सिंगापुरलाई घुँडा टेकाए नेपाली खेलाडीले, फराकिलो जीत

164
  •  
  •  
  •  

ICCकाठमाडौ, ९ कात्तिक(ओएनएस) : आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ प्रतियोगिताको तेस्रो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । नेपालले सिंगापुरलाई १ सय ९० रनले पराजित गर्दै डिभिजन २ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ भने नेटरनरेट समेत उच्च राखेको छ ।

मलेसियाको बायोमास ओभलमा सम्पन्न खेलमा २ सय ६४ रनको विजय लक्ष्य पछ्याएको सिंगापुरलाई २१ ओभर ४ बलमा मात्र ७३ रनमा रोक्दै १ सय ९० रनको जित हासिल गरेको हो । सिंगापुरका कुनै पनि ब्याटस्म्यान क्रिजमा लामो समय टिक्न सकेनन् । सिंगापुरका लागि सुर्यवंशीले १५ रन, केबी सिन्धेले १३ रन, अभिराज सिंहले अविजित १२ रन र साद जुन्जुआलौ ११ रन जोड्नु बाहेक अन्य ब्याटस्म्यानले दोहोरो स्कोर जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र बसन्त रेग्मीले समान ४-४ विकेट लिएका छन् भने अमृत भट्टराईले २ विकेट हात पारेका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकको मद्धतले निर्धारित ५० ओभरमा आफ्ना ९ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल तयार पारेको थियो । नेपाललाई उक्त स्कोरसम्म पुर्याउनका लागि उपकप्तान मल्लले १ सय २५ बल खेल्दै १३ चौका र १ छक्काको मद्धतले १ सय १४ रन जोडेका थिए । मल्लले चौथो विकेटका लागि रिटायर्ड हर्ट भएका शरद भेष्वाकर र बसन्त रेग्मीसँग मिलेर १ सय १३ रनको साझेदारी गरेका थिए । मल्लको यो शतक जारी प्रतियोगिताकै पहिलो शतक हो । यसभन्दा अघिका खेलमा कुनै पनि ब्याटस्म्यानले शतक प्रहार गरेका थिएनन् ।

यस्तै, नेपालका लागि नरेश बुढाएरले २९ रन, शरद भेष्वाकरले २५ रन, बसन्त रेग्मीले २१ रन र सागर पुनले अविजित २१ रन जोडेका थिए । सिंगापुरका लागि अमजाद मेहबुबले सर्वाधिक ४ विकेट लिएका थिए भने धर्मिचन्दले ३ विकेट र पारामले २ विकेट हात पारेका थिए ।

यसअघि भएका दुई खेलमा नेपालले १ मा जित र १ मा हार बेहोरेको थियो । पहिलो खेलमा नेपाल युगाण्डासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो ।


  •  
  •  
  •