संस्थापनबाटै कोइरालालाई उम्मेदवार नबन्न दबाब

111
  •  
  •  
  •  

काठमाडौं २३ मंसिर ।

कांग्रेसको १३ औं महाधिवेशनको तिथी नजिकिदै गर्दा भावी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु हुन थालेको छ । नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल मैदानमा उत्रिइसकेका छन् । देउवा र पौडेल सम्पर्क कार्यालय समेत खोलेर प्रचारमा जुटिसकेका छन् । घोषणा नगरे पनि सुशील कोइरालाले संस्थापन पक्षबाट आफंै उम्मेदवार हुने सन्देश दिएका छन् ।

पार्टी कार्यकर्ताको भावना विपरित प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेकामा आलोचित कोइरालालाई सभापतिमा उम्मेदवारी नदिन संस्थापन पक्षभित्रैबाट दबाब पर्न थालेको छ । यस्तो दबाव दिनेमा उपसभापति पौडेल, एक समय कोइरालाका विश्वासपात्र रहेका महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य महेश आचार्य, नरहरी आचार्यलगायत छन् ।

कोइरालाका भित्री योजनाकार मानिएका महामन्त्री सिटौला प्रधानमन्त्री निर्वाचनपछि उनीसित टाढिएका छन् । बारम्बारको सुझाब विपरित प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कारण कोइराला र सिटौलाको सम्बन्ध समेत चिसिएको छ । पार्टी नेतृत्व लिएको पाँच बर्षको कार्यकाल सन्तोषजनक नभएको बताउदै पुन: कोइराला उम्मेदवार बन्न नहुने जिकिर उनीहरुको छ ।

पौडेलको तयारी

पाँच बर्षको कार्यकालमा पार्टीका भातृसंस्थाको अधिवेशन गराउन नसकेको, विभागहरु निष्कृय भएको, पार्टीको महत्वपूर्ण कार्यसम्पादन समिति नबनाएको, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको र पार्टीको संगठानात्मक गतिविधि ठप्प प्राय: भएको बताउँदै कोइरालाले सम्मानजनक विश्राम लिनुपर्ने तर्क उनीहरुले आन्तरिक रुपमा राख्दै आएका छन् ।
स्रोतका अनुसार कोइरालालाई दबाब दिनकै लागि उपसभापति पौडेलले केही दिन अघिदेखि नै उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका हुन् । पुस ४ र ५ गते आफ्नो नेतृत्वमा रहेको पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानबाट सुदुरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरी पौडेलले आफू अघि बढेको सन्देश दिन खोजेका छन् ।

आफैं अघि सर्ने धुनमा सिटौला
महामन्त्री सिटौला भने कोइरालाको विकल्पमा पौडेल नभएर आफैंले सभापतिमा उम्मेदवारी दिने दाउमा छन् । प्रधानमन्त्री निर्वाचनमा पराजयपछि तीनै शीर्ष नेता पछि हट्नुपर्ने भन्दै सिटौलाले आफूलाई अघि बढाउन खोजेका हुन् । तर, उनका लागि पार्टी सभापति कोइराला नै मुख्य तगारो छन् । ‘सुशील उम्मेदवार बने भने सिटौलालाई उम्मेदवार हुन गाह्रो छ, भएनन् भने सिटौला अघि बढ्ने तयारीमा छन्,’ सिटौला निकट स्रोतको दाबी छ । सिटौलाले यसपालि महामन्त्रीमा उम्मेदवारी नदिने, दिए सभापतिमै दिने पनि स्रोतको दावी छ ।

तर, संस्थापन पक्षबाट सिटौलालाई सभापति स्वीकार गर्न अर्का महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुनरसिंह केसीसहितका नेताहरु तयार छैनन् । सिंह, केसी र सुजाता कोइरालाले समेत आफैं सभापति लड्ने प्रचार गरेका छन् । स्रोतका अनुसार कोइराला नै उम्मेदवार भए सिटौला र सिंह दुवै उपभापतिका लागि दावेदार हुन सक्नेछन् । महत, केसी, सुजाताको दावी महामन्त्रीमा हुनेछ ।

कोइरालाको आफैं उठ्ने तयारी
कोइरालालाई नै उम्मेदवार बनाउने पक्षमा प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, दिलबहादुर घर्तीसहितका नेता छन् । पार्टी सभापति कोइराला नै उम्मेदवार नभए संस्थापन पक्ष छिन्नभिन्न हुने र पार्टी नेतृत्व देउवाको ‘पोल्टा’ मा जाने उनीहरुको तर्क छ । पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर जान नदिन सुशील स्वयं एकपटक आफै उम्मेदवार बन्ने र आफूपछि वीपी पुत्र सशांक कोइरालालाई नेतृत्व हस्तान्तरण गर्ने योजना बनाएको संस्थापन पक्षका एक नेता बताउँछन् ।

केन्द्रीय सदस्य नरहरी आचार्य कोइरालाको उम्मेदवारीबारे आफूलाई जानकारी नभएको बताउदै पार्टी नेतृत्वको पाँच बर्षे कार्यकालको समिक्षा आवश्यक रहेको बताउँछन् । ‘अधिवेशन निर्धारित मितिमा नै हुन्छ । कोइराला उम्मेदवार हुने कि नहुने भन्ने भन्दा पनि पाँच बर्षको कार्यकालको गम्भीर समीक्षा हुनुपर्छ,’ आचार्यले थपे ।

कोइरालाले १२ औं महाधिवेशनमा एकपटकका लागिमात्रै मत मागेकाले फेरि सभापतिमै निरन्तरता खोज्न नमिल्ने देउवा पक्षीय केन्द्रीय सदस्य प्रकाशशरण महतको भनाई छ । पार्टी र संसदीय दलको नेतृत्वमा नै कोइराला असफल भएको दावी उनको छ । ‘हो पार्टीभित्र तीनै शीर्ष नेतृत्वको विकल्प खोज्नुपर्छ भन्ने मत पनि छ । तर १३ औं महाधिवेशनमा नै तीन शिर्ष नेतृत्व भन्दा तल नेतृत्व जाने संभावना देखिन्न’ महतले भने, ‘अब पनि पार्टीको नेतृत्व तीनै नेतामध्ये एक हुने हो ।’

गुट मिलाउन पदाधिकारी बढाउने योजना

पार्टी सभापति कोइरालाका लागि संस्थापन पक्षमा रहेका नेताहरु मिलाउने नै हम्मे छ । उपसभापति रामचन्द्र पौडेल पटक–पटक कोइरालालाई सहयोग गरेको बताउँदै यसपटक आफूलाई समर्थन गर्नुपर्ने बताउँछन् । कोइराला परिवारमै शेखर र सुजाता पार्टी सभापति कोइरालालाई नै निरन्तरता दिनुपर्ने पक्षमा देखिन्नन् । स्रोतका अनुसार पौडेललाई संसदीय दलको नेता बनाएर आफू सभापतिको उम्मेदवार हुने योजना कोइरालाको छ । तर, भन्दैमा पौडेल फकिहाल्ने अवस्था नरहेको पौडेल निकट एक केन्द्रीय सदस्य बताउँछन् ।  कान्तिपुरबाट


  •  
  •  
  •