बिना अपराध जेलमा : मैले कहिलेसम्म यसरी बाँच्नुपर्ने हो ?

276
  •  
  •  
  •  

विमान अपहरणलगत्तै मुम्बइमा भएको एक बैंक डकैतीमा संदिग्ध पात्रका रुपमा युसुफ नेपालीलाई पक्राउ गरिएको थियो । इन्डियन एयरलाइन्स विमान अपहरणमा संलग्न भएको अभियोगमा पञ्जावको पटियाला केन्द्रीय १४ बर्ष जेलमा रहेका भुपालमान दमाइ उर्फ युसुफ नेपालीलाई अदालतले निर्दोष ठहर गरेपछि उनलाई रिहा गरियो । रिहा गरेपछि न्यायको खोजीमा भौतारिरहेका नेपाली कहिले भारत त कहिले नेपाल गरिरहेका छन् । उनैसँग भएको जम्काभेटपछि गरिएको कुराकानी उनकै शब्दमा…

म मुम्बईको फुटपाथमा सामान बेचिरहेको थिएँ, २०५६ पुस १५ पुस गते दिउँसोतिर । थानामा काम छ भन्दै प्रहरीले पक्रियो । धेरै पछि मात्र थाहा भयो, मुम्बई प्रहरीको क्राइम ब्रान्चले मलाई थुनेको रहेछ । चार–पाँच दिनपछि पत्रकार सम्मेलन गरेर प्रहरीले जोगेश्वरी (मुम्बई)को अपार्टमेन्टबाट विष्फोटक पदार्थ र घातक हतियारसहित पक्राउ गरेको भनेर प्रचार ग¥यो । मलाई आतंककारी गतिविधिमा लागेको भन्यो ।

थाना पुगेपछि प्रहरीले रेडिमेड कागजपत्रमा सही गराए । कुनै सोधपुछ पनि गरेनन् । कागजमा के छ भनेर सोध्दा उल्टै किन चाहियो भनेर कुटे । कानमा फलामको रड घोचेर करेन्ट पनि लाउँथे ।

सुरुमा बैंक र कार डकैतीको आरोप लगाएर मुद्दा चलायो । त्यो लुटेको पैसा र कार जहाज अपहरणका लागि आतंककारी काममा प्रयोग गरेको आरोप लगाएको थियो । धेरै कुटाइ र करेन्ट खाएपछि बाध्य भएर उनीहरुले सही गर्नू भनेको ठाउँमा सही गरेँ । अपराध स्वीकार गरेको बयानमा त्यसरी मलाई सही गर्न लगाएको रहेछ । धेरै पछि मात्र थाहा भयो । मैले त्यस्तो बयान नै दिएको थिइनँ । मलाई त्यस्तो सोधपुछ पनि गरिएको थिएन । हिन्दी भाषामा लेखिएका कागजात पढ्न पनि आउँदैनथ्यो । यातनाको डरले मात्र मैले सही गरेको थिएँ ।

nepali
प्रहरीले तीनचार महिना आर्थर रोड, मुम्बईको सेन्ट्रल जेलमा राख्यो । पछि सीबीआई (सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरो) को हेडक्वार्टर दिल्ली पु¥यायो । त्यहाँ पनि त्यस्तै कागजपत्रमा सहीछाप गर्न लगाए । भनेको नमाने बेस्कन लात्तीले पिट्थे प्रहरीले । नाकमुखबाट रगत बग्थ्यो ।
विमान अपहरणकारीलाई काठमाडौंमा डेरा र हतियारको बन्दोबस्त गरिदिएर अपहरण योजनामा सामेल भएकोे भन्दै सीबीआईले जिल्ला अदालत पटियाला हाउसमा मुद्दा चलायो ।

मुम्बईको आर्थररोड जेलमा मलाई सुरुका तीनचार महिना र पछि बिचको समयमा साढे तीन वर्ष राखे । सेन्ट्रल जेल पटियालामा ११ वर्ष जति राखे ।
अँधेरो कोठामा एक्लै बस्नुपथ्र्यो । दिनरात केही थाहा हुँदैनथ्यो । गनाउने, फोहोर, बिच्छी, उपियाँ, उडुस उस्तै । चिसो भुइँमा सुत्नुपथ्र्यो । जाडोमा जाडोले मर्ने अवस्था आउँथ्यो । गर्मीमा जिउ नै पाक्थ्यो । झिंगाले उस्तै सताउँथ्यो ।

कैदीकैदीको झगडा भइरहन्थ्यो । प्रायः नशालु पदार्थका कारण झगडा हुन्थ्यो । प्रहरी र जेलका कर्मचारी नै मिलेर यस्तो नशालु पदार्थको कारोबार गर्थे ।
पटियाला जेलेको बत्तीस चक्के भन्ने ठाउँमा राख्यो । जेलभित्रको सबैभन्दा खराब ठाउँ हो यो । मलाई सरसफाइ गर्न, झारबढार गर्न, पुछपाछ गर्न लगाउँथे । बिहान जतिसुकै जाडो भए पनि काम गर्नुपथ्यो । बिहानै पानी बोक्न लगाउँथे । टाढाटाढाबाट पानी बोक्नुपथ्र्यो, जेलभित्रै । भुइँ पुछ्नुपथ्र्यो । चिया, रोटीको बन्दोबस्त गर्नुपथ्र्यो ।

जेलभित्रका प्रहरी र कर्मचारीलाई बेलाबेलामा नजराना टक्र्याउनुपथ्र्यो । चियाखर्च चाहियो भन्दै बेलाबेलामा थर्काउँथे ।
जेलभित्रै खेतीपातीको काम गर्नुपथ्र्यो । नियमतः काम गरको पारिश्रमिक दिनुपर्छ । अरु बन्दीहरुले पैसा पाउँथे । तर मलाई सोझो ठानेर हेप्थे । आलु, मूला रोपेको पैसा पनि दिएनन् । लुगा बनाउने कारखानामा काम गरेको पैसा पनि दिएनन् । दिनको कम्तीमा ३० रुपियाँ मिल्नुपर्ने हो । मैले त्यत्रो दुःख गरेर पाउने पसिनाको कमाइ पनि जेलका कर्मचारीले आफै मिलेर खाए ।

जेल बस्दा म एक दिन पनि खाली बसिनँ, बिरामी हुँदाका केही दिनबाहेक । तर, अदालतले निर्दोष भनेर छाडेपछि घर फर्कँदा क्षतिपूर्ति त परै जाओस्, मेरो आफ्नै कमाइ पनि दिएनन् ।
खानेकुरा पनि कहिल्यै राम्रो दिएनन् । न ठाउँ राम्रो, न व्यवहार राम्रो, न खानेकुरा । रोटी र दाल मात्रै मिल्थ्यो । कुहिएको, किरा परेको दाल र पीठो सम्झिँदै पनि बान्ता आउलाजस्तो हुन्थ्यो । तर, के गर्नु ? कति दिन भोको बस्नु ?

यसरी मलाई साढे १४ वर्ष बिनाअपराध जेलमा सडाइयो । चर्को यातना दिइयो । मेरो निजी र पारिवारिक जीवन मात्र होइन, सामाजिक जीवन समेत सखाप पारियो । अहिले म रोगी छु । अशक्त छु । सहाराविहीन छु । मेरो सारा जवानी भारतीय प्रहरी र प्रशासनले जेलमा सडाइदियो । तर, अहिले अदालतले निर्दोष भनिसकेपछि पनि कुनै क्षतिपूर्ति दिएन । गल्ती भो भनेर माफी माग्नु त परै जाओस् । तन्नेरी छँदा मलाई प्रहरीले समाएको थियो । अहिले निस्कँदा ५२ वर्षको भएँ । उमेरले ५२ भए पनि मेरो शारीरिक अस्वस्थता र अशक्तताका कारण ८० वर्षको जस्तो लाग्छ । म कहाँ जाऊँ ? कोसँग मेरो पीडा भनूँ ? मेरो कुरा कसले सुनिदिन्छ ? मैले यो जुनीमा त कसैको कुभलो चिताएको थिइनँ । कुन जुनीको पाप अहिले लागेको हो मलाई ? हरे दैव, मैले कहिलेसम्म यसरी बाँच्नुपर्ने हो ?

प्रस्तुती : भुवन क्षेत्री


  •  
  •  
  •