पारसले आक्रामक ब्याटिङ गरेपछि नामिबिया ३ विकेटले पराजित

397
  •  
  •  
  •  

cricket nepalकाठमाडौ, ७ माघ(ओएनएस) : नामिबियामा जारी आइसीसी वर्ल्ड डिभिजन २ क्रिकेटको आफ्नो चौथो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । जितका लागि नेपालले पाएको १ सय ४३ रनको विजय लक्ष्य ७ विकेट गुमाउँदै ३७ ओभर ५ बलमा भेट्टाएको थियो ।

नेपाललाई जित दिलाउनका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै ६४ रन जोडेका थिए । उनले उक्त योगफल तयार गर्नका लागि ५६ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन, बिनोद भण्डारीले १8 रन, सरद भेष्वाकरले ७ रन, सागर पुनले ७ रन, सुवास खकुरेलले ४ रन जोडेका थिए ।

नामिबियाका लागि ग्यारी स्नेमनले ३ विकेट लिएका थिए  । यस्तै क्रेग विलियम्सले २ विकेट लिएका थिए भने लुइस क्लान्जिङ्जा र टियान स्नेमन समान १-१ विकेट हात पारेका थिए ।

नामिबियाले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ५ बल अगाडी आफ्ना विकेट गुमाउँदै १ सय ४२ रन जोडेको थियो । उसका लागि रेमण्ड भान स्चुरले सर्वाधिक २८ रन जोडेका थिए । जेपी कोट्जेले २७ रन, एल क्लाजिङ्गाले २४ रन जोडेका थिए ।

नामिबियालाई उक्त रनमा समेट्न करण केसीले ३ विकेट लिएका छन् भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिएका छन् ।

करण केसीले ६ ओभर १ बल बलिङ गर्दै १ मेडन राखेर १२ रन दिँदै ३ विकेट लिएका छन् । यस्तै, शक्ति गौचनले १० ओभर बलिङ गरेर २ मेडन राख्दै २२ रन दिएर २ विकेट लिएका छन् भने बसन्त रेग्मीले ८ ओभरमा २३ रन खर्चेर २ विकेट लिए र सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिएका छन् ।

पारस खड्काले पनि उत्कृष्ट बलिङ गरेका छन् । उनले विकेट नलिए पनि १० ओभरमा ३ मेडन राख्दै मात्र १९ रन दिएका थिए भने सागर पुनले ५ ओभर बलिङ गर्दै २३ रन खर्चेका थिए भने कुनै विकेट लिन सकेनन् ।

नेपालले जितसँगै डिभिजन १ मा पुग्ने सम्भावना निकै बलियो बनाएको छ । चार खेलमा ३ जित तथा १ हार बेहोरेको नेपालले अन्तिम खेल भोली केन्यासँग खेल्नेछ । यस प्रतियोगितामा अन्य टोली भन्दा कमजोर देखिएको केन्यालाई पनि नेपालले पराजित गर्न सक्ने अनुमान गरिएको छ ।

यदी केन्यालाई पराजित गर्न सके नेपाल लिग विजेताको रूपमा डिभिजन १ मा पुग्न सक्नेछ ।


  •  
  •  
  •