काठमाडौ, १७ भदौ(ओऐनएस) : एसीसी यु-१९ प्रिमियर लिग प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि शानदार जीत दर्ता गरेको छ । साउदी अरेबियालाई ९ विकेटले २ सय ४६ बल बाँकी रहँदै पराजित गरेपछि नेपालले फराकिलो जीत दर्ता गर्न सफल भएको हो ।
मलेसियाको केलाब अलममा भएको खेलमा मात्र ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य मात्र ९ ओभर खेलेर १ विकेट गुमाउँदै पुरा गरेको छ । नेपालका लागि सुनिल धमलाले अविजित रहँदै मात्र २० बलमा ३४ रन जोडेका थिए भने कप्तान राजु रिजालले अविजित रहँदै १४ रन जोडेका थिए । यस्तै, शंखर रानाले मात्र ४ रन बनाउन सफल भए । उनलाई सामी मुन्सीले बोल्ड आउट गरेका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको साउदी अरेबियाले उत्कृष्ट प्रदर्शन गर्न सकेन । साउदीका लागि मात्र २ ब्याटस्म्यानले दोहोरो अंक जोडेका थिए । कप्तान फैसल खानले सर्वाधिक १९ रन जोड्दा ११ औ नम्बरमा आऐका जैनले ११ रन जोडेका थिए । अन्य ब्याटस्म्यान दोहोरो अंक नजिक पनि पुग्न सकेनन् ।
साउदीलाई सस्तैमा समेट्ने क्रममा सुशील कडेंलले सर्वाधिक ४ विकेट लिए भने सुनिल धमला र प्रेम तामाङले समान २-२ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच सुशील कडेंल घोषित भएका छन् ।