराको लेदो, चोखो तिहुन, काक्रोको अचार, स्विस चकलेट मम, आलुको परिकार, नेपाली सलादका परिकारहरु राखिएको थियो ।नेपाली परिकारको लोकप्रियता बढाउन स्वदेश तथा बिदेशका विभिन्न भागमा यस्ता कार्यक्रम सञ्चालन गराउदै आएका चालिसेले यसअघि मकाउ, दुबई, हङ्कङ , अस्ट्रेलिया लगाएतका मुलुकमा समेत नेपाली खानेकुराको प्रवर्धन गरिसकेका छन् ।

हस्पिटालिटीको क्षेत्रमा स्विजरल्यान्ड प्रसिद्ध रहेको भन्दै उनले त्यहाँ नेपाली खाद्यको प्रवर्धन गर्न पाउनु नेपालका लागि समेत गर्वको कुरा भएको बताए । निकट भविष्यमै युरोपका अन्य देशमा पनि थप कार्यक्रम गरिने उनले जानकारी दिए ।


  •  
  •  
  •