कांग्रेसमा संसदीय दलको नेता छान्न विधान संशोधन गरिने

234
  •  
  •  
  •  

काठमाडौँ, १४ चैत(ओएनएस) : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्नका लागि विधान संशोधन गर्ने भएको छ । दलको नेता चयन प्रक्रिया र विधान संशोधन अघि बढाउनका लागि आज बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन समितिको बैठक बस्दैछ ।

दलको विधान परिर्माजन गरिएपछि संसदीय दल निर्वाचनको टुंगो लाग्नेछ । निर्वाचन समितिको बैठकले निर्वाचन तालिकाका साथै संविधानको व्यवस्था अनुसार विधान संशोधन प्रक्रिया अघि बढाउनेछ ।

नयाँ संविधानको व्यवस्थाविपरीत संसदीय दल र कार्यसमितिमा विकास क्षेत्रका आधारमा सदस्य निर्वाचित गर्ने व्यवस्था छ । कांग्रेस संसदीय दलको विधानअनुसार दलका नेतासाथै पाँच विकास क्षेत्रबाट एक–एक जनाका दरले पाँच जना र समावेशीतर्फबाट १२ जनासहित दलको कार्यसमितिमा १७ जना छनोट गर्ने व्यवस्था छ ।

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको नेताको चुनाव गराउन रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ


  •  
  •  
  •