देखाएकै भरमा कहाँ चलिन्छ र?

435
  •  
  •  
  •  

प्लस टू सकाएर बसेकी थिइन्, सबिना कार्की। सिन्धुलीमा जन्मेहुर्केकी सबिना काठमाडौँ आएको केही वर्ष भइसकेको थियो। स्नातक पढ्न सुरु गर्दा उनले आफूमा हिरोइन बन्नुपर्ने केही आधार पनि विकास गरेकी थिइन्।
अहिले पनि एकथरी दर्शक यस्ता छन्, जसले आकर्षक ज्यान देखेकै भरमा कुनै पनि युवतीलाई हिरोइनका लागि योग्य भएको घोषणा गरिदिन्छन्। फिल्मकै पर्खाइमा रहेकी सबिनाले केही महिना डान्स सिकेकी थिइन् भने केही भिडियोमा अभिनय पनि गरेकी थिइन्।
उनले अभिनय गरेको म्युजिक भिडियोको चर्चा नभए पनि फिल्मसम्बन्धी कार्यक्रममा हुने उनको उपस्थितिमाथि टिप्पणी हुने गर्थे। पोटिलो ज्यान देखाउनकै लागि छोटो लुगालाई विशेष महŒव दिने सबिना केही निर्देशकका नजरमा परिन्।
यही क्रममा उनको आँखा जुध्यो, निर्देशक शोभित बस्नेतसँग। उनीहरूको कुरा ठ्याक्कै मिल्यो। ठ्याक्कै यस अर्थमा कि, ‘दुलहीरानी’ नामक फिल्म बनाउने तयारीमा रहेका शोभितले भनेजस्तै हिरोइन पाए भने सबिनाले पनि भनेजस्तै निर्देशक। शोभितको फिल्ममा काम गर्ने हिरोइनलाई एउटा कुरामा फाइदा हुन्छ। फिल्म फ्लप भए पनि हिरोइन फ्लप हुँदैनन्।
‘दुलहीरानी’ रिलिजपछि सबिनाले थाहा पाइन्– अरूले भनेको सूत्र सही रहेछ । ज्यान अलिकति देखाएपछि सजिलै चर्चामा आइँदो रहेछ। अर्को फिल्म ‘एटीएम’मा अनुबन्ध भएकी सबिनाले सम्भवतः प्रतिज्ञा गरिसकेकी थिइन्– चर्चामा आइन्छ भने नांगै हुन पनि लाज मान्नु हुँदैन।
jiya kc
उनले गरिन् पनि त्यस्तै। उनीसहित जिया केसी, सोनिया शर्मा र दिनेश थापाले अभिनय गरेको फिल्म‘एटीएम’ प्रदर्शन नहुँदै यति धेरै बदनाम भयो। तर, उनीहरूले आफ्नो बदनामीलाई स्विकारेनन्। उल्टै गर्वसाथ भन्दै हिँडे, ‘हामीले अहिलेका तन्नेरी पुस्ताको भावनालाई फिल्ममा उतारेका छौँ।’ सबिनाको भनाइको पक्षमा थिइन् सोनिया शर्मा पनि। तर, छोटो लुगा लगाएर, केही अश्लील संवाद बोल्दै क्यामेराअगाडि प्रस्तुत हुँदैमा दर्शकको आँखामा परिन्छ भनेर सोच्नेहरू फिल्म हेरेर रमाउने दर्शकको आँखामा पर्न सकेनन्। निर्माता छवि ओझाका अनुसार फिल्म लाइनको वास्तविकता नबुझी प्रवेश गर्नेहरूका कारण राम्रा ब्यानरका निर्मातालाई समेत अप्ठ्यारो परेको छ। ‘एउटा खराब फिल्म हलमा लागेपछि अरू तीनटा राम्रो फिल्मको व्यापारमा समेत असर पर्छ,’ छवि भन्छन्।
आधा दर्जनभन्दा बढी फिल्ममा नग्न देह प्रस्तुत गरेर पनि चर्चामा आउन नसकेपछि जिया केसीको विषयमा अर्को हल्ला चल्यो– अभिनेता भुवन केसीसँग ‘लिभिङ टुगेदर’मा रहेको। तर, अहिले जियाको अत्तोपत्तो छैन। भुवनले पनि जियाका बारेमा आफू अनभिज्ञ भएको प्रतिक्रिया दिए। चर्चामा आउनका लागि हिरोइनहरूले आफ्नो नाम जोडेको भन्दै उनले भने, ‘खै, जिया कहाँ छे? थाहा छैन। मसँग भेट नभएको चार महिनाभन्दा बढी भयो।’
जियाले ‘युज’, ‘एटीएम’, ‘बर्बाद’ लगायत फिल्ममा काम गरिन्। ती फिल्मका प्रोमो धेरै दर्शकले हेरे पनि उनको अभिनलाई लिएर धेरैले नकारात्मक प्रतिक्रिया दिए।
‘एटीएम’मा जियासँगै काम गरेकी सोनिया शर्मा पनि जियाकै पथमा थिइन्। उनको हालत त जियाको भन्दा पनि खराब भयो। त्यसपछि अन्य कुनै पनि फिल्ममा मौका पाइनन् उनले।
पहिलो फिल्म ‘सिलसिला’ मा राज तिमल्सेनासँग चुम्बन गरेर चर्चामा आएकी सोनिया केसीको फिल्म हेर्नेहरूले उनको भविष्य राम्रै भएको प्रतिक्रिया दिएका थिए। अभिनय राम्रै गर्ने सोनियाले अंग प्रदर्शनलाई मात्रै महŒव नदिएको भए उनको आयु अलि बढी हुन पनि सक्थ्यो। तर, उनले पनि अंग प्रदर्शनलाई नै सजिलो हतियार बनाइन्। नतिजा– अहिले उनी गुमनाम छिन्।
एक दशकअघि नै नेपाली फिल्ममा अंग प्रदर्शन गरेर हिरोइनहरूले चर्चामा आउने उपाय अपनाएका थिए। विभिन्न कालखण्डमा ‘ज्यान सुन्दरी’ आए, गए। एक दशकअघि तुलसा सिलवाल, सुमी खड्का, किरण डीसी,निलु रायमाझी, वर्षा खड्का पनि ज्यान देखाएपछि हिट होइन्छ भनेर आएका थिए। तर, सुटुक्कै हराए। अहिले उनीहरू कहाँ र कुन अवस्थामा छन्, कसैलाई थाहा छैन।
अंग प्रदर्शन गर्ने कुनै पनि हिरोइनलाई चर्चामा आउन सजिलो हुन्छ। सिनेमामा गरिएको अंग प्रदर्शन र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा लगाएको छोटो डे्रसमा मिडियाको आँखा गइहाल्ने हुँदा कतिपय हिरोइनले यही शैलीलाई अंगाल्ने गरेका छन्।
तर, यो शैली दिगो होइन भन्ने ज्ञान ती हिरोइनमा छैन। हिरोइनमात्रै होइन, सस्ता फिल्म बनाए पैसा कमाइन्छ भन्ने मान्यता राख्ने निर्देशकका कारण पनि हिरोइनहरूले लुगा खोल्ने काममा कञ्जुस्याइँ गर्न छाडेका छन्।
विनिताले देखाएको बाटो
binita
‘चपली हाइट’ रिलिज भएपछि अभिनेत्री विनिता बरालको धेरैले आलोचना गरे। विनिताले अंग प्रदर्शन गरेरै चर्चामा आउन खोजिन् भन्नेहरू धेरै थिए। तर, उनको अंग प्रदर्शनलाई निर्देशक दीपेन्द्र के खनालले राम्रै ढाकछोप गरे। उनले भनेका थिए, ‘यो विनिताको अंग प्रदर्शन होइन, विषयवस्तुको माग हो।’
निर्देशक खनालको भनाइमा किन पनि सहमत हुन सकिन्छ भने साँच्चै विनिता अंग प्रदर्शनमै रमाउन चाहन्थिन् भने नेपाली फिल्म उद्योगमा उनका लागि मैदान खाली थियो र थप दर्जन फिल्ममा उनको नांगो ज्यान खिचिन्थ्यो। तर, उनले ज्यान देखाउने कार्यलाई चटक्कै छाडिदिइन्। अहिले तरकारी खेती र गाईपालनमा रमाएकी छिन् उनी।
जसको आयु सकियो
sushma karki
नांगो ज्यानकै कारण केही फिल्म खेलेर तहल्का पिटेकी सुषमा कार्की सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा पनि आफ्नो ज्यान देखियोस् भन्ने तरिकाले प्रस्तुत हुन्थिन्।
उनले अभिनय गरेका फिल्मका पोस्टर पनि उस्तै उत्तेजक हुन्थे। तर, अहिले उनका उत्तेजक भंगी अर्काइभमा मात्र सीमित हुन थालेको छ। नयाँ निर्देशकले त उनलाई लिन छाडे नै, पुराना भनिनेले पनि उनलाई अभिनय प्रस्ताव राख्न छाडेका छन्।
अर्की नायिका जेनिशा केसी पनि सुषमाकै पथमा थिइन् एकताका। ‘निगरानी’ लगायत केही फिल्ममा अभिनय गरेकी जेनिशाले पनि छोटो लुगा लगाएर क्यामरासामु प्रस्तुत भएपछि चर्चामा आइन्छ भन्ने सोच राखेकी थिइन्। अहिले उनको योजना यसरी तुहियो कि एक दर्जन फिल्ममा काम नगर्दै निर्देशकले उनलाई बिर्सिए। विनिता घिमिरे, महिमा सिलवाललगायत केही नायिका पनि नांगो ज्यान देखाएर माथि जाने सपना देख्दै छन्। तर, आफूले देखेको सपना तुहिइसकेको अहिलेसम्म भेउ पाएका छैनन् उनीहरूले।
तन्नेरी पुस्ताको हवाला
सस्तो फिल्म बनाउने धेरै निर्माताले अहिले ‘युवा पुस्ता’ भन्ने शब्दलाई जोडतोडका साथ प्रस्तुत गरेका छन्। स्वयं तन्नेरी पुस्ताका दर्शकको रुचि त्यस्ता फिल्मप्रति छैन भन्ने भेउ अझै पाएका छैनन् उनीहरूले।
निर्देशक उज्ज्वल घिमिरेका अनुसार अहिलेका तन्नेरी पुस्ताका दर्शक केबल यौनमा रमाउँदैनन्। ‘उनीहरू विज्ञान र प्रविधिका विषयमा भएका चमत्कार हेर्न चाहन्छन्,’ घिमिरेले भने।
अर्का निर्देशक निश्चल बस्नेतको भनाइ अलि फरक छ। ‘हामी प्रविधिमा पोख्त फिल्म बनाउन सक्दैनाँै,तसर्थ आफ्नै कथा खोज्नुपर्छ,’ उनको बुझाइ छ। नेपाली फिल्मलाई समाजसँग जोड्न सक्यो भने फिल्म चल्छ भन्ने बस्नेत यौन युवाको हकमा नगन्य विषय भएको धारणा राख्छन्।
‘लुट’ को गुदी नबुझ्दा
निश्चल बस्नेत निर्देशित ‘लुट’ ले धेरै निर्देशकलाई चकित बनायो। फिल्म हलमा लाग्दासम्म यस्तो पनि फिल्म हुन्छ भन्दै लुट युनिटलाई गाली गर्दै बसेका फर्मुला निर्देशकहरू दोस्रो हप्ता केही हतास मनस्थितिमा देखिए।
फिल्ममा दर्शकको भीड यस्तो लाग्यो कि आफूलाइ नेपाली फिल्मका ठेकेदार ठान्ने निर्देशकले कल्पनै गरेका थिएनन्। जब ‘लुट’ हेर्ने दर्शकले वाह! वाह! गरेको थाह पाए, उनीहरूले ‘फिल्म त लुटजस्तै बनाउनुपर्ने रहेछ’ भन्ने निष्कर्ष निकाले।
उनीहरूले ‘लुट’ जस्तै बनाउने योजना त बनाए। तर, ‘लुट’कै शैली भने कसैले सिको गर्न सकेनन्। ‘लुट’ का केही पात्रले बोलेका संवाद टिपेरै फिल्म बनाउन थाले । त्यसरी बनाइएका एउटै फिल्म नचलेपछि मात्रै उनीहरूले थाहा पाए– ‘लुट’ बनाउन साँच्चै दिमाग चाहिने रहेछ।
नागरिक शुक्रबारबाट

  •  
  •  
  •  

Comments are closed.