मलेसिया जेलमा नेपालीलाई नांगै यातना

141
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।मलेसियामा पक्राउ परेका नेपालीलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ। अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरीत यस्तो यातना दिने गरेका हुन्।

मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्र हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरूलाई नांगै पारेर नृत्य, कसरत, पिचमा लडिबुडी, घुँडा र कुहिनाले टेकी हिँड्न र उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ। प्रहरी तथा जेल अधिकारीले यसबाट मनोरञ्जन लिने गर्छन्। पक्राउ गरी अदालतले सजाय तोकेपछि यातनाको क्रम सुरु हुने त्यहाँबाट फर्केका नेपाली बताउँछन्।
‘पूरै नांगै बनाएर यातना दिए। जेल र क्याम्प दुवै ठाउँमा यस्तो यातना पाइयो,’ एक महिनाअघि नेपाल आएका स्याङ्जा निबुवाखर्क–६ का कृष्ण न्यौपानेले नागरिकसँग भने, ‘मलाई जेलमा चारपटक र क्याम्पमा दुईपटक नांगै बनाई यातना दिए। नांगै बनाएपछि कान समातेर हिँड्न लगाउँथे। कसरत गर्न भन्थे, नसके कुटपिट गर्थे। नांगो हुन नमाने हातखुट्टा भाँचिने गरी कुट्थे।’मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा बसी तीन महिनायता नेपाल फर्केका स्याङ्जा ठूलाडिही–२ का रमेश पोखरेल, खोटाङ बड्कादियाले–२ का नारायण गेलाल, रामेछाप गुन्सी–७ का उद्धव चौलागार्इं लगायतको कथा उस्तै छ।

‘म मलेसियामा पक्राउ पर्दा ९४ केजी थिएँ। जेल र घरफिर्ती केन्द्रबाट नेपाल फर्केपछि जोख्दा ३८ केजी रहेछु। नेपाल आएको एक महिना भयो, अहिले एक केजी बढेको छु,’ ४० वर्षीय न्यौपानेले सुनाए, ‘८ महिना जेल र २ महिना घरफिर्ती केन्द्रमा यातना पाउँदा ५६ केजी घटेछु। यातना कस्तो हुन्थ्यो तपार्इं आफैं अनुमान लगाउन सक्नुहुन्छ।’

उनी सन् २०११ डिसेम्बर २० मा बंगलादेश हुँदै मलेसिया पुगेका थिए। होटलमा राम्रो काम लगाइदिने भनेर राजधानीको एउटा म्यानपावर कम्पनीले १ लाख २० हजार रुपैयाँ लिएर उनलाई मलेसिया पठाएको थियो। उनीसँग अन्य पाँच जना पनि गएका थिए। सबैलाई पयर्टक भिसामा पठाइएको थियो।

‘तीन महिनापछि मलेसियामै वर्किङ भिसा लगाउने भन्थे। त्यहाँ पुगेपछि भिसा लागेन,’ न्यौपानेले भने।

मलेसिया विमानस्थलमा नेपाली कामदारको किनमेल हुने गरेको उनले त्यहीँ पुगेपछि थाहा पाए। राम्रो, गोरो र पढेलेखेकालाई होटलवालाले लाने, अग्लोलाई सुरक्षा गार्डमा र होचो, बूढोलाई लेबर (घर बनाउने, सिमेन्ट मुछ्ने) काम लगाउने रहेछन्। उनलाई सिन्दो कम्पनीमा सुरक्षा गार्ड बनाइयो। तलब ६ सय रिंगेट दिइयो, जबकि उनको करारपत्रमा १ हजार रिंगेट लेखिएको थियो। ओभरटाइमसमेत गर्दा उनको मासिक कमाइ एक हजार रिंगेट हुन्थ्यो। प्रतिदिन १२ घन्टाका दरले सातै दिन काम गर्नुपर्थ्यो।

न्यौपानेले एउटै कम्पनीमा दुई वर्ष बिताए। उनीसँगै गएका अन्य पाँच साथीलाई भने मलेसिया पुगेको ६५ दिनमै अवैध बसोबास गरेको आरोपमा प्रहरीले पक्राउ गर्योन। उनीहरू जेल परे।

आफूसँगै गएका साथी पक्राउ परेपछि उनी मलेसियास्थित नेपाली दूतावास पुगे। पाँच पटकसम्म स्वदेश फर्काइदिन भन्दै निवेदन दिए, सुनवाइ भएन। पछि ३० जना मिलेर सामूहिक पत्र लेखे दूतावासलाई। त्यो आवाज पनि सुनिएन। त्यसपछि उनी लुकेरै मलेसियामा काम गर्ने निर्णयमा पुगे। केही समय होटलमा सुरक्षा गार्ड भए। उनी अवैध रहेको थाहा पाएपछि प्रहरीले बारम्बार पैसा माग्न थाल्यो।
‘कहिले ५०, कहिले ३ सय, कहिले ५ सय रिंगेट घुस मागेर हैरान पारे। त्यसपछि पुरानै कम्पनीमा फकर्ँे। डरले बाहिर निस्कनै छाडेँ,’ न्यौपानेले सुनाए।

उनीसँग राहदानी थिएन। मलेसिया पुग्नेबित्तिकै विमानस्थलमै दलालले राहदानी लगेको थियो, फिर्ता दिएन। बिनाराहदानी उनी पहाङ भन्ने ठाउँमा काम गर्थे। एक दिन राति उनी कार्यरत कम्पनीमा प्रहरीले छापा मार्योी। राहदानी नभएकाले उनी पक्राउ परे। उनीसँगै अर्का एक नेपाली पनि पक्राउ परे।
सन् २०१४ फेब्रुअरी १६। राति साढे १ बजे पक्राउ परेका उनलाई केही दिन स्थानीय प्रहरी हिरासतमा राखियो। पक्राउ पर्दा उनको साथमा ६ सय रिंगेट, १ हजार ८ सय ५० रुपैयाँ र मोबाइल थियो। पैसा र मोबाइल दिन नमान्दा उनलाई प्रहरीले कुटपिट गर्यो । पैसा र मोबाइल सेट पनि प्रहरीले लुटे। उनलाई अदालतमा पेस गरियो। सोही दिन अदालतले ८ महिना कैद सुनायो। त्यसपछि उनी पुगे पहाङ बेन्तोड पिँजडा जेलमा।
‘जेलमा पहिलो दिन नै नांगै बनाएर कान समात्न लगाई उठबस गराए। एकसाथ ८–१० जनालाई नांगै बनाएर विभिन्न क्रियाकलाप गर्न लगाइन्थ्यो। सबैले पालैपालो गर्नुपर्थ्यो। उनीहरू भने हामीलाई हेरेर हाँस्थे,’ न्यौपानेले भने।
पहाङ बेन्तोङ जेलका ८ महिना उनलाई ८ सय वर्षजस्तो भयो। कपाल फुलेकाले बूढो ठानी आफूलाई अरूको तुलनामा कम यातना दिइएको उनले सुनाए।
‘नांगै भएर उनीहरूले भनेजसरी नगर्दा गोडा बाउँडिने र सुनिने गरी कुट्थे। खाना पनि राम्रो दिँदैनथे,’ उनी सम्झन्छन्, ‘नांगै बनेर परेड खेल्नुपर्योु। कान समातेर हिँड्नुपर्योो। विभिन्न कसरत गर्नुपर्योल।’ उनका अनुसार कतिलाई त कुटीकुटी थिलोथिलो पारेपछि अस्पताल दौडाउँथे।
पहाङ बेन्तोङ जेलमा एकपटक तिहारमा हिन्दु कैदीहरूलाई एक ठाउँमा जम्मा हुन दिइएको थियो। त्यतिबेला ८० जना नेपाली जम्मा भएका थिए। अधिकांश अवैध बसोबास गरेको आरोपमा सजाय पाएकाहरू थिए। पक्राउ परेपछि परिवारसँग सम्पर्क गर्न दिइँदैनथ्यो। जेल बसेको ७ महिनापछि न्यौपानेले त्यहीभित्र रहेका बाग्लुङका साथी नेपाल फर्कन लाग्दा घरमा खबर पठाएका थिए। त्यसपछि मात्र परिवारले न्यौपाने जेल परेको थाहा पाए।
आठ महिना जेल सजाय काटेपछि न्यौपानेलाई पहाङको सिमिनिया क्याम्प (घरफिर्ती केन्द्र) सारियो। त्यहाँ पनि उसैगरी नांगै पारेर यातना दिइएको उनले बताए। स्वदेश फर्काउनका लागि आवश्यक कागजात बनाउन सजाय काटी सकेकालाई घरफिर्ती केन्द्रमा सार्ने गरिन्छ। घरफिर्ती केन्द्रमा उनी ४७ दिन रहनुपर्योस। मलेसियास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट (नं २९०९) बनाइदियो र घरबाट हवाई टिकट आएपछि उनी गत फेब्रुअरीमा नेपाल फर्किए।
‘परिवारले नेपाल एयरवेजको टिकट पठाउँथे, तर क्याम्पमा रहेका प्रहरीले हराइदिन्थे र एयर एसियाको टिकट मगाउन लगाउँथे,’ न्यौपानेले भने, ‘म नेपाल फर्कँदा जेलमा रहेका ५० जनाको लिखित सन्देश लिएर आएको थिएँ। कतिका परिवारलाई भेटेरै त कतिलाई फोन गरेर जानकारी दिएँ। कतिको चिठी अझै मसँग छन्। सबैले मैले भोगेजस्तै यातना पाएका छन्।’
खोटाङ बड्कादियाले–२ का ४१ वर्षीय नारायण गेलाल पनि न्यौपानेसँगै जेलमा थिए। गेलाल सन् २०१४ अक्टोबर २७ मा पक्राउ परेका थिए। उनी ४ महिना जेल र २ महिना घरफिर्ती केन्द्रमा बसेर चैत १२ गते नेपाल फर्केका हुन्।
उनी साढे चार वर्षअघि मलेसिया पुगेका थिए। सुरुमा काम गरेको सिविरो कम्पनीले करारपत्रमा उल्लेख गरेजति तलब नदिएपछि उनी भागेर अर्को कम्पनी पुगेका थिए। जेन्पिङ आइल्यान्ड टापुको कम्पनीमा उनले दुई वर्ष काम गरे। त्यसपछि उनी तेस्रो कम्पनी पुगे। त्यहाँ काम सुरु गरेको १६ दिनमै उनी पक्राउ परेका थिए। उनीसँगै अन्य २ जना नेपाली पनि पक्राउ परेका थिए।
जेल र क्याम्पमा न्यौपानेलाई जस्तै उनलाई पनि नांगै बनाएर विभिन्न काम गर्न लगाइएको थियो। ‘हामीलाई नांगै बनाएर जेल र क्याम्पका अधिकारीले मनोरञ्जन लिए। मानवअधिकार खोज्न कहाँ जानु, उनीहरूको मनमा जे आउँछ त्यही गर्न लाउँछन्। नगरे कुटेरै मार्न खोज्छन्,’ गेलालले भने।
जेलमा सुरुकै दिनमा नांगै बनाएर एकपटकमा सयचोटि उठबस गर्न लगाएको उनले बताए। ‘बारम्बार उठबस गर्नुपर्थ्यो। यातनाले सुरुको १५ दिन त राम्ररी उभिन पनि सकेनौं,’ गेलालले सुनाए, ‘घरफिर्ती केन्द्रमा पनि यस्तै घटना दोहोरियो।’
…सिमिनिया क्याम्प (घरफिर्ती केन्द्र) मा कृष्ण न्यौपानेसँग भेटिएका थिए, रामेछाप गुन्सी–७ का उद्धव चौलागार्इं।
उनी ५ वर्षअघि मलेसिया पुगेका थिए। कम्पनीले सुरुका २ वर्ष मासिक १२ सय रिंगेट दियो। पछि न्यूनतम मासिक तलब ९ सय रिंगेट बनाएपछि लेभी काट्न थाल्यो। ओभर टाइम दिन छाड्यो। त्यसपछि मासिक तलब ७ सय रिंगेटमा झर्योी। यहीँ झोकमा उनले कम्पनी छाडे। राहदानी कम्पनीले राखिदिँदा उनी अवैध बने।
उनले रिको फुड, इरे कम्पनीमा काम गरे। त्यहाँ दैनिक १२ घन्टा काम गर्नुपर्थ्यो। त्यही कम्पनीमा उनी २०१४ अगस्ट २८ मा पक्राउ परे। राति १२ बजे प्रहरीले छापा मार्दा उनी फन्दामा परेका थिए।
त्यतिबेला प्रहरीले एक भारतीय र ३ नेपालीलाई पक्राउ गरेको थियो। उनीसँग पक्राउ पर्ने नेपाली कमला कटवाल र सोमबहादुर दर्जी थिए। प्रहरीले उनीहरूलाई सिलङ्गोर राज्यको सहाआल सेक्सन–९ मा १५ दिन हिरासतमा राख्यो। पक्राउ पर्दा उनीहरूको कम्पनी मालिकले जरिवाना तिरेर छुटाउने प्रतिबद्धता गरेको थियो, तर ऊ आएन।
‘पक्राउ परेपछि हाम्रो मोबाइल, पर्स र पैसा सबै प्रहरीले लियो। फिर्ता गरेन,’ चौलागार्इंले भने। सिलोङ्गर साहअलाम अदालतले उनलाई एक महिनाको जेल सजाय सुनायो। त्यसपछि सँगै पक्राउ परेका साथी छुट्टिए।
चौलागार्इंलाई सिलङ्गोरको कजाङ सेन्ट्रल जेल पठाइयो। ‘जेलमा सबै कपडा खोल्न लगाए। क्याम्पमा नांगै बनाएर राखे। नांगै बनाएर कहिले ५० त कहिले सयपटक उठबस गर्न लगाउँथे। मलाई ५० पटक उठबस गराए। नगरे सक्दो भकुर्थे। कति त त्यहीँ मरेकोसमेत देखियो। एक लटमा १० जनालाई नांगै बनाउँथे,’ चौलागाईंले सुनाए।
उनी केही दिनअघि मात्र नेपाल आइपुगेका हुन्।

सिमिनिया क्याम्प (घरफिर्ती केन्द्र) मा चौलागाईंसँग भेटिएका थिए, स्याङ्जा ठूलाडिही–२ का रमेश पोखरेल।
३५ वर्षीय पोखरेल २ वर्षअघि मात्र मलेसिया पुगेका थिए। उनी सिसिडर्बी प्लान्टेसन कम्पनीमा काम गर्थे। यो पेराक राज्यको इपोमा छ। जंगलमा काम गर्नुपर्थ्यो। काम भने तेलको बोटमा मल र विषादी हाल्ने थियो। एक जनाले दिनमा ४० बोरा मल छर्नुपर्थ्यो। एक बोरामा ५० केजी मल हुन्थ्यो। यो छर्न १२ घन्टा लागे पनि ओभरटाइमबापत पैसा पाइँदैनथ्यो।
‘सुरुमा मासिक तलब ९ सय रिंगेट थियो। गएको २–४ महिना राम्रै भयो। ६ महिनाजति काम गरेपछि भनेजस्तो तलब दिएन। कम्पनी छाडेर भागेँ। त्यहाँ पनि राम्रो भएन। त्यसपछि सिलङ्गोर गएँ, सुरक्षा गार्ड भइयो। राहदानी सुरुकै कम्पनीसँग थियो। सिलङगोरमा ट्रान्सपोर्ट कम्पनीमा काम गरेँ। त्यही कम्पनीमा काम गर्दा पक्राउ परेँ,’ पोखरेलले आफ्नो कथा सुनाए।
उनी बाटोमा हिँड्दै गर्दा सन् २०१४ जुलाई १७ मा सिलङगोरर साहअलाम, १७ नम्बर सेक्सनबाट पक्राउ परेका हुन्। पक्राउ परेपछि ७ दिन उनलाई हिरासतमा राखियो। त्यसपछि साहअलाम अदालत लगियो। १४ दिनको जेल सजाय भयो। उनलाई सोनामबुलो जेलमा राखियो।
‘मलाई जेलमा खासै नराम्रो गरेनन्। जति नराम्रो गरे घरफिर्ती क्याम्पमै हो,’ पोखरेलले भने।
उनका अनुसार जेल र क्याम्पमा तमिल र मलेसियालीले निहुँ खोजिरहन्छन्। ‘किन हेरिस्, निहुँ खोज्छस्’ भनेर कुटिहाल्छन्। सानो कोठमा १५–२० जना राखिएको हुन्छ।
‘हदैसम्म पीडा दिए। सजाय पूरा गरेर क्याम्पमा जाँदा पनि यातना दिन छाडेनन्। नांगै बनाएर कुटपिट गरे। शरीरमा केही नलगाई पिचमा लडीबुडी गर्न लगाउँथे। जिउभरि घाउ हुन्थ्यो, रगतै रगत,’ दुःखी हुँदै उनले सुनाए।
सिमिनिया क्याम्पमा पोखरेललाई ८७ दिन राखियो, जबकि इन्डोनेसियाली ७ दिनभन्दा बढी बस्नुपर्दैन। यो उनीहरूको सरकार र दूतावासका कारण सम्भव भएको हो। ‘हाम्रो दूतावास भए–नभएको केही पत्तो हुँदैन। यातना पाइराखेको ठाउँमा दूतावासले वास्तै गर्दैन,’ पोखरेलले आक्रोश पोखे। उनले क्याम्पमा प्रहरी आएको थाहा पाएपछि चुपचाप बस्नुपर्ने सुनाए।
‘नाइजेरियाली र म्यानमारीलाई त एकोहोरो गोरु चुटाइ गर्थे,’ उनले भने।  उनका अनुसार जेल र क्याम्पमा झगडा पर्योर भने क्याप्टेनले जजसलाई पोल्थ्यो, ती सबैलाई नांगै पारिन्थ्यो। त्यसैले क्याप्टेनको सधैं चाकरी गर्नुपर्थ्यो। नगरे पोलिहाल्थे, त्यसपछि नांगै बनाइहाल्थे।
‘नांगै पारेपछि कसैलाई नाच्न लगाउँथे, कसैलाई घुँडा र कुहिनाले टेकेर छिटोछिटो हिँड्न लगाउँथे। छिटो नहिँडे फुटबल हानेजसरी प्रहरीले पालैपालो हान्थे। क्याम्पमा यातना सहन नसकी एक भारतीय र एक म्यानमारी मरेको देखेँ,’ पोखरेलले भने।
पोखरेलका अनुसार जेल र क्याम्पमा एकै ठाउँमा तीन लाइन बनाएर मान्छेलाई सुताइन्थ्यो। एउटाको टाउकोमाथि अर्कोको गोडा र अर्कोका गोडामाथि अर्कैको टाउको हुन्थ्यो। क्याम्प फोहर हुँदा सबैलाई लुतो लाग्थ्यो।
‘एउटै ट्यांकीको पानी पिउने, लुगा धुने, नुहाउने, खाना पकाउने गर्नुपथ्यो। शौचालय त्यहीँ हुन्थ्यो। लुतो नलागेको कोही हुँदैन,’ पोखरेलले भने।
ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) र परिवारले हवाई टिकट पठाएपछि पोखरेल २०७१ कात्तिक ११ गते नेपाल आएका थिए। घर फर्कंदा उनले पनि जेल र क्याम्पमा रहेका धेरैको सन्देश ल्याए। ‘जेल र क्याम्पमा चिठी देखे फालिदिन्थे, लुकीलुकी लेखेर ल्याउनुपर्थ्यो,’ उनले सुनाए।
मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्नेतले त्यहाँका जेलमा रहेका नेपालीलाई नांगै बनाई यातना दिने गरेको जानकारी आफूलाई नभएको बताए। यस्तो घटनाबारे दूतावासमा कसैले रिपोर्ट नगरेको उनले दाबी गरे।
राजदूत बस्नेतका अनुसार मलेसियामा ३२ वटा जेल छन्। ती जेलमा कोही न कोही नेपाली छन्। तर, जेलमा रहेका नेपालीको वास्तविक अवस्थाबारे दूतावास र सरकार दुवै बेखबर छन्।  नागरिकबाट


  •  
  •  
  •