काठमाडौँ, ६ बैशाख(ओएनएस) : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नामिबियाविरूद्वको दोस्रो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको छ । नेपालले नामिबियामाथि १ बल बाँकी रहँदा ३ विकेटले पराजित गरेको हो ।
नेपाललाई जित दिलाउनका लागि कप्तान पारस खड्काले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान खड्काले मात्र ९४ बलमा १ सय ३ रन जोडेका थिए । उनले तेस्रो विकेटका लागि शरद भेष्वाकरसँग १ सय ६७ रनको उत्कृष्ट साझेदारी गरेपछि जितको आधार तयार भएको थियो ।
यस्तै, शरद भेष्वाकरले पनि उत्कृष्ट प्रदर्शन गर्दै क्रिजमा एक इण्डबाट टिकेर अविजित ७४ रन जोडेका थिए । यसका साथै उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन, बिनोद भण्डारीले १२ रन जोडेका थिए । टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै २ सय ४० रन जोडेको थियो ।
नामिबियालाई उक्त स्कोरसम्म पुर्याउनका लागि प्रारम्भिक ब्याटस्म्यानहरूले उत्कृष्ट सुरूवात दिलाएका थिए । पहिलो विकेटका लागि प्रारम्भिक ब्याटस्म्यानद्वयले ९५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ९५ रनको साझेदारी भएको अवस्थामा युवा बलर सन्दीप लामिछानेले नामिबियाका कप्तान स्टेफन बार्डलाई आउट गरेपछि नामिबियाको पारी धरमराएको थियो । मात्र १९ रन थप जोड्दा नामिबियाले थप ४ विकेट गुमाएको थियो ।
नामिबियाका लागि कप्तान बार्डले ५१ रन, जेन ग्रिनले ४७ रन जोडेका थिए । यस्तै, जेपी कोट्जेले ३२ रन, सरेल बर्गरले अविजित ४३ रन, निकोलस स्कोल्ट्जले २२ रन जोडेका थिए । नेपालका लागि शक्ति गौचन, बसन्त रेग्मी, सन्दीप लामिछानेले समान २-२ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच पारस खड्का घोषित भएका छन् ।