नेपाली मजदुरको अवस्थामा सुधार आउने राष्ट्रपतिको विश्वास

430
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व श्रमिक दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास लिएको बताएकी छन् ।

विश्व मजदुर दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा संकल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकार पक्ष केन्द्रित हुने विश्वास व्यक्त गरेकी छन् ।

नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक सुरक्षा, नयाँ श्रम ऐन र रोजगारीको हकसम्बन्धी ऐनको कार्यान्वयन भई नेपाली मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आउने समेत उनले उल्लेख गरेकी छन् ।

संघीयता कार्यान्वयनमा श्रमिकले खेल्दै आएको भूमिकाका लागि धन्यवाद दिँदै राष्ट्रपतिले मजदुर दिवससँगै श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित हुन सकून् भनी कामना गरेकी छन् ।

भण्डारीको सन्देशमा भनिएको छ, ‘यस दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास लिएको छु । सुदृढ अर्थतन्त्रको मेरुदण्ड र समाजवादउन्मुख अर्थ व्यवस्थाको आधारस्तम्भ श्रमिक मजदुर भएको प्रसंगमा सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ ।’


  •  
  •  
  •