यु-१९ विश्वकपमा नेपालको विजयी सुरूवात, न्युजिल्याण्ड पराजित

230
  •  
  •  
  •  

ICC-U19काठमाडौँ, १४ माघ(ओएनएस) : आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपालले विजयी सुरूवात गरेको छ । आज बङ्गलादेशको खान साहेब ओसमान अली रङ्गशालामा भएको खेलमा टेष्ट मान्यताप्राप्त टोली न्युजिल्याण्डलाई पराजित गर्दै विजयी सुरूवात गरेको हो । नेपालले न्युजिल्याण्डलाई ३२ रनले पराजित गर्दै सन् २००६ को प्लेट च्याम्पियन्ससिपमा हराएको श्रृंखलालाई पुनः दोहोर्‍याउन सफल भएको छ ।

नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डको टोलीले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै मात्र २ सय ६ रन जोड्न सफल भएपछि नेपाल ३२ रनले विजयी भएको हो । न्युजिल्याण्डका लागि ग्लेन फिलिपले सर्वाधिक ५२ रन जोडेका थिए भने डेल फिलिपले ४१ रन, कप्तान जोस फिन्नीले ३७ रन, नाथन स्मिथले २४ रन जोडेका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने प्रेम तामाङले २ विकेट तथा सुनिल धमला, सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै २ सय ३८ रन जोडेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन जोडेका छन् भने उपकप्तान आरिफ शेखले ३९ रन, सन्दीप सुनारले ३९ रन, कुशल भुर्तेलले अविजित ३५ रन, राजबिर सिंहले २४ रन, दीपेन्द्रसिंह ऐरीले १६ रन,  सुनिल धमलाले १५ रन जोडेका थिए ।

नेपाललाई उक्त स्कोरमा समेट्नका लागि न्युजिल्याण्डका नाथन स्मिथले ३ विकेट लिएका छन् भने क्रिस्टियन लियोपार्ड, अनिकेत पारिख, रचिन रविन्द्र, जोस फिन्निले समान १-१ विकेट लिएका थिए ।

प्रतियोगिताको म्यान अफ दी म्याच नेपालका कप्तान राजु रिजाल घोषित भएका छन् । उनले ४८ रन जोडेका थिए ।


  •  
  •  
  •