कांग्रेसद्धारा विपक्षी मोर्चालाई बार्तामा आउन आह्वान

82
  •  
  •  
  •  

काठमाडौं १४ फागुन ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रमुख विपक्षी एमाओवादी र मधेश केन्दि्रत दललाई आन्दोलन छाडेर बार्तामा आउन आह्वान गरेको छ । बुधबार सम्पन्न बैठकले सहमतिबाट संविधान जारी गर्ने प्रतिबद्धता दोर्‍याउदै विपक्षी मोर्चालाई बार्तामा आउन आग्रह गरेको हो ।

‘पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताको भावनाबाट संविधान निर्माणका लागि लिनु भएको अग्रसरताप्रति समर्थन व्यक्त गर्दै’ निर्णयमा भनिएको छ,’नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक एमाओवादी, मधेश केन्द्रीत दलहरु लगायत सम्वद्ध सबैलाई आन्दोलन होइन वार्तामा आउन आग्रह गर्दछ ।’

बैठकमा बोल्दै प्रधानमन्त्री कोइरालाले आफू सहमतिका लागि एमाओवादी नेतृत्वसंग निरन्तर संवादमा रहेको बताएका थिए । उनले केही समय संविधानसभाको बहुमतिय प्रकृया रोकेर भएपनि विपक्षी मोर्चालाई सहमितमा ल्याउने प्रयास गरिनुपर्ने पर्ने बताए । त्यसअघि बरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले अनन्त कालसम्म संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बहुमतिय प्रकृया सुरु गर्नुपर्ने धारणा राखेका थिए ।

कोइरालाले संवादबाटै सहमति खोज्ने प्रयास जारी रहेकाले बहुमतिय प्रकृयाका लागि हतार गर्न नहुने बताए । उनले संवादबाट सहमति जुटाउने सकिने विश्वास पनि दिलाए । ‘संविधानसभा अनन्तकाल सम्म लम्बिदैन र असफल हुँदैन पनि’ कोइरालाको भनाई थियो,’समझदारी गर्ने कोशिस भईरहेको छ । समझदारी गरेर नै छाड्छु ।’

आफू बिरुद्ध लागेको आरोपको प्रतिबाद गर्दै कोइरालाले संविधान निर्माणमा पार्टीले लिएको अडान सहि रहेको बताए । उनले पार्टी नेतृत्व एमालेको पुच्छर नभएको भन्दै कांग्रेसकै एजेण्डामा एमाले आएको दावी गरे । शासकीय स्वरुपलगायत संविधान निर्माणका मुख्य बिषयमा एमाले कांग्रेसकै एजेण्डामा आएको कोइरालाको भनाई थियो । बैठकका अधिकांश केन्द्रीय सदस्यहरुले सरकार एमालेको छायाँ भएको भन्दै सरकारको प्रभावकारितालाई लिएर तिव्र आलोचना गरेका थिए ।

‘हामीले परिवर्तनका कुनै मुद्दा छाडेका छैनौं । आत्तिनुपर्ने छैन । एमाओवादी पनि हाम्रै एजेण्डामा आउँछ’ कोइरालाले भने,’संवादबाटै एमाओवादीलाई सहमतिमा ल्याउँछु । मैले गल्ती गर्दिन । त्यसैले मलाई डर पनि छैन । उनले सोचेजस्तो सरकारको प्रभावकारिता देखाउन नसकेको भने स्विकारे । ‘सरकार चलाउन गाह्रो रहेछ । यो कुरा शेरवहादुर जीले पनि बुझ्नु भएको छ’ संगै रहेका देउवाप्रति इङ्कति गर्दै कोइरालाले राखेको भनाई उत्धृत गर्दै स्रोतले भन्यो,’हो भ्रष्ट्राचार बढेको छ । यो मैले बारम्बार भन्दै आएको छु र भन्छु । यसो नभन्दा झनै बर्बाद हुन्छ ।’ प्रधानमन्त्री आफैले मुलुकमा भ्रष्ट्राचार छ भनेर बोल्दापनि कुनै कारवाही नभएको भन्दै केन्द्रीय सदस्यहरुले कोइरालाले आलोचना गरेका थिए ।

बैठकमा मन्त्रीहरु रामशरण महत, महेश आचार्य, नरहरी आचार्य, मिनेन्द्र रिजालले सरकारको बचाउन गर्दै एक बर्षको अवधिमा उल्लेखनीय उपलब्धी भएको बताए । पार्टी सभापति एवं प्रधानमन्त्री कोइराला सरकार र पार्टी संचालनको दुवै मोर्चामा असफल भएको भन्दै बैठकमा बोल्ने बरिष्ठ नेता शेरवहादुर देउवा पक्षीय सबै र केही संस्थापन पक्षकै सदस्यहरुले तिव्र विरोध गरेपछि मन्त्रीहरुले सरकारको प्रतिरक्षा गरेका हुन । तर, देउवा पक्षीय मन्त्रीहरुले बैठकमा बोलेनन ।

महतले एक बर्षको अवधिमा अहिले सम्म नभएकै आर्थिक प्रगति भएको बताउदै राम्रो कामलाई पार्टीले स्वामित्व लिन नसकेको बताए । उनले २ सय ५० अरब रुपैयाको वैदेशिक लगानिको प्रतिबद्धता आईसकेको र जलविद्युत क्षेत्रमा अहिले सम्म नभएको उल्लेखनिय विकास भएको दावी गरे ।

अर्का मन्त्री नरहरी आचार्यले ८ बर्षमा नभएको शान्तिप्रकृया अन्तर्गत रहेको सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग बन्नुलाई कम महत्व नआँक्न आग्रह गरे । आर्थिक क्षेत्रमा जलविद्युत र पर्यटन क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताउदै आचार्यले दुई ठुला राजनीतिक दलको गठबन्धनमा बनेको सरकारमा काम गर्न केही कठिनाई हुने अनुभव बताए । सरकारको प्रभावकारिताबारेमा केन्द्रीय कार्यसमितिमा उठेका प्रश्नका बारेमा मन्त्री आचार्यले थपे,’अहिलेको सयुक्त सरकार परम्परागत तर अस्वभाविक देखिने सरकार हो । त्यसैले कतिपय काम ढिलाई भएका छन त कतिपय रोकिएका छन ।’

आचार्यले प्रधानमन्त्रीको कार्यशैलीको पनि बचाउ गरे । उनले संविधान निर्माणको वातवरण बनाउने काम प्रधानमन्त्रीले गरीरहेको दावी गर्दै भने,’यस्तो टकराव र द्धन्दको परिस्थितीमा पनि प्रधानमन्त्रीले संवादलाई निरन्तरता दिदै आउनु भएको छ । यसलाई सरकारको असफलता भन्न मिल्दैन ।’

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने सरकार र पार्टीको मोर्चामा पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला असफल भएको दावी गरे । केसीका अनुसार बैठकमा अधिकांश सदस्यहरुले सरकार प्रभावकारी बन्न नसकेको, सुशासन दिन नसकेको र पार्टी संचालन संस्थागत ढंगले अघि बढ्न नसकेको भनाई आएको बताउदै कोइरालाको कार्यकाल पुर्णरुपमा असफल भएको बताए ।

सहमहामन्त्री पुर्णवहादुर खडाले प्रधानमन्त्रीलाई आफूले धेरै समयअघिदेखि राम्रो संग चिनेकाले पार्टी र सरकारमा प्रभावकारिता भएन भन्ने प्रश्नप्रति आफूलाई नौलो नलागेको बताउदै कोइरालाको नेतृत्व क्षमता माथि प्रश्न गर्न आवश्यक नरहेको बताए । पार्टी प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्य आनन्द ढुंगाना र दिलेन्द्र बडुलेपनि प्रधानमन्त्री कोइरालाको बचाउ गरे ।

‘सरकारको प्रभावकारिता नभएका सम्पुर्ण अपजश प्रधानमन्त्रीले मात्रै किन लिने ?’ ढुंगानाले भने,’मन्त्री बनाउदा उहाँले मात्रै बनाउनु भएको होइन । भागबण्डामा भएको छ । यसको अपजश लिने हो भने बरिष्ठ नेता देउवाले पनि लिनुपर्छ ।’ बडुले पार्टीमा सुरुदेखिन गुटबन्दी र भागबण्डा सूरु भएकाले राम्रो काम हुन नसकेको भन्दै कोइरालाको बचाउ गरे । बैठकमा मन्त्री महेश आचार्यले ‘कांग्रेसको रेल’ शिर्षकमा कविता सुनाउदै गुटबन्दी र भागबण्डाप्रति व्यंग्य प्रहार गरेका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •