भारतीय प्रधानमन्त्री कार्यालय जान्न चाहन्छ, ‘बेलायतमा नेपालीको प्रभाव कति छ ?’

208
  •  
  •  
  •  

काठमाडौँ, २८ कात्तिक(ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा नेपालीहरूले गरेको विरोध तथा प्रदर्शनका सम्बन्धमा भारतीय प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ ।

बेलायतमा नेपालीहरूले ‘ब्याकअफ इन्डिया’ र ‘रिमुभ ब्लकेड’को नारा लगाएका थिए । उक्त प्रदर्शनका क्रममा कति नेपाली सहभागी थिए र बेलायतमा नेपालीको कति प्रभाव छ भन्ने विषयलाई समेटेर प्रतिवेदन तयार पार्न भारतीय प्रधानमन्त्री कार्यालयले लन्डन स्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई निर्देशन दिएको छ ।

भारतीय अंग्रेजी दैनिक इन्डियन एक्स्प्रेसले मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शन देखेर भारतीय प्रतिनिधिमण्डल छक्क परेको उच्चायुक्त कर्मचारीलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए । लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए ।

मोदीसँगै रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलले ब्याकअफ इन्डिया र रिमुभ ब्लकेड, मोदी नट वेलकम नारा लगाइरहेकाहरुलाई नजिकबाटै देखेका थिए ।

बेलायत स्थित गैरआवासीय नेपाली संघ लगायत करिब चार दर्जन संघसंस्थाको सक्रियामा भारतीय नाकाबन्दीप्रति विरोध जनाउन मोदीविरुद्ध प्रदर्शन भएको थियो ।


  •  
  •  
  •