काठमाडौं, १६ असार (ओएनएस) । नेपाली कांग्रेसका सभासद तथा केन्द्रीय समिति सदस्यहरुले पार्टीको घोषणा पत्र अनुसारको बजेट ल्याउनु पर्नेमा जोड दिएका छन् ।
आगामी आर्थिक बर्ष २०७१÷०७२ का लागि बजेट सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा कांग्रेस केन्द्रीय सदस्य तथा सभासदहरुले पार्टीको घोषणा पत्रअनुसारको बजेट ल्याउन सुझाव दिएका हुन् ।
प्रधानमन्त्री तथा संसदीय दलका नेता एवम् पार्टी सभापति सुशील कोइराला उपाचारका लागि अमेरिका रहेका बेला काठमाडौंमा सोमबार बसेको सांसद तथा केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले आगामी बजेटमा कृषिलाई मुख्य प्राथामिकतामा राख्नु पर्नेमा समेत जोड दिइएको छ । नेताहरुले पार्टीले संविधानसभा चुनावमा प्रतिबद्धता स्वरुप तयार पारेको घोषणा पत्रलाई प्राथामिकतामा राख्दा उपयुक्त हुने सल्लाह दिएका थिए ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलले आह्वान गरेको बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट, संबिधान निर्माण लगायतका बिषयमा छलफल भएको प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए ।