कांग्रेसभित्र नेतृत्वको कसरत सुरु

117
  •  
  •  
  •  

काठमाडौं ५ असोज ।
जब केन्द्रीय समिति बिस्तार हुँदा एक शब्द पनि सोधिएन, तब कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाको ‘मूड’ फेरि एकाएक तात्न पुगेको छ । ‘सबै एकलौटी गर्ने हो भने म किन मौन रहने ?’ यतिखेर निकटवर्तीहरुसँग भेटमा देउवा यसरी आक्रोश पोख्दैछन् । देउवाको निस्कर्ष छ- ‘मेरो मौनतालाई गलत अर्थले व्याख्या गरियो ।’

केही समययता देउवाले कोइरालासँग ‘खुला किचकिच’ नगर्ने नीति अपनाएका थिए । अर्थात्, उनी ‘विना शर्त’को समर्थनमा थिए । तर आपmनो कार्यकाल पूरा हुन चार दिन बाँकी रहँदा भदौ ३० मा कांग्रेस सभापति सुशील कोइरालाले केन्द्रीय समितिलाई पूर्णता दिए, तर त्यसमा बरिष्ठ नेता देउवासँग सामान्य परामर्श समेत नगरिएपछि आक्रोश चुलिएको हो । देउवा निटकवर्तीहरुसँग भन्दैछन्- ‘विना शर्तको सहयोगलाई कमजोरीका रुपमा लिइयो । अब मौनता साँध्नुको अर्थ छैन ।’

राजदूत, संवैधानिक अंग र अन्य महत्वपूर्ण नियुक्तिका सवालमा कोइरालाबाट त्यही नीति अख्तियार हुन सक्ने आँकलन गर्दै अब प्रतिकार गर्ने सूरमा छन् । समूहका अरु नेताहरुले पनि देउवालाई ‘मौन बस्नुहुन्न’ भन्ने दबाब दिइरहेका छन् । असन्तुष्टि जाहेर गर्नकै निम्ति देउवा पछिल्लो केन्द्रीय समितिको बैठकमा उपस्थित भएनन् ।

सात वर्षयता कांग्रेसमा पार्टी ‘साठी/चालिस’को भागबण्डा संस्थागत बनिसकेको थियो । संस्थापन र देउवा पक्षका सबै विवाद यहिँ भागबण्डामा आधारमा मिल्ने गरेका थिए- पार्टीको टिकट वितरण, समानुपातिक सभासद् चयनदेखि मन्त्री बनाउँदासम्म । जबजब भागबण्डा नीति विचलित हुन पुग्छ, तबतब पार्टीभित्र ह्वात्तै विवाद चुलिन पुग्छ । त्यही नियमित श्रृंखला हो-पछिल्लो केन्द्रीय समिति बिस्तार पनि ।

त्यसो त, चार वर्षसम्म केन्द्रीय समिति बिस्तार गर्न नसक्नुमा कोइरालाको चरम अक्षमता नमूना मान्नुपर्छ । किनभने पार्टीको विधानले महाधिवेशन सकिएको दुई महिनाभित्र केन्द्रीय कार्यसमिति र पार्टीका अन्य समितिलाई पूर्णता दिनुपर्ने व्यवस्था छ । विधानको पूर्णतः अपहेलना भयो । पार्टी महाधिवेशन एक वर्षपछि गर्ने घोषणा सँगसँगै कोइरालाले केन्द्रीय सदस्य र स्थायी आमन्त्रित सदस्य मनोनित हुन पुगे ।

महाधिवेशन घोषणा भइसकेपछि बिस्तार गर्दा विरोध आउने सम्भवानाका कारण रातारात सदस्य थप भएको थियो । अझ स्थायी आमन्त्रित सदस्य राख्ने प्रावधान नहुँदा नहुँदै पनि सदस्य थपिएका छन्- विधान विपरित । ‘विगतमा सहमति अनुरुप पार्टी चल्थ्यो, तर पछिल्लो केन्द्रीय समिति बिस्तारमा देउवासँग सरसल्लाह वा सहमति केही भएको छैन’ सहमहामन्त्री पूर्णबहादुर खडका भन्छन्- ‘अझ स्थायी आमन्त्रित सदस्य राखिएको छ, यसले विधानको ठाडो उल्लंघन गरेको छ ।’

चार वर्षको अवधिमा पार्टी लथालिंग पारेको र बेथिति चर्काएको विषय आउँदो जिल्ला अधिवेशन र पार्टी महाधिवेशन क्रममा ‘मुद्दा’को रुपमा लैजाने खडकाले बताए । खडा देउवा निकट पार्टी पदाधिकारी हुन् । कांग्रेसको विधानमा कुनै छलफल वा बैठकमा विज्ञ व्यक्तिहरुलाई आमन्त्रित सदस्यको बोलाउन सकिने भएपनि स्थायी रुपमै राख्ने व्यवस्था छैन ।

उता २७ सदस्यीय कार्यसम्पादन समितिले अझै पूर्णता पाएको छैन । एकातिर विधानतः व्यवस्थित कार्यसंपादन समिति नबन्ने, अर्कातिर विधानमै नभएको ‘पदाधिकारी बैठक’को नयाँ प्रचलन कांग्रेसमा भित्रियो । ‘अनुशासन र विधान अनुरुप’ भन्ने सुशील कोइराला ‘थेगो’ थियो । तर विधान विपरित ‘पदाधिकारी बैठक’ले बढावा पाएको विषयले कांग्रेसभित्र चर्काे आक्रोश निम्त्याएको छ ।

‘आकस्मिक केन्द्रीय समिति बिस्तार’ कांग्रेस महामन्त्री प्रकाशमान सिंह भन्छन्- ‘पार्टी सभापतिको विशेषाधिकार हो ।’ र, थप्छन्- ‘सभापतिले विशेषाधिकार प्रयोग गर्नुभएको छ, त्यसमा पनि पार्टीकै निम्ति अहोरात्र खटेका युवा नेताहरुलाई प्राथमिकता दिनुभएको छ । यस्तो नियुक्तिको विरोध गर्नुको तूक छैन ।’

समकालीन औसत नेताको तुलनामा सभापति कोइरालाको छवि निस्कलंक छ । तर उनी साँघुरो गुटीय मनस्थिति भन्दा बाहिर निस्की पार्टी र सरकारमा नेतृत्व दिन सक्षम नदेखिएको टिप्पणी कांग्रेसी नेताहरुको छ । ‘उनको भूमिका पनि महामन्त्री र कार्यबाहक सभापतिको भन्दा माथि उठ्न सकेन’ एक नेता भन्छन्- ‘त्यसभन्दा पृथक उनले सभापति भएपछि देखाउन सकेनन ।’

हो, राजनीतिक जीवनमा धेरै समय सुशील कोइराला ‘निर्णय कार्यान्वयन’मा लडिरहे- वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मका । यतिखेर उनी ‘निर्णय’ तहमा छन्, त्यहीकारण निर्णयमा अधिक ढिलाई हुन्छ । ‘उनले त भाग्य र बिरासतले खाएका हुन्’ कांग्रेसका एक पदाधिकारी भन्छन्- ‘उनीबाट धेरै आशावर्द्धक निर्णय हुन्छ भन्ने अपेक्षा राख्नु हाम्रै मूर्खता हो ।’

गत संविधानसभा चुनावसँगै फेरि कांग्रेस मुलुकको ठूलो दल बन्यो र सरकारको नेतृत्व गर्ने अवसर पायो । त्यसलाई ठूलो उपलब्धि ठान्नेहरु पनि कांग्रेसका छन् । त्यसको ‘जश’ पार्टी सभापतिको नाताले सुशील कोइरालालाई दिइयो । ‘तर त्यो कांग्रेसको बिस्तारको कारणले होइन’ केन्द्रीय सदस्य शेखर कोइराला भन्छन्- ‘कांग्रेस राम्रो संगठनको कारण नभएर अरु दलको अकर्मन्यताका कारण भएको हो, त्यसको समीक्षा नभएको मात्र हो । कांग्रेसको सकारात्मक भन्दा अरु दलप्रतिको नकारात्मक मत कांग्रेसले पाएको हो ।’

कोइराला प्रधानमन्त्री भएपछि पार्टीको जिम्मेवारी अरु कसैलाई दिएको भए यति धेरै विवाद आउने थिएनन् । ‘हामीले उतिबेलै उहाँलाई यो सुझाव दिएका थियौं’ शेखर भन्छन्- पार्टी सभापति, दलको नेता र प्रधानमन्त्री तीनै पद स्वास्थ्य र व्यस्तता हिसाबले सक्नुहुन्न । तर उहाँले कार्यवाहक दिन चाहनु भएन ।’

कोइराला फेरि उपसभापति रामचन्द्र पौडेललाई आदेश दिंदै अमेरिका हिंडेका छन्- ‘आवश्यकता अनुरुप काम गर्नुस् र पार्टीको बैठक सञ्चालन गर्नुस् ।’ त्यो पनि लिखित होइन, मौखिक मात्र । कोइरालाको त्यही आदेशअनुरुप असोज ५ मा हुने केन्द्रीय समितिको बैठक पौडेलले सञ्चालन गर्नेछन् ।

नेतृत्वकांक्षीसँगै उत्पन्न विग्रह

घोषित तेह्रौं महाधिवेशनसँगै नेतृत्वका आकांक्षीहरुले पार्टीमा आन्तरिक राजनीतिक चर्काएका छन् । कांग्रेस गुटबन्दी र विग्रहको नयाँ स्वरुप देखापर्ने सम्भवाना बढै गएको छ । कांग्रेसमा संस्थापन अर्थात् कोइराला र विरोधी अर्थात् देउवा पक्ष स्थापित दुई गुटीय धार हुन् । तर अब स्वास्थ्यका कारण कोइराला अब तेह्रौं महाधिवेशनको मैदानमा उत्रदैनन् कि भन्ने आँकलन बढेको छ ।

त्यसमा पनि कांग्रेस तेहौं महाधिवेशन ‘ध्रुवीकरण’ धेरै हदसम्म कोइरालाकै स्वास्थ्यमा निर्भर छ । कोइराला परिवारका केही सदस्य लगायत निकटवर्तीहरु फेरि उनैलाई ‘दोर्‍याउने’ प्रचारमा लागेका छन् । उनको आफ्नै चाहना पनि कांग्रेसको ‘विरासत’ कोइराला परिवारमै सुम्पने हो । उनी निकटवर्तीहरु रटान लगाइरहेका छन्- ‘सुशील कोइरालाले क्यान्सरलाई नै खाइसक्नुभएको छ, म पुर्ण स्वस्थ्य भएर भावी सभापति पनि बन्नेछन् ।’

खासमा कोइरालाले पौडेलको सक्रियता मन नपराउनुको कारण ‘आफ्नो आकांक्षा’ जीवित राख्नु पनि हो । नत्र केही दिनअघिको संसदीय दलको बैठकमा कोइराला त्यसरी पौडेल बिरुद्ध उत्रने नै थिएनन् । उनले देउवा र पौडेल दुवैविरुद्ध ‘गुटबन्दी’ चर्काएको आरोप लगाएका थिए । देउवा झण्डै दुई दशकदेखि नै एउटा गुटका नेतामा स्थापित भइसकेको तथ्य कोइरालालाई थाहा नभएको होइन । त्यसकारण पनि उनको आक्रोश पौडेलमाथि हो-वीपी शताब्दीका यात्राका नाममा गुटबन्दी प्रश्रय दिएको आरोप लगाउँदै । हुन त, वीपी यात्राको अन्तिम सभामा कोइराला स्वयं सहभागी भए र कार्यक्रमको खुलेर प्रशंसा पनि गरे ।

‘मलाई वीपी-शताब्दी यात्राबारे किन केही भनिएन ?’ पौडेलप्रति कोइरालाको आक्रोश थियो । त्यसरी यसअघि कोइरालाले जागरण अभियान चलाउँदाका बखत पनि कोइरालाले असन्तुष्टि व्यक्त गरेका थिए । खासमा वीपी यात्राका बखतमा सरकारको कार्यशैलीप्रति आलोचनात्मक टिकाटिप्पणी आएका कारण पनि कोइराला असन्तुष्ट बन्न पुगेका हुन् ।

आउँदो महाधिवेशन कोइराला उम्मेदवार हुन नसक्ने अनुमानसहित पौडेलले परिणाम आफूतिर पार्न कसरत निकै अघि बढाएका छन् भने देउवा २०५७ यता सभापतिका स्थायी उम्मेदवार हुन्, उनको उम्मेदवारी नहुनेमा कुनै शंका छैन ।

कोइरालालाई स्वास्थ्यले साथ नदिएको खण्डमा मात्रै ‘बिरासत’को हकदावीमा नयाँ उम्मेदवारहरु आउनेछन् । यतिखेरसम्म ‘संस्थापन विरासत’को हकदावी गर्ने खुला पात्र देखिएका छैनन् । त्यो धारको पगरी हालका उपसभापति रामचन्द्र पौडेलको शीरमा पुग्ने आँकलन बढेको छ । यद्यपि त्यो धारभित्रका ‘महत्वकांक्षी’ पात्रहरुले साथ नदिएको खण्डमा गाह्रो हुन्छ । पौडेललाई चुनौति दिन नयाँ पात्रहरु देखापर्न सक्छन्- निर्वाचित महामन्त्री प्रकाशमान सिंह र मनोनित महामन्त्री कृष्णप्रसाद सिटौला । ‘तर, दुवैलाई पत्याईहाल्ने अवस्था पार्टीभित्र विद्यमान छैन’ कोइराला निकट एक सदस्य भन्छन्- ‘त्यतिबेला संस्थापन टिम छिन्नभिन्न हुने अवस्था पनि छ ।’ तर पौडेललाई संस्थापन पक्षकै खासगरी महामन्त्री सिटौलासहित ‘कोर समूह’को साथ रहनेमा शंका छ ।

अर्कातिर कांग्रेस सभापति हुन महाधिवेशनमा पचास प्रतिशत मत कटाउनुपर्छ- पहिलो भएर मात्र हुन्न । यसले पहिलो चरणमा धेरै उम्मेदवार बन्ने र दोस्रो चरणको चुनावसँगै नयाँखाले समीकरण बन्न सक्छ । जसरी कांग्रेसभित्र विग्रह र व्यक्तिवादी चरित्र अति बढैछ, नयाँ धु्रवीकरणसँग नयाँ गुट जन्मने सम्भावना उत्तिकै छ ।

‘भावी नेतृत्वका निम्ति’ महामन्त्री सिंह ‘आफ्नो आकांक्षा’ स्वभाविक ठान्छन् । उनी अघिल्लो महाधिवेशनको पूर्वसन्ध्यामा ‘क्याम्प’ परिवर्तन गरी कोइराला समूहमा पुगेनन् मात्र निर्वाचित महामन्त्री बन्न सफल भएका थिए । ‘राजनीतिमा लागेपछि पार्टीको नेतृत्वमा पुग्ने आकांक्षा कसको हुँदैन र ?’ उनी भन्छन्- ‘तर हेरौं, घटनाक्रम कसरी अघि बढ्छ, त्यसैमा धेरै नीति निर्भर हुन्छ ।’

उता देउवालाई पनि सोचे जस्तो सजिलो छैन । उनीतिर असन्तुष्टी नभएको होइन । समानुपातिक र कोटाको २६ सभासद् मनोनयनले असन्तुष्टि बढाएको छ । देउवाको आडभरोसा मानिने खुमबहादुर खडकाले साथ दिने/नदिने द्विविधा नै छ । महाधिवेशन बेलासम्म संस्थापन पक्षका कतिपय नेताहरु देउवातिर पुग्ने र देउवा पक्षका संस्थापन पक्षतिर आउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे सुशील कोइरालाको चार बर्षको कार्यकालमा पार्टी पद्धति संस्थागत गर्ने भन्दा गुट र भागबण्डा संस्कृति संस्थागत गर्ने केन्दि्रत भएको बताउँछन । ‘अबको महाधिवेशन कांग्रेसको संगठन निर्माणमा दुरभागी प्रभाव पार्ने खालको ध्रुवीकरण पनि बन्न सक्छ’ उनी भन्छन्- ‘तेह्रौं महाधिवेशनसँगै कांग्रेसभित्र बढेको भागबण्डा र गुटको राजनीति अन्त्य गर्न तलदेखि माथिसम्म एक हुनुपर्ने अवस्था छ ।’

कांग्रेस नेता अर्जुननरसिंह केसी पार्टीभित्र झ्याङ्िगएको अलोकतान्त्रिक शैलीलाई देशभरि अभियानको रुपमा लैजान खोज्दैछन् । संस्थापनबाट पक्षबाट टाढिएका केसी पार्टीभित्र ‘तेस्रो धार’ निर्माण गर्ने सुरमा छन् । त्यसको नेतृत्व उपसभापति पौडेलले नलिए आफै लिनसम्मको तयारीमा छन् । कांग्रेस सभापति सुशील कोइरालाको कार्यशैलीलाई लिएर केसीले लिखित रुपमा १३ बूँदे असन्तुष्टी समेत केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए । ‘१३ औं महाधिवेशन यसअघिको जस्तो टुलुटुलु हेरेर बस्ने खालको हुँदैन’ केसीले भने- ‘म अब दुवै पक्षतिर विभाजित छैन । गुण, दोष, विधि, विधान र सामूहिक रुपमा पार्टी संचालन गर्ने पद्धतिको पक्षमा दृष्टिकोण लिएर देशभर जाने तयारीमा छु ।’

भरिभराउ निवास

महाधिवेशन तयारीसँगै कांग्रेस नेताका निवास भरिभराउ हुने क्रमले तीव्रता पाएको छ, तर पार्टी कार्यालय भने सुनसान छ । त्यहाँ न संस्थापन पक्ष पुग्छन् न त विरोधीहरु नै ।

प्रधानमन्त्री बनेको छ महिनापछि पहिलोचोटि भदौ २९ मा पहिलो पटक पार्टी केन्द्रीय कार्यसमितिको बैठक राखे । त्यसअघि माघ २१ गते बैठक भएको थियो, जतिबेला उनी प्रधानमन्त्री भएका थिएनन् । प्रधानमन्त्री भएलगतै दुई/तीन पटक कार्यकर्ता भेटघाटका लागि कोइराला पार्टी कार्यालयमा गएका थिए । केही समयपछि त्यो क्रम बन्द भयो ।

पार्टी कार्यालयका कर्मचारीहरुका अनुसार पाँच महिनायता त कोइराला पार्टी कार्यालय टेकेका छैनन । मन्त्रीहरु पनि हप्ताको दुई दिन पार्टी कार्यालय जाने नीति तय भयो । त्यो नीति क्षणिक बन्यो । न मन्त्री गए, न प्रधानमन्त्री ।

निवास पार्टी या सम्पर्क कार्यालय जस्ता देखिने, वास्तविक पार्टी कार्यालय चाहिं भूतबंगला जस्तो । ‘सबै कार्यकर्ताहरु नेताको निवासमा पुग्छन् । मन्त्रीका क्याटरमा पुग्छन । सिंहदरबार जान्छन्, तर पार्टी कार्यलय अग्सर सुनसानमै वित्छ’ पार्टी कार्यालयका सहसचिव प्रेम केसी भन्छन्- ‘नेताहरु नियमित पार्टी कार्यालयमै बस्ने व्यवस्था भएमा कार्यकर्तालाई सजिलो हुन्थ्यो ।’

कोइरालाको चार बर्षे कार्यकालमा २८ पटक केन्द्रीय समितिको बैठक बस्यो, ९२ दिन चल्यो । सवै भन्दा लामो बैठक संविधानसभा निर्वाचनका बखत भएको थियो । सभापति कोइराला टिकट वितरणका बेला तीन दिन त पार्टी कार्यालयको आफ्नो कार्यकक्षमा सोफामा सुतेका थिए ।कान्तिपुरबाट


  •  
  •  
  •