तीन घण्टा प्रहरीको नियन्त्रणपछि छुटे पौडेल, प्रमलाई देउवाको प्रश्न–बिनाकारण किन पक्रेको ?

75
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेपछि रिहा गरेको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको थियो। पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई हिरासतमा लिएको जानकारी गराएका थिए। प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका कांग्रेस नेताहरूले चर्को विरोध जनाएका थिए। तनहुँमा पुल उद्घाटनमा कांग्रेस र युवासंघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरी गरिएको थियो। सो निषेधाज्ञा उल्लंघन गरेको भन्दै पौडेललाई पक्राउ गरेको हो।

व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो।

यसैबीच वरिष्ठ नेता पौडेललाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति रोष प्रकट गरेका छन्। देउवाले प्रधानमन्त्री ओलीविरुद्ध रोष प्रकट गरेका हुन्। सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेर बिना कारण पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरी पक्राउको कारणबारे जिज्ञासा राखेका थिए। कांग्रेस सरकारकै समयमा पुल बनेको र बजेट विनियोजन गरिएको स्मरण गराउँदै सभापति देउवाले आफ्ना नेता कार्यकर्तामाथि ज्यादतिपूर्ण व्यवहार नगर्न चेतावनीसमेत दिएका थिए। देउवाले फोन गरेको केही समयपछि नै प्रहरीले पौडेललाई छोडेको थियो।


  •  
  •  
  •