नेपाली भू–उपग्रह अन्तरिक्षमा(फोटो फिचर)

264
  •  
  •  
  •  

काठमाडौं । नेपालको स्याटेलाइट अर्थात भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार नेपालले पहिलो पटक आफ्नो सानो आकारको भू–उपग्रह अर्थात ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेका हुन् ।

उक्त भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले जनाए अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको जनाइएको छ ।

 

भूउपग्रहको नाम ‘नेपाली स्याट–१’ नाम दिइएको छ । उक्त भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ ।

बर्ड–९३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देश (नेपाल, जापान र श्रीलंका) का भू–उपग्रह अन्तरिक्षमा पठाइएको हो ।

नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखिएको छ । त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)मा पुग्नेछ ।

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ । अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ ।

यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ । जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनावटबारे अध्ययन गर्न सहज हुनेछ ।

तस्बिरः विभिन्न एजेन्सीहरुको सहयोगमा


  •  
  •  
  •