घुस खुवाएर जेल जान्छन् नेपाली

459
  •  
  •  
  •  

काठमाडौं, ७ पुस (ओएनएस) : झट्ट सुन्दा जो कोहीलाई विश्वास लाग्दैन । घुस खुवाएर कोही जेल पर्ला ? तर, यो वास्तविता हो । खाडीलगायत अन्य मुलुकमा रोजगारीको लागि पुगेका थुप्रै नेपालीहरु घुस खुवाएर जेल जान्छन् ।

रोजगारीका लागि मलेसिया पुगेका सिन्धुलीका भीम कार्कीले त्यहाँ पुगेपछि पहिले भनिए अनुसारको काम पाएनन । ‘जाँदा ७ सय रियाल दिन्छु भनेको थियो । पुगेपछि ४ सय मात्रै पाइयो । सेवा शुल्क, खाना लगायतका खर्च कटाउँदा एक बर्षमा पनि ऋण चुक्दा नहुने भयो । वैधानिक रुपमा अर्को कम्पनीमा काम गर्न पाइन्न । अन्ततः मैले भाग्ने निणर्य गरे । ’ कार्कीले आफ्नो ब्यथा सुनाए ।

नेपालबाट वैधानिक रुपमा गएका कार्की २ बर्ष अवैधानिक भएर बस्नु पर्यो । अन्तिममा घर फर्कन उनले प्रहरीलाई २ हजार रियाल (नेपाली ६० हजार भन्दा बढी) घुस खुवाए र मिनरल वाटर बेचेको अभियोगमा जेल पुगे ।

प्रहरीसँगको सल्लाहमा नै उनलाई अवैधानिक बसेर मिनरल वाटर बचेको अभियोग लगाइयो । रक्सी लगायतका अबैध सामान बेच्ने लगायतका अबैध काम गर्दा ठूलो सजाय हुनसक्ने भएकाले उनले सानो अपराध गरेका हुन् । ३८ दिन जेलमा बसेका उनी नेपाली दुतावासको सहयोगमा नेपाल फर्किए । अब कहिल्यै विदेश नजाने बाचा गरेका कार्कीले अहिले गाइपालन व्यवसाय संचालन गरेका छन् ।

हरेक दिनजसो रोजगारीको लागि विदेशमा रहेका कुनै न कुनै नेपाली आफु बस्ने मुलुकका प्रहरीलाई घुस खुवाएर जेल जाने गरेको विदेशबाट फर्केका नेपालीहरुको अनुभव छ । घुस्याहा प्रहरीसँग सम्पर्क गराउने ठूलो गिरोह नै सक्रिय हुन्छ ।

कमाएको धेरैमध्ये थोरै पैसा जोगाएर पनि नेपाल फर्किनुपर्ने नेपालीको वाध्यता छ । नेपालबाट कामका लागि विदेश जाँदा म्यानपावरले भने अनुसारको काम र दाम पाइन्न । थोरै पैसामा काम गर्न मन नलागे अर्को कम्पनीमा जान पूर्ण प्रतिवन्ध छ ।

मलेसिया, साउदी अरेबिया लगायतका देशमा कामका लागि पुगेको धेरै नेपालीको घर फर्किने उपाय जेल नै बन्ने गरेको छ । रोजगारमा गएको देशको नीति–नियम थाहा नहुँदा, झै–झगडामा फस्दा, श्रम अनुमति नलिईकन काम गर्दा वा कार्यस्थल परविर्तन गर्दा जेल पर्ने नेपालीको संख्या ठूलो छ ।

ऋण काढेर विदेश पुगेका कामदारहरूले जेल पर्दा दुःख त पाएकै छन्, नेपालमा रहेका परिवारले समेत सास्ती खेपिरहेका छन् । सामान्य चोरीदेखि ज्यान मुद्दासम्ममा नेपालीहरु विदेशका जेलमा छन् । केहीलाई प्रहरीले विभिन्न आरोपमा समात्ने गरेपनि जानी–जानी जेल पर्नुपर्ने वाध्यतामा भएका नेपालीको संख्या पनि ठूलो छ ।

वाध्यताको मोड

कामदारका अगाडी दुईवटा विकल्प हुन्छ, नेपाल फर्कने वा भागेर लुकीछिपी अर्को शहरमा अवैधानिक बस्ने । ऋणको भारी बोकेर विदेश पुगेकाहरु दोस्रो विकल्प नै रोज्छन् । आधिकारिक तथ्याङ्क नभएपनि त्यस्ता विकल्प रोज्नेहरु खाडी मुलकमा २ लाख भन्दा बढी छन् । उनीहरुलाई वैधानिक बनाएर स्वदेश फर्काउनु सरकारलाई पनि ठूलै चुनौती छ ।

सरकारी निकायको अनौपचारकि तथ्याङ्क अनुसार नेपाली श्रमिकको पहिलो गन्तव्य मुलुकका रूपमा रहेको मलेसियामा सबैभन्दा धेरै नेपाली श्रमिक जेलमा छन् । मलेसियामा रहेका गैरकानुनी कामदारमध्ये नेपालीको संख्या धेरै छ । मलेसियाका विभिन्न जेलमा झण्डै ३ सय नेपाली विभिन्न मुद्दामा जेलमा छन् ।

साउदी अरबमा ९० भन्दा धेरै नेपाली जेलमा छन् । भिसा सकिएपछि बस्ने १०० प्रतिशत नै जेल परेर मात्रै फर्किने गरेको दक्षिण कोरिया र मलेसिया बसेर फर्किएका भूपेन्द्र खत्री दाबी गर्छन् । ‘जेल पर्नु भनेको सजाय काटेर फर्किनु हो’ खत्रीले भने ‘भिसा सकिएर वा भागेर लुकिछिपी बसेकाहरुका लागि नेपाल फर्किने बाटो जेल मात्रै हो, त्यसकारण आफ्नै खुसीले घुस खुवाएर वा फन्दामा परेर नेपाल फर्किनु अघि जेलमा पुग्नैपर्छ । ’

जाँदा वैधानिक फर्किदा अवैधानिक

जाँदा वैधानिक बाटो प्रयोग गरेका थुपै नेपालीले अन्तिममा कमाएको आधी पैसा खर्च गरेर भएपनि घर फर्किने विकल्प अवैधानिक नै रोज्नुपर्छ । दलालको सहयोग अथवा जेल परेर । दुईचार पैसा कमाएर जिन्दगीमा सुखका दिन आउने लालसाले खाडीमा पुगेकाहरु धेरैले सुख–दुःखको काम गरेर केहि धन लिएर फर्केका कतिपयले जीवनलाई नयाँ मोड दिएका छन । तर कति बर्बाद बनेका छन् ।

दूतावाससँग आफ्नो देशका कामदार कहाँ–कहाँ कुन जेलमा छन् भन्ने यकिन तथ्यांकसमेत छैन । वैदेशीक रोजगारका जानकारहरूका अनुसार गैरकानुनी कामदारलाई फिर्ति केन्द्र र्पुयाएपछि दूतावासले देखाएको सक्रियताका आधारमा छिटो भन्दा छिटो मुक्त गर्न सकिन्छ । तर, दुतावासले पहल गर्न नसक्दा आफै घुस खुवाएर छिटो फर्किने प्रक्रियामा गएका कामदार महिनौ जेलमा बसेको धेरै उदाहरण छन् ।

समन्वय छैन

वैदेशीक रोजगारीका लागि विदेश जाने कामदारसँग प्रत्यक्ष सरोकार राख्ने दुई वटा मन्त्रालय हुन् श्रम तथा रोजगार र परराष्ट्र । तर, यी दुई मन्त्रालयबीच समन्वय नहुँदा नेपाली कामदार मारमा परेका छन् । यी मन्त्रालयको समन्वयकारी भूमिका नहुँदा विदेशमा अवैधानिक रुपमा बसेका र जेलमा रहेका कामदारको तथ्याङ्क पनि पाउन सकिएको छैन् ।

श्रम मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्का परराष्ट्र मन्त्रालयले यस विषयमा खोजविन गर्नुपर्ने बताउँछन् । ‘दुतावासबाट विदेशमा जेलमा रहेका र अवैधानिक रुपमा बसेका कामदारको विबरण संकलन हुनुपर्ने हो’ खड्काले भने, ‘श्रम मन्त्रालयलाई त्यस्तो कुनै बिवरण मन्त्रालयमा प्राप्त भएको छैन । ’


  •  
  •  
  •