विश्वकपमा नेपाल दोस्रो चरणको करिब, आयरल्याण्ड पराजित

327
  •  
  •  
  •  

Nepal vs Irelandकाठमाडौँ, १६ माघ(ओएनएस) : बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयरल्याण्डलाई पराजित गर्दै दोस्रो चरणको सम्भावनालाई बलियो बनाएको छ । आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै नेपाल दोस्रो चरणको करिब पुगेको हो । आजको जितबाट नेपालले दुई खेलबाट ४ अंक जोड्दै आफ्नो सम्भावनालाई बलियो बनाएको हो ।

आज नै भइरहेको भारत र न्युजिल्याण्डबीच खेलले नेपालको सम्भावनालाई प्रष्ट पार्छ । आजको खेलमा भारतले न्युजिल्याण्डलाई पराजित गरेको खण्डमा नेपाल क्वाटरफाइनलमा प्रवेश गर्नेछ भने आजको खेलमा न्युजिल्याण्डले जित हासिल गरे नेपालले दोस्रो चरणमा प्रवेश गर्नका लागि भारतसँगको खेलसम्म कुर्नुपर्ने हुन्छ ।

भारत र न्युजिल्याण्डबीच भइरहेको खेलमा न्युजिल्याण्डलाई भारतले पराजित गर्न सक्ने अवस्थामा रहेको कारण पनि नेपालको दोस्रो चरणको सम्भावना आज नै निर्धारण हुने देखिएको छ । तर, क्रिकेटमा अन्तिम समयसम्म के हुन्छ भन्न नसकिने हुनाले भारत र न्युजिल्याण्डबीचको खेललाई अन्त्यसम्म कुर्नु आवश्यक हुन्छ ।

बंगलादेशको फतुल्लाहको खान साहेब ओस्मान अली मैदानमा भएको खेलमा नेपालले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । नेपालले पाएको १ सय ३२ रनको विजय लक्ष्य नेपालले मात्र २५ ओभर ३ बल खेल्दै आफ्ना दुई विकेट गुमाएर भेट्टाएको थियो ।

नेपाललाई जित दिलाउने क्रममा योगेन्द्र सिंह कार्कीले अविजित रहँदै सर्वाधिक ६१ रन जोडेका थिए । यस्तै, आरिफ शेखले अविजित ३१ रन, सुनिल धमलाले २८ रन जोडेका थिए भने प्रारम्भिक ब्याट्स्म्यान सन्दीप सुनार पहिलो बलमा नै एलबीडब्लु धरापमा परेका थिए । आयरल्याण्डका तर्फबाट जोसुआ लिटल र ग्यारी म्याकक्लिन्टकले समान १-१ विकेट हात पारेका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डलाई नेपालले मात्र १ सय ३१ रनमा समेटेको थियो । टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै १ सय ३१ रन जोडेको थियो । आयरल्याण्डलाई उक्त स्कोरमा पुर्‍याउनका लागि ह्यारी टेक्टरले अविजित रहँदै सर्वाधिक ३० रन जोडेका थिए भने कप्तान ज्याक टेक्टरले २७ रन, एडम डेनिसनले २१ रन, लोर्कान टकरले १५ र स्टेफन डोहेनीले १४ रन जोडेका थिए ।

सन्दीपले लिए विश्वकपको पहिलो ह्याट्रिक

आयरल्याण्डलाई सस्तैमा समेट्नका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । सन्दीपले ५ विकेट लिएपछि आयरल्याण्डको इनिङ धरमराएको थियो । सन्दीप नेपालका लागि ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । यसअघि यु-१९ प्रतियोगितामा नै अविनाश कर्णले ह्याट्रिक गरेका थिए । तर, लामिछाने विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । साथै सन्दीप यो विश्वकपको पहिलो ह्याट्रिक समेत हो ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले २ विकेट, सुनिल धमला र सुशील कंडेलले समान १-१ विकेट लिएका थिए ।


  •  
  •  
  •