संगठनमा मौलाएको ‘क्यावेज कल्चर’

116
  •  
  •  
  •  

संस्कृति भन्नाले लामो समयदेखि चलिआएको यस्तो धारणा, विश्वास, व्यवहार, प्रकृति, मूल्यमान्यता हो, जसले कुनै पनि व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति भन्ने बुझिन्छ ।

संस्कृति शब्दलाई नेपाली शब्दकोषमा हेर्ने हो भने सभ्यता, धेरै लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्पराको रुपमा उल्लेख गरेको पाइन्छ ।

संस्कारको विकास औपचारिक एवं कानूनी प्रक्रियाबाट मात्र सम्भव हुने विषय होइन । संस्कार विकासको कुरा गर्दा संस्कारको सुरुवात कहाँबाट हुन्छ ? कसरी संस्कारको रुप लिन्छ भन्ने बुझ्नु आवश्यक हुन्छ । संस्कृतिको सुरुवातका सम्बन्धमा हेर्दा संस्कार कहाँबाट आउँछ भन्ने हुन्छ । संस्कृति, सोच, व्यवहार, बानी, संस्कार हुँदै आउने विकसित रुप हो ।

कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ ।
त्यहि व्यवहार पटक पटक गरिरहँदा दोहोर्‍याइरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्छ ।

त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो ।

संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज, राष्ट्र सबैमा प्रभाव पारेको हुन्छ । व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ ।

संगठनात्मक संस्कृति एउटा यस्तो क्रियाशिल तत्व हो, जून योजना बिना नै संगठनमा मौलाउँदै जान्छ । सुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ । संस्कार जन्य कुराहरु तर्क र प्रमाणको रुपमा जुधाउन सकिँदैन । त्यो अदृश्य हुन्छ । तर व्यवहारबाट छर्लङ्ग देखिन्छ ।

‘तरकारी खानकालागी प्रयोग हुुने बन्दागोभी तौलको हिसाबले गह्रौं त हुन्छ नै हेर्दा समेत निकै खदिलो देखिन्छ ।
यदि कोही व्यक्ति बन्दागोभीलाई पहिलो पटक देख्दछ भने उसले सोच्न सक्छ पातको आवरण भित्र ठूलो परिमाणमा गुदी रहेको अनुमान गर्न पुग्दछ ।’

संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका अधिकांश सदस्यले बोल्ने भाषा, उनीहरुको सोच, अरुलाई गर्ने व्यवहार, उनीहरुको पहिरन, प्रदान गरिएको कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, फाईफुट्टी लगाउने जस्ता पक्षहरु समावेश भएका हुन्छन् भने बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, संगठनको इतिहास, कानूनी हैसियत, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।

संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो, जसमा सकारात्मक पक्ष रहेको हुन्छ भने त्यो एउटा सुक्ष्म मन्द विष पनि हो, जहाँ नकारात्मक पक्ष रहेको अवस्था छ । लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ ।

त्यसको प्रभाव सकारात्मक तथा नकारात्मक दुबै हुने कुरा हाम्रो समाजमा रहेको संगठनहरुको हिजो र आजको अवस्थालाई हेर्‍याे भने भोलीको अवस्थालाई सजिलै आंकलन गर्न सकिन्छ ।

पछिल्लो समय हाम्रो समाजमा रहेका संगठनहरु चाहे व्यवसायिक संगठन, चाहे सार्वजनिक संगठन, चाहे राजनैतिक संगठन, चाहे धार्मिक संगठन नै किन नहोस् । यस्ता सबै खाले संगठनमा प्रायः संगठनात्मक संस्कृतिको विकास फरक (गबा) भएको देखिन्छ । माथी उल्लेख गरिए अनुसार सोच अनुसार व्यवहार भए झैं हाम्रो सोचको विकास हुने संगठनको वातावरण कस्तो छ ? हामीले देख्ने, सुन्ने, खाने, गर्ने ,सिक्ने तथा कर्मचारीलाई हर्ने दृष्ट्रिकोण जस्ता पक्षहरु कस्ता छन् ।

माथिल्लो तह तथा पुस्ताको व्यवहार कस्तो छ ? तथा उनिहरुबाट नयाँ आउनेले के सिक्क्न् ? माथिल्लो तह तथा पुस्ताको बानी कस्तो छ ? माथिल्लो तह तथा पुस्ताको बानीसँग आफु मिल्न आफ्नो कस्तो बानी बनाउनुपर्छ ? यी विविध पक्षहरुको उपज नै संगठनात्मक संस्कार हो र यसको परिस्कृत रुप संगठनात्मक संस्कृति हो ।

संगठनात्मक संस्कृति vertical (ठाडो) र horizental (तेर्साे) दुबै तरिकाबाट सर्दै जाने गरेको देखिन्छ ।
समकक्षिबाट समकक्षिमा र माथिबाट तल एकले अर्कोप्रति गर्ने निरन्तरको व्यवहार संगठनात्मक संस्कृतिको रुपमा सृजित हुन्छ ।
संगठनको उच्च तहमा आसिन व्यक्तिहरु त्यस संगठनको महत्वपूर्ण निधिको रुपमा रहेका हुन्छन् । निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्याैल गर्न सकिन्छ । जति ठूलो पद उति नै ठूलो भूमिका रहन्छ ।
उच्च पदस्थ व्यक्तिको एउटा सानो हस्ताक्षरले कयौं व्यक्तिको जीवनमा सकारात्मक तथा नकारात्मक प्रभाव पारेको हुन्छ ।
तिनै उच्च पदस्थ व्यक्तिहरुको सोच, निर्णय, कार्यहरुबाट संगठनलाई कुन दिशामा र कुन गतिमा लैजाने भन्ने एकिन हुन्छ ।
यस्ता व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ ।

बन्दागोभीपन
तरकारी खानकालागी प्रयोग हुुने बन्दागोभी तौलको हिसाबले गह्रौं त हुन्छ नै हेर्दा समेत निकै खदिलो देखिन्छ ।
यदि कोही व्यक्ति बन्दागोभीलाई पहिलो पटक देख्दछ भने उसले सोच्न सक्छ पातको आवरण भित्र ठूलो परिमाणमा गुदी रहेको अनुमान गर्न पुग्दछ ।

पातको रुपमा रहेको आवरणलाई तथा बोक्रालाई एक पछि अर्को गर्दै निकाल्दै जाँदा पातको पत्र सकिन्छ तर त्यहाँ गुदीको अवशेष भेटिदैँन । यथार्थ के हो भने बन्दागोभीको गुदी नै हुँदैन र वन्दागोभीको विशेषता भनेको गुदी नहुनु हो ।

व्यवस्थापकहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नुभन्दा शक्ति केन्द्रमा धाएर उच्च तहमा पुग्ने तर अध्ययन विश्लेषण भन्दा पनि व्यक्तिगत सुख सुविधा, घुमफ्mिर, भोजभतेर, भेटघाटमा समय खर्च गर्ने प्रवृतिलाई बन्दागोभी संस्कृति भन्ने बुभिन्छ ।

संगठनको उच्च तहमा पुगेता पनि उक्त तहको लागी आवश्यक पर्ने वास्तविक क्षमता नहुनु, ज्ञान, योग्यता, सीप र कला नहुनु बन्दागोभीपनको पहिचान हो ।

संगठनहरुमा रहेका यस्ता बन्दागोभी व्यवस्थापकहरुले आफुलाई ठूलो बनाउने, आफु नै सर्वज्ञाता टान्ने, अरुको कुरा सुन्नै नसक्ने ,सधैं पुराना थोत्रा कुराको रट लगाएर बस्ने, आफुमात्र बाल्ने, नयाँ विचार–धारणा – प्रक्रिया आदीलाई सिँधै इन्कार गर्ने जस्ता विशेषताहरु रहेका हुन्छन् । उनिहरुमा नयाँ सोच र चिन्तनको गरिबी रहेको हुन्छ भने उनीहरुलाई पहिल्यै बुझेको बाहेक कुनै पनि नयाँ कुरा उनिहरुलाई बुझाउन सकिदैँन ।

उनिहरुमा नयाँ सोच, शैली तथा अवधारणा बुझ्न र आफ्नो संगठनको व्यवस्थापनको परिवेशमा ढालेर कार्यान्वयन गर्न सक्ने क्षमताको नितान्त अभाव रहने हुँदा लाभदायक अवधारणा एवं शैलिहरुलाई पनि कोरा सिद्धान्तमा सिमित रहने ठानी आफ्नो पुरानै कार्याअनुभवको बखान गाउन मस्त हुन्छन् ।

क्यावेज कल्चरका लक्षणहरु
संगठनको उच्च व्यवस्थापनमा पुग्न सफल केहि व्यतिहरु पदको आवश्यक योग्यता क्षमता आदि नहुँदा–नहुँदै पनि नाता कृपा तथा राजनीतिक सम्बन्धका भरमा वा लेनदेनका माध्यमबाट पुग्न सफल भएका हुन्छन् । कोहि कागताली परेर पनि पुग्न सफल भएका छन् ।

यस्ता व्यक्तिहरुमा बन्दागोवीपन हुनु स्वभाविक हो, तर कतिपय व्यक्तिहरु जोसँग उच्च शैक्षिक योग्यता, क्षमता, सीप, ज्ञान सृजनशिलता भएका व्यक्तिहरु पनि समयअनुसार आफुलाई अपडेट गर्न नसक्दा खोक्रिदै जाने हुन्छन् ।

भ्रष्टाचार
पदिय दुरुपयोग गरी पैसा कमाउने धन्दामा लाग्ने व्यवस्थापकहरु कमिसन, घुस र लाभको तनाव बढी समय खर्चने कारणले अधिकांश समय तनावग्रस्त रहने हुँदा अध्ययन र नयाँ विषयमा सोच्ने समयको अभाव रहन्छ ।

चाकरी
उच्च तहमा पुग्न, पुरस्कृत हुन तथा सुविधा प्राप्त गर्न उच्च पदस्थ व्यक्ति, शक्ति केन्द्र, राजनितिक व्यक्तित्वहरलाई रिझाउनमा व्यस्त रहँदा रहदै समय खर्च गर्नुपर्ने हुन्छ ।

चम्चा सँस्कृति
आफ्ना धुपौरे कर्मचारीहरुबाट घेरिएर बस्न मन गर्ने, उनिहरुको सन्चो बिसन्चोको हालखबर सोधपुछ गर्ने तथा आ–आफ्ना विचारहरु पालैपालो प्रस्तुत गर्दैमा दिन बिताउने हुन्छ ।

सुरा–सुन्दरी  
सुरा र सुन्दरीमा आशक्त व्यवस्थापकहरु कार्यालय समयमा पनि आफ्नो इच्छा पुरा गर्न निर्लिप्त हुँदा जिम्मेवारी पाखा लाग्ने हुन्छ ।

पदोन्नति र पुरस्कारमा गलत प्रचलन
पदोन्नति र पुरस्कार वितरणमा नाता निकटता, भनसुन, लेनदेन आदीको आधारमा हुने प्रथा तथा प्रचलनको अवस्था रहँदा ज्ञान, सीप,अध्ययन गर्ने बानीमा ह्रास आइ बन्दागोभीपन फस्टाउँछ ।

नक्कली प्रमाणपत्र 
सक्कली प्रमाणपत्र भन्दा नक्कली प्रमाणपत्रले प्राथमिकता पाउन थाले । क्षमता व्यक्तिहरुमा पनि भएको क्षमताको कदर नहुँदा खोकिँदै जाने हुन्छ । नक्कली प्रमाणपत्रको रामकहानी सबैलाई न्याय दिने न्यायलयमा छताछुल्ल भएको सर्वविदितै छ ।

 बैठक र भत्ता 
उच्च पदस्थ व्यक्तिहरु विभिन्न किसिमका समिति तथा उप–समितिहरुमा व्यस्त रहनाले भत्तावाला बैठकमा व्यस्त रहने गर्दछन् । बिहान देखी बेलुका सम्म व्यस्त रहने हुँदा आफुलाई गुदी भर्ने समयको अभाव रहन्छ ।

सक्षमतालाई उचित महत्व नदिनु 
समयअनुसार आफुलाई अपडेट गर्ने व्यक्तिको कुनै परिस्थितीमा पाखा लगाइए पनि साच्चिकै काम पर्दा व्यवस्थापकहरुले तिनै व्यक्तिलाई सम्झन बाध्य हुन्छन् तर सामान्य अवस्थामा अरुलाई महत्व दिने र बाध्यकारी अवस्थामा मात्र आफ्नो क्षमता र सीपको प्रयोग हुँदा कर्मचारीमा निराशा आई उत्प्रेरणा हुँदैन ।

क्यावेज कल्चरको असर
व्यवस्थापकहरुमा रहको बन्दागोवीपनका असरले संस्थाले विभिन्न परिस्थितिमा त्यसको प्रभाव भाग्न बाध्य हुन्छन् । देशको प्रशासनयन्त्र र खासगरी सार्वजनिक महत्वका ठुला ठुला संस्थाका उच्च व्यवस्थापनमा बन्दागोवीपन रहेमा ती संघ संगठनहरुमा पर्ने असरलाई यसरी उल्लेख गर्न सकिन्छ ।

गलत नीति तथा योजना
क्षमता, ज्ञान, सीप तथा सकारात्मक सोचले नयाँ बन्ने नीतिमा प्रभाव पर्दछ । यदि यि चिजहरुको नै अभाव छ भने नीति नियम सबल बन्नुको सट्टा कमजोर तथा गलत निर्माण भई त्यसको कार्यान्वयनबाट उपलब्धि आशातित हुँदैन ।

श्रोत र अवसरको पुर्ण सदुपयोग नहुनु
उपलब्ध स्रोतलाई सही ठाउँमा प्रयोग गर्नु र अगाडि आउने अवसरको सही समयमा लिन जाने सके नतिजा प्रभावकारी बन्छ । तर गुदी विना नत स्रोत सदूपयोग हुन्छ । नत अवसरको पहिचान नै हुन सक्छ ।

घाटाको व्यापार
उच्च व्यवस्थापकहरु विभिन्न किसिमका व्यापार व्यवसाय सम्बन्धि राष्ट्रिय तथा अन्त राष्ट्रिय सन्धी सम्झौता गर्नुपर्ने हुन्छ । यदि उक्त सम्झौता गर्दा त्यसको अल्पकालिन तथा दिर्घकालिन फाईदा बेफाईदा थाहा पाउन नसक्दा नाफा जति अर्काको पोल्टामा पुग्न जान्छ ।

लज्जाजनक छवी
उच्च व्यवस्थापकहरु विभिन्न किसिमका राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नुपर्ने हुन्छ ।
यस्तो प्रतिनिधित्व गर्दा प्रतिनिधित्व गर्ने व्यक्तिको प्रभावले त्यस देशको छवीको मापन गरिन्छ । तसर्थ वन्दागोवीपन भएको व्यवस्थापकको प्रतिनिधित्वले समाज र देशको छवी लज्जाजनक हुनसक्छ ।

राजनीतिक क्षेत्रलाई सहयोग हुन नसक्नु
सरकारको सफलता सरोकारवाला सबैको सहयोगबाट मात्र हुन्छ । विकासोन्मूख देशमा पावर र धम्कीको आधारमा डाँकाका सरदार पनि पावरमा पुग्छन् । तर तिनिहरुमा सोच, ज्ञान, दृष्ट्रिकोण, चिन्तनशैलीको अभावले देशलाई हाक्न सक्दैनन् । तसर्थ राजनीतिक नेतृत्व नै असफल हुने अवस्था आउँछ ।

पछौंटेपन
समय परिवर्तनशिल छ । परिवर्तनशिल समयले नयाँ–नयाँ आवधारणा र शैलीहरुको दिनानुदिन विकास हुँदै जाने क्रममा वन्दागोवीपनको बाहूल्यताले समाजमा विकासको फड्को मार्ने रफ्तारमा कमि आई पछौटेपन आउँछ ।

कमजोर प्रशासक सयन्त्र
प्रशासन सयन्त्र राज्य संचालनको चावी हो । यदि राजनैतिक अस्थिरतामा पनि प्रशासन संयन्त्र बलियो छ भने पनि न्यूनतम सेवा सूविधा र निर्धारित कार्य सूचारु रुपले अघि बढेको हुन्छ । यदि प्रशासन संयन्त्र मै वन्दागोभीपन छ भने आधारभूत सेवा सुविधा नै अवरुद्ध हुन्छ ।

समाधानका उपायहरु
संघ तथा संगठनहरुमा वन्दागोभीपनको प्रश्रय कहाँबाट भएको हो सोको कारणहरु पत्ता लगाई यस्तो संस्कृतिको निराकरण तथा कम गर्नुपर्दछ ।  वन्दागोभीपन कम गर्न निम्न लिखित उपायहरु अवलम्वन गर्नुपर्दछ ।

मानवश्रोत विकासमा जोड
मानव स्रोतको विकासमा प्रयाप्त मात्रामा जोड दिनु पर्दछ । मानिसमा अध्ययन गर्ने, सीप सिक्ने, क्षमताको अभिवृद्धि गर्ने वातावरण बनाई मानवस्रोतलाई विकास गर्ने वातावरण सृर्जना गर्नुपर्दछ ।

प्रभावकारी तालिम
प्रशिक्षणले मानिसलाई प्रशिक्षित बनाउँछ । तालिमका माध्यमबाट मानिसमा निखार आउँछ ।
संस्थाको आवश्यकताको साथै व्यक्तिको क्षमताको आधार बनाएर समय समयमा तालिमका माध्यमबाट वन्दागोभीपनमा कमि ल्याउन सकिन्छ ।

श्रोत केन्द्रको स्थापना
श्रोत केन्दको स्थापना गर्नुपर्दछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम लिएका व्यक्तिहरु तालिमबाट फर्किएपछि तिनिहरुले सिकेका जानेका कुराहरुलाई भन्न लगाएर साथै बाहिरबाट तथा अन्य संस्थाबाट विशेषज्ञलाई प्रशिक्षकको रुपमा बोलाएर ज्ञान लिन सकिन्छ ।

सिक्नुपर्ने बाह्यात्मक व्यवस्था
उच्च पदाय व्यक्तिहरु आफू पूर्ण ज्ञान भएको ठानी नयाँ कुरा सिक्न नखोज्ने प्रवृति रहेको पाईन्छ ।
आफूले नजाने भन्नु आफ्नो कमजोरी अरुले थाहा पाउने हुन भनी भन्न लाज मान्ने प्रवृती पनि छ । तसर्थ वन्दागोभीपनबाट जोगाउन सिक्नुपर्ने बाध्यात्मक व्यवस्था बनाउनु जरुरी छ ।

यथेष्ट तलब सुविधाको व्यवस्था
यथेष्ट तलब सुविधा नहुँदा अन्य पेशा तथा धन्दामा लाग्ने प्रवृतीले पनि उच्च व्यवस्थापकमा आफ्नो गुदी भर्ने समय निकाल्न सक्दैनन् ।

वैज्ञानिक र निष्पक्ष व्यवस्था लागू
नियुक्ति, पदोन्नती, पुरस्कार वैज्ञानिक र निष्पक्ष व्यवस्था लागू गरेमा कर्मचारीहरुमा नैरश्यता आउँदैन ।

नितीगत व्यवस्था
सरकारीस्तर तथा सम्बन्धित निकाय वा संस्थाबाट अध्ययन तथा क्षमता विकासको नितीगत व्यवस्था भएमा कर्मचारीहरु सोको कार्यान्वयनले वन्दागोभीपनमा कमि आउँछ ।

कुरीति कुसंस्कृति निवारण
मुलुकमा रहेको भ्रष्टाचार, नातावाद, कृपावाद, नक्कली प्रमाणपत्रको जागिर जस्ता कुरुतिलाई निर्मूल गर्नुपर्दछ ।
यदि नक्कली प्रमाणपत्रले प्रश्रय पायो भने वन्दागोवीपनमा कमि आउँदैन ।

(लेखक राष्ट्रिय वाणिज्य बैंक मुख्य कार्यालय अन्तर्गत जोखिम व्यवस्थापन तथा कर्जा अनुगमन विभागकी प्रमुख हुन् ।)

 

 

 

 


  •  
  •  
  •