काठमाडौं, २१ जेठ (ओएनएस) : नेपाली क्रिकेट टिमका प्रशिक्षक पुपुदु दासानायके घर फर्किएका छन् । उनी बुधबार आफ्नो घर क्यानडा फर्केका हुन् ।
क्यानले पछिल्लो पटक थपेको करार अवधि सकिन २ हप्ता बाँकी रहँदै उनी ‘अब नेपाली टोली नसम्हाल्ने गरी’ घर फर्किएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सायद अब प्रशिक्षक बनेर आउँदैन होला ।’ उनले एक वर्षका लागि जिम्मेवारी दिएपछि भने फर्कन सक्ने संकेत गरे । उनलाई विदाई गर्न नेपाली टिमका सहायक प्रशिक्षक दीपक टमटा विमानस्थल पुगेका थिए ।
नेपाली क्रिकेटलाई विश्व सामु चिनाएको जस पाएका दासानायाके सन् २०११ देखि नेपाली टिमको प्रशिक्षक रहेका थिए । एसीसी प्रिमिर लिगमा सहभागिता जनाउँदा क्यानले ३ महिनामात्र करार अवधि थपेको थियो । वंगलादेशमा टि–ट्वान्टी विश्व कप खेलेर स्वदेश फर्किएको नेपाली टोलीले घरेलु प्रतियिोगिता नै बहिस्कार गरेर क्यान भित्रको भद्रगोलको विरोध गरेका थिए । खेलाडीकै दबाबमा क्यान त्यतिबेला दासानायकेको करार अवधि एक वर्ष थपन तयार भएको थियो । तर, करार थप्ने बेला भने ३ महिनाको मात्र थपियो ।
श्रीलंकाली मुलका दासानायके नेपाली टिमका सबैभन्दा सफल प्रशिक्षक हुन् । उनकै पालमा नेपाल डिभिजन २ मा उक्लिएर एक दिवसिय विश्वकपको छनोट चरणसम्म पुगेको थियो भने, टि–ट्वान्ट िविश्वकप नै खेल्यो ।