कांग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै

58
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ।


कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक डाकेको छ। उक्त बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक राखेका हुन्।
क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ। एकलौटी ढंगले महाधिवेशन नजिकिएका बेला सभापति देउवाले गठन गरेका विभाग खारेज गर्न उनीहरूले माग गरेका छन्।

तर देउवा पक्षले त्यो माग स्वीकार गरेको छैन। विभाग गठन केही ढिला भए पनि विधानविपरीत नभएको देउवा पक्षको अडान छ। कांग्रेसमा प्रवेश गरेका विभिन्न पार्टी र नेतालाई देउवाले तोकआदेशका भरमा क्रियाशील सदस्यता दिएको भन्दै पौडेल पक्षले त्यो पनि सच्याउनु पर्ने माग गरेका छन्।

पार्टी प्रवेश गरेका अरू पार्टीबाट आएका केन्द्रीय नेतालाई केन्द्रबाटै क्रियाशील सदस्यता दिए पनि ती पार्टीका कार्यकर्तालाई भने कांग्रेसको स्थानीयस्तरकै पार्टी संरचनाले क्रियाशील सदस्यता दिनुपर्ने पक्षमा पौडेल छन्।

कात्तिक १७ गते विवाद मिलाउन बसेको शीर्ष नेता बैठक निष्कर्षविहीन सकिएको थियो। यसअघि सांसद सूर्यबहादुर केसीको निधनपछि रोकिएको शीर्ष नेता बैठक आज फेरि बस्न लागेको हो ।


  •  
  •  
  •