कांग्रेसमा दलको नेताको चुनावबारे विवाद

202
  •  
  •  
  •  

काठमाडौं ।
प्रमुख प्रतिपक्षी कांग्रेसमा दुई पक्षको विवादका बीच संसदीय दलको नेताको चुनाव चैत २४ मा गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकद्वारा गठित तीन सदस्यीय निर्वाचन समितिको बहुमतले दलको नेताको चुनावको मिति तय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन समितिमा नयाँ संविधानअनुसार संसदीय दलको कार्यसमिति प्रादेशिक संरचनाअनुरूप निर्वाचन हुने गरी दलको विधान संशोधन नभएसम्म नेताको चुनाव गर्न नहुने अडान राखेको छ ।

निर्वाचन समितिमा सदस्य रहेका पौडेल पक्षका गुरुराज घिमिरेले बहुमतको निर्णयमा लिखित असहमति जनाएका छन् । पौडेल समूह संघीय संरचनाअनुसार दलको विधान संशोधन गरेपछिमात्र दलको नेताको चुनाव हुनुपर्ने अडानमा छ ।

घिमिरेले निर्वाचन समितिमा नयाँ संविधानअनुसार संघीय संरचनाअनुरूप दलको कार्यसमिति चयन हुने व्यवस्था राखी विधान संशोधन नगरेसम्म नेताको चुनाव गर्न नहुने अडान राखेका थिए । दलको विधानलाई संघीय संरचनाअनुरूप नबनाई नेता र कार्यसमिति कसरी चयन हुन सक्छ भन्ने प्रश्न घिमिरेको थियो ।

निर्वाचन समितिका संयोजक रमेश रिजाल र सुरेन्द्र पाण्डेले भने नेताको चुनाव गराउन संसदीय दलको विधान संशोधन गर्नु जरुरी नरहेको दाबी गर्दै बहुमतबाट निर्वाचनको तिथि गरेका हुन् । रिजाल र पाण्डे दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

समितिका सदस्य सुरेन्द्र पाण्डेले दलको नेताका लागि चैत २३ गते मनोनयन दर्ता गर्ने र २४ गते चुनाव गराउने कार्यक्रम तय गरिएको जानकारी दिए । संसदीय दलका नेता सुशील कोइरालाको निधन भएपछि कांग्रेसमा उक्त पद रिक्त छ ।

निर्वाचन समितिले संसदीय दलको कार्यसमितिको निर्वाचनको मिति भने चैत २६ मा गर्ने कार्यक्रम तय गरेको छ । पाण्डेले दलको कार्यसमितिका लागि चैत २५ मा मनोनयन दर्ता गर्ने दिन तोकिएको जानकारी दिए ।
कान्तिपुरबाट


  •  
  •  
  •