नेपाली कांग्रेसमा धर्मको बहस

118
  •  
  •  
  •  

काठमाडौं ६ फागुन (ओएनएस) :  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै पार्टीको १३औं महाधिवेशनको मिति, क्रियाशिल सदस्यता वितरण र त्यसमा देखिएको विवादलगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

यस्तै यही बैठकले नेता सुजाता कोइरालालाई संविधानसभा चुनावमा अन्तरघात गरेको भन्दै पार्टीको गरेको कारबाही फिर्ता लिने तयारी पनि गरिएको एक नेताले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा संविधान निर्माण र दलहरूबीच औपचारिक तथा अनौपचारिक तहमा भइरहेको वार्ताको पछिल्लो अवस्थाको बारेमा छलफल हुनेछ ।

कांग्रेस पदाधिकारी बैठकले पार्टीको १३ औं महाधिवेशन भदौ १ देखि ५ सम्म राजधानीमा गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पदाधिकारी बैठकले केन्द्रदेखि गाउँ तहसम्मको अधिवेशनको मितिको प्रस्ताव गरेको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिलाई बुधबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नेछ ।

पार्टी प्रवक्ता दिलेन्द्र बडुका अनुसार वडा, गाउँ र नगरसमितिको अधिवेशन आगामी साउन २ मा हुनेछ । २ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको साउन १६ मा हुने प्रस्ताव गरिएको छ । ‘पदाधिकारी बैठकले प्रस्ताव गरेको मितिमा केही संशोधन हुन पनि सक्छ, नहुन पनि सक्छ’ उनले भने ।

कांग्रेसको १३ औं अधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानुनी बाध्यता छ । यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो । केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ । एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिंदैछ ।

बडुका अनुसार पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरेको छ । फागुन मसान्तभित्र विवरण दिन नसक्ने जिल्लालाई महाधिवेशनमा भाग नगराइने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरणमा केन्द्रले गरेको परिपत्र र विधानले गरेको व्यवस्थाको प्रक्रिया पुरा गर्नुपर्ने र प्रकृया नपुर्‍याएकालाई मान्यता नदिइने बैठकले निर्णय गरेको छ । क्रियाशील सदस्यताको विवाद मिलाउन बुधबारको केन्द्रीय कार्यसमितिले छानविन समिति बनाउने भएको छ । छानबिन समितिलाई चैत मसान्तसम्मको म्याद दिइनेछ ।


  •  
  •  
  •