फेरि सर्ने भो कांग्रेस महाधिवेशन

76
  •  
  •  
  •  

काठमाडौं ३१ साउन ।
कांग्रेसको १३ औं महाधिवेशन फेरि सर्ने भएको छ । संविधान जारी गर्ने तिथि सर्दै जाँदा कांग्रेस महाधिवेशन प्रभावित भएको हो । नेताहरू संविधान निर्माणमा केन्द्रीत हुँदा असोज २ देखि राजधानीमा हुने भनिएको केन्द्रीय महाधिवेशन तयारी अहिलेसम्म सुरु भएको छैन ।

पार्टी सभापति सुशील कोइरालाले निकट नेता र पदाधिकारीसँग महाधिवेशन सार्ने विषयमा छलफल सुरु गरेको स्रोतले बतायो । कोइराला फागुन या चैतमा महाधिवेशनको तिथि तोक्नुपर्ने पक्षमा देखिएका छन् । तर, वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष लामो समयका लागि सार्न दिने पक्षमा छैन । ढिलोमा दसैं-तिहार र छठ पर्वलगत्तै हुनुपर्ने देउवा पक्षको अडान छ ।

अन्तरिम संविधानमा राजनीतिक दलले ५ वर्षभित्र महाधिवेशन गराउनैपर्ने व्यवस्था छ । कांग्रेसका केही शीर्ष नेताहरू नयाँ संविधानबाट यो म्याद बढाउने पक्षमा जुटेका छन् । स्रोतका अनुसार नयाँ संविधानमा असामान्य स्थितिमा एक वर्षसम्म म्याद बढाउन सकिने व्यवस्था राख्ने प्रयास भइरहेको छ ।

कांग्रेस महाधिवेशन हरेक ४ वर्षमा हुनुपर्ने नियम छ । पार्टीको विधानअनुसार विशेष कारण जनाई एक वर्षको समय बढाइएको छ । अधिवेशन नभएको असोज ५ मा ५ वर्ष पुग्नेछ । नयाँ संविधानमा म्याद बढाउन राजनीतिक सहमति नजुटे कांग्रेसले बाधा अडकाउको माध्यमबाट समय थप्ने तयारी गरेको छ । त्यसका लागि बढीमा ६ महिनासम्म म्याद थप्ने विषयमा निर्वाचन आयोगसँग छलफल भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । भूकम्पबाट उत्पन्न विपत्ति र संविधान जारी गर्नुपर्ने अवस्थालाई देखाएर आयोगसँग छलफल भइरहेको उनले उल्लेख गरे ।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाचाहिँ महाधिवेशन सार्ने विषयमा छलफलै नभएको बताउँछन् । ‘संविधानको कार्यतालिका सर्दै जाँदा तोकिएको मितिमा महाधिवेशन गराउन अप्ठ्यारो परिस्थिति छ, तर सार्ने या समयमै गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,’ उनले भने ।

कांग्रेसले केन्द्रीय महाधिवेशन असोज २ देखि ५ सम्म राजधानीमा गर्ने तिथि तय गरेको थियोे । स्थानीय तहको अधिवेशन भदौ १७ देखि नै सुरु हुने तालिकामा उल्लेख छ । कांग्रेसका नेताहरू महाधिवेशन प्रतिनिधि हुन स्थानीय तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ । कांग्रेसका ३५ सभासद जिल्ला सभापति छन् ।

‘यता संविधान जारी हुने दिनसम्म सभासदलाई काठमाडौं नछाड्ने पार्टीको निर्देशन छ, पार्टीको अधिवेशन भदौ १७ देखि नै सुरु हुने भनिएको छ । कसरी सम्भव छ ?’ कांग्रेस नेता शेखर कोइराला भन्छन्, ‘नेताहरू भित्रभित्र महाधिवेशन सार्ने तयारी गरिरहनु भएको छ । तर, कार्यकर्तालाई स्पष्ट भन्न सक्नुभएको छैन । अब झुक्याउने होइन । स्पष्टसाथ मंसिर, पुस कहिले गर्ने हो भन्न सक्नुपर्छ ।’

नयाँ संविधान जारी भएलगत्तै पनि महाधिवेशन गराउन अप्ठ्यारो छ । संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । त्यतिबेला नेताहरूको ध्यान राज्य सत्ताको पदहरूमा जाने देखिन्छ । नयाँ संविधानपछि पार्टीको संरचना पनि त्यहीअुनसार परिवर्तन गर्नुपर्ने हुन्छ । प्रादेशिक संरचनाअनुसार पार्टीका विधान संशोधन गर्न अहिलेसम्म विधायन समिति बनेको छैन । महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमितिको एउटा बैठक बसेको छैन ।

‘महाधिवेशनको तयारीको हिसाबले अहिलेसम्म जिरो छ । निर्वाचन आयोग, आर्थिक संकलन समिति, राजनीतिक, आर्थिक प्रतिवेदन, पार्टीको नीति तथा कार्यक्रम बनाउन आवश्यक समितिहरूसमेत बन्न सकेको छैन,’ नेता शेखरले भने, ‘त्यसैले पनि तोकिएको मितिमा अधिवेशन हुन असम्भव छ । नेताहरूले प्रस्ट भन्नुपर्छ ।’

स्राेतका अनुसार पार्टी सभापति कोइरालाले एक/दुई दिनमै केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशन सार्ने प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

कांग्रेसको क्रियाशील सदस्यताको विवाद टुंगो पनि लागिसकेको छैन । क्रियाशील सदस्यता विवाद छानबिन गर्न गठित मन्त्री नरहरि आचार्य संयोजक रहेको समितिले डेढ महिनाअघि बुझाउनुपर्ने क्रियाशील सदस्यताको सूची अहिलेसम्म बुझाउन सकेको छैन । दर्जन जिल्लामा क्रियाशील सदस्यताको विवाद चरम छ । समितिले बढी विवाद भएका जिल्लाहरूको क्रियाशील सदस्यता टुंग्याउन समय लाग्ने भएकाले १२ औं महाधिवेशनकै सदस्य सूचीलाई कायम गर्ने निर्णय लिएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •