कांग्रेसले भन्यो, ‘डा.केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्री ज्यू’

132
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द के.सी.अनशनमा बसेको २४ दिन पुग्दा समेत वार्ता समिति सम्म गठन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई गम्भीर प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’

उनले कांग्रेसको पालामा डा. के.सी. अनशन बस्दा, वार्ता गरिएको, कयौं माग पूरा गरिएको स्मरण गराएका छन् । । विज्ञप्तिमा भनिएको छ,‘चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए । तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुव्र्यवहार देखि, सत्ताको अहंकार सम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।’

डा.के.सी.को स्वास्थ स्थिति जटिल बन्दै गएको भन्दै कांग्रेसले वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू भन्दै ध्यानाकर्षण गराएको छ ।
कांग्रेले भनेको छ, ‘हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. के.सी.को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’

 


  •  
  •  
  •