नेपाली भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा

907
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख(ओएनएस) : नेपालको आफ्नै स्याटेलाइट अर्थात भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो ।

सानै आकारको भएपनि नेपाली भू–उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएर रहेका नेपालीहरुले खुसी व्यक्त गरेका छन् ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेका हुन् ।

भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानाे स्याटेलाइट निर्माण गर्दै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले जनाए अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।
सो भूउपग्रहलाई ‘नेपाली स्याट–१’ नेपाली नाम दिइएको छ ।

उक्त भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ ।
बर्ड–९३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देश (नेपाल, जापान र श्रीलंका) का भू–उपग्रह अन्तरिक्षमा पठाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ट्विटर मार्फत यो प्रक्षेपणलाई नेपालको उपलब्धीको रुपमा लिइएको बताएका छन् ।

उनले भनेका छन्, ‘ आज बिहान २स्३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।’

बीबीसीले जनाए अनुसार नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखिएको छ । त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पुग्नेछ ।

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ ।
अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म
‘इन्टरनेसनल स्पेस’मा बस्नेछ । यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ ।


  •  
  •  
  •