नेपालको विजयी सुरुवात, अमेरिका ६ विकेटले पराजित

484
  •  
  •  
  •  

काठमाडौ, २५ असार(ओएनएस) : विश्वकप टि-२० को छनोट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ । पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।

१ सय २२ रनको विजय लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा उक्त लक्ष्य भेट्टाएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान गरे भने उनीसँग ७८ रनको साझेदारी गरेका अनिल मण्डलले २९ रन जोडेका थिए । सागर पुन पहिलो ओभरमा नै ६ रन बनाएर पेभेलियन फर्केपछि मण्डल र मल्लले इनिङ सम्हाल्दै खेललाई जिततर्फ उन्मुख गरेका थिए । दुवैले निकै सम्हालिएर ब्याटिङ गरेका थिए । यस्तै, कप्तान पारस खड्काले २१ रन जोडेका थिए । अमेरिकाका लागि जसदीप सिंहले २ विकेट लिएका थिए । हमिद साहिद र करन गणेशले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय २१ रन जोडेको थियो । अमेरिकाका लागि अकीम डोडसनले सर्वाधिक ३९ रन जोडेका थिए भने फहाड बाबर २३ रन जोडेका थिए । करन गणेशले १५ रन र अदिल भाट्टीले १४ रन जोडेका थिए । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचन र बसन्त रेग्मीले ३-३ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट र सागर पुनले १ विकेट लिएका थिए ।

अब नेपालले भोली नामिबियासँग खेल्नेछ ।


  •  
  •  
  •